६ महिनादेखि बन्द केरुङ नाका एकतर्फी खुल्ने

विदुर खबर २०७७ असार ३ गते २१:४४

रसुवा । करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको रसुवास्थित चीन र नेपालबीचको केरुङ नाका खुला हुने भएको छ ।

Advertisement

ठूलो संख्यामा ट्रक, कन्टेनरहरु नाकामै रोकिएको भन्दै सरकारले केही महिना यता नाका खुलाउन पहल गरिरहेको थियो ।चिनियाँ पक्ष सहमत नहुँदा नाका खुल्न सकेको थिएन । एकतर्फी नाका खुलाउन भने चिनियाँ पक्ष सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव नवराज ढकालले पनि नाका खुलाउनका लागि आधिकारिक निर्णय आइसकेको बताए ।

‘अफिसियल्ली निर्णय आइसकेको छ, अबको केही दिनभित्रै सामानहरु नेपाल आउन थाल्नेछन्’ सहसचिव ढकालले भने । तर त्यसअघि कसरी सामग्रीहरु भित्र्याउने भन्ने विषयमा मोडालिटी तयार गरिनेछ । अब नाका रहेको स्थानीय तहका जनप्रतिनिधिसमेतलाई राखेर छलफल गरेर मोडालिटी टुंगाउने उनले बताए । अब केरुङ नाका हुँदै चीनबाट नेपालतर्फ सामान आउनेछ भने नेपालबाट पठाउन भने मिल्ने छैन । भन्सार विभागका महानिर्देशक सुमन दाहालले चिनियाँ पक्षले सामान पठाए वारी पट्टि भने समस्या नरहेको बताए ।

Advertisement

उताबाट सामान आए यता ल्याब टेष्ट, लगायतका सम्पूर्ण तयारी गरि सकिएकाले समस्या नहुने महानिर्देशक दाहालले बताए ।

प्रतिक्रिया