रसुवामा ६५ शैयाको क्वारेन्टाइन स्थापना

विदुर खबर २०७६ चैत १३ गते ८:२१
सांकेतिक तश्वीर ।

रसुवा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाको दुई स्थानमा क्वारेन्टाइन स्थापना भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो।

धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० शैया र स्याफ्रुको कोमिनस्यामेवाङ्फेल माविमा १५ शैयाको क्वारेन्टाइन सञ्चालनमा आएको हो। जिल्लाको पाँचवटै गाउँपालिकामा बुधबारदेखि २ सय १० शैयाको क्वारेन्टाइन सञ्चालनमा आउने छ।प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार अन्य ठाउँमा पूर्वाधारको विकासको काम सकिएको छ। मंगलबार साँझसम्ममा सबै ठाउँमा सामग्री आएर व्यवस्थापनको काम गरिने छ। क्वारेन्टाइन स्थापनाका लागि विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी र नेपाली सेनाले काम गरिरहेका छन्।

रसुवागढी क्षेत्रमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५, डाँडागाउँमा १५ र पारच्याङमा १५ शैयाको क्वारेन्टाइन स्थापना हुने उनले बताए। ‘दुई ठाउँमा स्थापना भइसकेको छ’, उनले भने, ‘बाँकी ठाउँमा आज बेलुकीसम्ममा काम सकिन्छ।’ त्यसैगरी जिल्ला अस्पतालमा २० शैया र ग्रामीण अस्पतालमा १५ शैयाको आइसोलेसन कक्ष सञ्चालन गरिने छ। धुन्चेको साविकको महिला विकास कार्यालयको भवनमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया