अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि गुडविल एकेडेमीलाई

विदुर खबर २०७६ फागुन ५ गते १९:०६

बट्टार । नुवाकोटको बट्टारमा जारी अन्तर विद्यालयस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि गुडविल एकेडेमीले हात पारेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा आज सम्पन्न फाईनलमा देविघाटको संस्कृत माध्यामिक विद्यालयलाई ८ विकेटले पराजित गर्दै गुडविल एकेडेमीले उपाधिमाथि कब्जा जमाएको हो । टस जितेर पहिले वलिङ गरेको गुडविल एकेडेमीले संस्कृत माविलाई ७३ रनमा समेटेको थियो । संस्कृत माविका लागि राजु भण्डारीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन असफल भए । े वलिङतर्फ गुडविल एकेडेमीका विकास कुमालले ५ विकेट हात पार्दा सुशिल बोहोरा र अमिर कुमालले समान २÷२ विकेट हात पारे । ७४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको गुडविल एकेडेमीले १३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो । गुडविल एकेडेमीलाई जित दिलाउन विकास कुमालले अभिजित २६ र रोशन तामाङले २० रनको योगदान गरे । त्यस्तै शन्देश गजुरेले एक रनमा नटआउट रहे ।

प्रतियोगिामा प्रथम र द्धितिय हुन सफल गुडविल एकेडेमी र संस्कृत माविले शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले बताए । प्रतियोगिताको समापन समारोहमा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले देशभर क्रिकेटको माहोल बढ्दै गएकोले अब छोटो स्वरुपका प्रतियोगिताभन्दा ५० ओभरको प्रतियोगिता गर्नुपर्ने बताए । उनले नेपाल क्रिकेट संघले क्यालेन्डर नै बनाएर प्रतियोगिता आयोजना गर्न लागिएको उल्लेख गरे । नेपालमा युवाहरुको क्रिकेटप्रति झुकाव बढेको भन्दै उनले त्यसलाई सबै मिलेर तिखार्न लाग्नुपर्ने बताए ।

Advertisement

त्यस्तै कार्यक्रममा बोल्दै देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले गतसालदेखि आयोजना गरिएको प्रतियोगितालाई आगामी वर्ष अझै सधार्दे लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयहरुलाई खेलकुदमा आकर्षण गर्न प्रतियोगिता आयोजना गरेको उल्लेख गरे ।

देविघाट बाल क्लकको आयोजना तथा नुवाकोट क्रिकेट संघको सह–आयोजनामा भएको प्रतियोगितामा तिन विद्यालयको सहभागिता  थियो । प्रतियोगिताको समापन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य, नुवाकोट क्रिकेट संघका पादाधिकारी तथा नुवाकोटका पुर्व क्रिकेट खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया