सागमा नेपालका ५ सय ९३ खेलाडीले भाग लिने

विदुर खबर २०७६ मंसिर ३ गते १८:४६

नुवाकोट। नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ५ सय ९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ।

Advertisement

बन्द प्रशिक्षणमा रहेका भारोत्तोलनका महिला र पुरुष गरी ३-३ इभेन्टमा प्रतिस्पर्धी नपुगेकाले बन्द प्रशिक्षण गरेपनि सभागिता जनाउन नपाउने भएका छन्। जसका कारण आगामी मंसिर १५ देखि २४ गतेसम्म हुने सागमा नेपालका ५९३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।  सागमा भाग लिने खेलाडीमा ३ सय  ९ पुरुष र २ सय ८४ महिला रहेका छन्। सागमा आर्चरीका १६, एथ्लेटिक्सका ४४, ब्याडमिन्टनका २०, बक्सिङका १६, फेन्सिङका २४, जुडोका २०, करातेका ३३, सुटिङका २२ खेलाडीले भाग लिनेछन्।

यसैगरी स्क्वासका ८, पौडीका २८, टेबलटेनिसका १०, तेक्वान्दोका ३४, टेनिसका १२, भारोत्तोलनका १४, उसुका २२, कुस्तीका १४, भलिबलका २८, बीच भलिबलका ८, फुटबलका ४० खेलाडीले भाग लिनेछन्। सागमा ह्यान्डबलका ३२, बास्केटबलका २४, ३*३ बा‍स्केटबलका ८, खो खोका ३०, ट्रायथलनका १०, कबड्डीका २४, क्रिकेटका ३०, गल्फका ७ र साइक्लिङका १५ खेलाडीले भाग लिने तयारी समितिले जनाएको छ।  समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए।

Advertisement

‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढि पदक जित्ने आशा लिएका छौं,’ उनले भने । नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्र्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको छ।

प्रतिक्रिया