एन्फामा परिवारवाद हावी, योग्य खेलाडीलाई छाडेर उपाध्यक्षका छोरा टिममा

विदुर खबर २०७६ असोज ६ गते १०:४५

नुवाकोट । यू–१६ राष्ट्रिय फुटबल टिमको खेलाडी छनोटमा ‘योग्य’ खेलाडीलाई बाहिर राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीका छोरालाई राष्ट्रिय टिममा समावेश गरिएको खुल्न आएको छ ।

Advertisement

एएफसी च्याम्पियनसिप छनोट खेल्न जोर्डन पुगेको नेपाली टिममा पहिलो रोजाईमा खेल्दै आएको गोलकिपर रोशन नेपाललाई बाहिर राख्दै वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङको छोरालाई टिममा राखिएको खुल्न आएको छ । यू–१६ राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै जोर्डन उडेका पथ्युङहाङ नेम्वाङ वरिष्ठ उपाध्यक्ष पंकज विक्रमका छोरा हुन् । जोर्डनमा सम्पन्न यू–१६ एएफसी च्याम्पियनसिप छनोटमा नेपालले दुई हार, एक जित र एक बराबरी खेलेको थियो । पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १-१ को बराबरी खेलेको थियो ।
यस्तै तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित हुँदा अन्तिम खेलमा श्रीलंकालाई ३-० ले हराएको थियो ।

एन्फाको खेलाडी छनोट कमिटिले उत्कृष्ट गोलकिपर रोशनलाई टिमबाट बाहिर राख्दै उपाध्यक्षका छोरालाई नेपालको प्रतिनिधित्व गराएर जोर्डन पठाएको हो । रोशनले अघिल्लो संकरणको साफ यू–१५ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका थिए । एन्फा एकेडेमीका उत्पादन समेत रहेका रोशन विभिन्न उमेर समूहमा पहिलो रोजाईको गोलकिपरको रुपमा रहदै आएका थिए । तर,भारतमा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा समेत रोशनलाई टिममा राखिएको थिएन् । यू–१५ च्याम्पियनसिपको छनोट अघि नै उनलाई टिम बाहिर राखिएको थियो ।

Advertisement

‘टिममा नपरेपछि एन्फामा बुझेको थिए । तर बिहान बिहान एन्फा मैदानमा एक्लै अभ्यास गरेको कारण देखाएर कारबाही स्वरुप टिमबाट निकालेको जवाफ पाए ।’ रोशनले भने । एन्फा स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष नेम्बाङका छोरालाई टिममा राख्ने योजना सहित नियमित एन्फा एकेडेमीबाट खेलिरहेका रोशनलाई बिहान अभ्यास गरेको आरोपमा कारबाही गरेर एकेडेमीबाट निकालिएको हो ।‘रोशन धेरै राम्रो गोलरक्षक हो । यसअघि पनि राष्ट्रिय टिमबाट खेलिसकेको छ । धेरै मेहनती छ । अरुले भन्दा धेरै अभ्यासमा खटिएको देखिन्थ्यो । अरु गोलरक्षक भन्दा राम्रो पनि छ ।’ एन्फाका एक पदाधिकारीले भने, ‘नेपाली फुटबलमा पहिले पनि यस्ता क्रियाकलाप आए । अहिले पनि रोकिएन । यो फेरि पुरानै शैली भयो । आफ्ना मान्छेलाई स्थान दिने ।’

एन्फाले साफ यू–१५ टिमका तीन खेलाडी बढी उमेरको देखिएको भन्दै कप्तान प्रदिप लम्साल सहित अशिम राई र गोलकिपर ईश्वर गुरुङको नाम एएफसी छनोट खेल्ने टिमबाट हटाएको थियो । उनीहरुको स्थानमा दिपेश राई, क्रिष्टल शाक्य र पथ्युङहाङलाई जोर्डन पठाएको थियो । एन्फा स्रोतका अनुसार यू–१५ टिममा बढि उमेर पाईएपनि क्रिष्टललाई टिममा समावेश गराईएको हो । वरिष्ठ उपाध्यक्ष नेम्वाङका छोरा पथ्युङहाङ राष्ट्रिय टिम बाहिरका खेलाडी हुन् । उनी एन्फा एकेडेमीमा समेत छैनन् । हरेक शनिबार मात्र एन्फा कम्प्लेक्समा अभ्यासमा देखिने पथ्युङहाङलाई राष्ट्रिय टिममा समावेश गरेर जोर्डन पठाईएको हो ।

Advertisement

 

टिमबाट निकालिएका रोशनले एन्फा एकेडेमीका वार्डेन टक्कर थापाले विहानै उठेर प्रशिक्षण गरेको भन्दै कारबाही गरेको जानकारी आफुले पाएको आरोप लगाएका छन् । ‘बिहानै नियमित तयारी गर्थे । अरु खेलाडी सुतिरहेका हुन्थे । कसैलाई नबिग्रने गरि तयारी गर्दा वार्डेनले कारबाहीमा हालेछन्,’ रोशनले भने, ‘नियमित अभ्यास सहित म सधै थप अभ्यास गर्थे । फुटबलमै राम्रो गरौं, मेहनत गरौ, देशको लागि केही गरौ भनेर अभ्यासमा लाग्दा समेत कारबाहीमा राखिएछ ।’

एकेडेमीका वार्डेन टक्कर थापाले आफुमाथि लागेको आरोप गलत भएको बताए । ‘उसलाई चाँडै उठेर अभ्यास गर्याे भनेर कारबाही गरेको छैन । टिममा नपरेपछि आरोप लगाउँदै आएको छ,’ थापाले भने, ‘रोशन राम्रो खेलाडी हो । सधै अरु खेलाडी भन्दा धेरै तयारी गर्छ, मेहनती छ । सबै बिषय थाहा हुँदै गर्दा किन कारबाही गर्नु र ?’ रोशनले आफु टिममा नपर्नुको कारण प्रशिक्षक र व्यवस्थापकसंग समेत राखेको बताए । साफ यू–१५ उपविजेता भएर टिम स्वदेश फर्किएपछि रोशनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई फोन गरेर आफुलाई जोर्डनका लागि टिममा समावेश गराउन आग्रह गरेका थिए । फोनमा अध्यक्ष शेर्पाले उनलाई मुख्य प्रशिक्षक सुनिल श्रेष्ठलाई भेटेर कुरा गर्न भनेका थिए ।

प्रतिक्रिया