पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विदुर खबर २०८३ असोज ८ गते १९:१३

नुवाकोट । मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति देशका पाँच प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाएको छ।

Advertisement

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ। सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ। यीमध्ये धेरै स्थानमा हल्का वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत हल्का वर्षा भइरहेको छ।

Advertisement

शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ। मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीको समेत जोखिम रहेको छ।

शनिबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement

प्रतिक्रिया