मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

विदुर खबर २०७६ साउन ३२ गते ६:५८

Advertisement

नुवाकोट, मलेसियाको लिग च्याम्पियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो  । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

Advertisement

नियमित सदस्य तथा कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द टिममा अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् । रोहित इन्डोनेसियाको लिगमा व्यस्त रहेका छन् । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

प्रतिक्रिया