कांग्रेसको नसुध्रने प्रतिज्ञा
भारतको उत्तर पूर्वी क्षेत्रमा पाँचवर्ष पहिलेसम्म पनि दृश्यपटलमै नदेखिएको भारतीय जनता पार्टी अहिले निर्णायक विजयीे दल बन्नपुगेको छ । अर्कातिर, उत्तरपूर्वमा अहिलेसम्म सबैभन्दा प्रभावशाली रहिआएको भारतीय राष्ट्रिय कांग्रेस भने मेघालयबाहेक अन्यत्रबाट बढारिएको छ । मेघालयमा पनि कांग्रेसले स्पष्ट बहुमत ल्याउन सकेन । (हार त कम्युनिस्ट गठबन्धनको पनि भएको छ । लगातार २० वर्ष मुख्यमन्त्री रहँदा पनि भ्रष्टाचारको दाग नलागेका मणिक सरकार भारतकै सबैभन्दा स्वच्छ र इमानदार मुख्यमन्त्री मानिन्थे ।
सामाजिक विकासमा उनको पालामा त्रिपुरामा ठूलो प्रगति भएको थियो । तर, तिनैले नेतृत्व गरेको कम्युनिस्ट पार्टीहरूको गठबन्धन चुनावमा नराम्ररी दक्षिणपन्थी भारतीय जनता पार्टीसँग हार्यो । यसपटक पनि कम्युनिस्टहरूलाई बनाउने ममता बनर्जीले छुट्टै पार्टी तृणमूल कांग्रेस बनाइन् । उनी पनि पहिले पश्चिम बंगाल कांग्रेसकै नेतृ थिइन् । कांग्रेसबाट मुख्यमन्त्रीसमेत भइसकेका नेता पनि भारतीय जनता पार्टीमा गए र त्रिपुराबाट कम्युनिस्ट हराउनेमात्र हैन कांग्रेस पनि सिध्याउने काममा सहयोग गरे । राजनीति !) कांग्रेसको हारमा विश्लेषकहरूले आश्चर्य भने मानेनन् ।
भारतीय राष्ट्रिय कांग्रेसको हारको समीक्षाका क्रममा विश्लेषकहरूले औँल्याएका कारणमा केही भाजपाका चतुर्याइँ, प्रचारशैली, चालवाजी र आक्रामक रणनीति थिए भने मूलतः कांग्रेसको कमजोरी । भाजपाका चतुर्याइँका बारेमा अहिले चर्चा नगरौँ । नेपाली कांग्रेससँग धेरै चरित्र र इतिहाससमेत मिल्ने भारतीय कांग्रेसका कमजोरीका रूपमा विश्लेषकले औँल्याएका ३ वटा कमजोरी चाखलाग्दा र नेपाली कांग्रेसको चरित्रसँग मिल्ने प्रकारका छन् । उनीहरूका अनुसार कांग्रेसमा ठालु प्रवृत्ति (इलिटिस्ट), जनतासँग संवादहीनता र कुनै नयाँ सन्देशको अभावजस्ता कमजोरीकै कारण चुनावमा नराम्ररी परास्त भएको हो । नेपाली कांग्रेसमा पनि यी तीन कमजोरी थप अवगुणसँगै रहेका देखिन्छन् ।
नेपाली कांग्रेस तीनै तहको चुनावमा नराम्ररी परास्त भएपछि हारका कारण खोजिने र सुधार हुने अपेक्षा केहीले गरेको देखिन्थ्यो । कांग्रेसका नेताहरू विशेषगरी शीर्ष नेताहरूको चरित्र र प्रवृत्ति तथा युवा भनिएका नेताहरूको लाचारी थाहा पाएकाहरूले भने कांग्रेस सुध्रिएला भनेर पत्याएका थिएनन् । अन्ततः भयो पनि त्यस्तै । चुनावपछि हारको जिम्मेवारी कसैले लिएन । पुस्तैनी समर्थकले दिएको समानुपातिक मतका बलमा परिजन र पुरजनलाई सांसद बनाएका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा चुनाव जित्नु कुनै बहादुरी हैन । आश्चर्य भने शशांक कोइरालाहरू पनि पार्टीलाई सिध्याउन देउवासँगै अगाडि सर्नु हो । जेहोस्, कांग्रेसका नेता सुध्रिने लक्षण देखिएन ।
नेपाली कांग्रेसका नेताहरूले पार्टीको मौलिक चरित्रविपरीत आफूलाई ‘संस्थापन’का संरक्षक ठान्न थालेपछि नै ठालु प्रवृत्ति बढेर गएको हो । अहिले कांग्रेसका अधिकांश ठूला नेताका घरमा खानपानदेखि बोलीबचनसम्ममा राणा दरबारको सिको गरिन्छ । यसैले धनी, सम्भ्रान्त र नवधनाढ्य भुइँफुट्टाहरूको हितरक्षक बन्यो नेपाली कांग्रेस । जनतासँग मात्र हैन गाउँका कार्यकर्तासँग पनि संवाद टुटेको वर्षौं भइसक्यो । यसैपल्टको चुनावमा पनि कांग्रेसले जनतालाई कुनै सन्देश दिन सकेन । पार्टीका सभापति र महामन्त्री यसै पनि जनतालाई आकर्षित गर्ने वक्ता त हुँदैहैनन् । जनताले बुझ्ने शब्दमा बोल्न जान्नेहरूसँग पनि भन्ने कुरै छैनन् । सन्देश र सञ्चार दुवै शून्य भएपछि चुनाव कसरी जित्ने ?
देउवाले संसदीय दलको नेता बन्ने लोभ नगरेका भए पार्टीमा बिस्तारै नेतृत्व हस्तान्तरण हुने सन्देश जाने थियो । अहिलेलाई त्यो बाटो पनि थुनियो । परस्परमा दोषादोष गर्नुबाहेक चुनावपछि कांग्रेसका कुनै पनि नेताले न जनताका लागि केही भनेका छन् न कार्यकर्तालाई नै कुनै सन्देश दिएका छन् । पार्टीलाई कतिसम्म हेपिएको छ भन्ने त अन्दाज पनि छैन होला । भारतकी विदेश मन्त्री सुषमा स्वराज नेपाल आउँदा त शेरबहादुर देउवा प्रधानमन्त्री नै थिए । तर, सुषमाले उनीसँग भेट्नका लागिमात्र भेटिन् । महत्त्व पटक्कै दिइनन् भन्ने सबैले थाहा पाएका थिए । पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीले त नेपाली कांग्रेसका नेतालाई वास्तै गरेनन् । कांग्रेस नेतृत्वको यति उपेक्षा सम्भवतः पञ्चायत कालमा समेत भएको थिएन होला । तैपनि, सभापति देउवा चुनावमा ’पार्टी नहारेको व्यक्तिमात्र हारेको’ भन्दैछन् । पार्टीभित्र समीकरण सन्तुलन प्रतिस्पर्धा जो जे गर्नुछ जसरी गर्नुछ गरे हुन्छ । जनताले त्यसमा टाउको दुखाउँदैनन् । तर, सार्वजनिकरूपमा त सत्य बोल्ने र स्वीकार गर्ने आँट गर !
स्थानीय तहमा कांग्रेसबाट ११ हजार ४५६ जना निर्वाचित भएका छन् । यिनलाई कसरी काम गर्ने ? के काम गर्ने ? पार्टीको नीति कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा अहिलेसम्म कसैले केही भनेको छैन । देशका लागि केही गर्ने सोच भए वा गर्नुपर्छ भन्ने लागेमा आफ्नो बहुमत भएको स्थानीय निकायमा काम गराउन सक्नुपथ्र्यो । अरू दलको हातमा भएका भन्दा भिन्दै देखाउन सक्नुपर्थ्यो । कम्तीमा प्रयास त गर्नुपथ्र्यो । तर, कांग्रेसभित्र अहिलेसम्म स्थानीय तह पनि छ भन्ने नै हेक्का नभएजस्तो देखियो । जनतालाई सेवा र सुविधा दिनमात्रै पनि कांग्रेसका प्रतिनिधि अरूभन्दा जनमुखी देखिए समर्थन त यसै बढ्थ्यो नि ! काठमाडौं महानगरपालिकाका प्रमुख हदैसम्म अलोकप्रिय भएका छन् । कांग्रेसले सम्पदा संरक्षण, पुनर्निर्माणलगायतका विषयमा जनमुखी नीति अपनाएर जनताको ध्यानाकर्षणमात्रै गर्न खोजे पनि संगठन विस्तार र सुदृढ हुन्थ्यो । तर, अहँ कांग्रेसका नेतालाई यस्तो कुनै पनि रचनात्मक काममा रुचि नै देखिँदैन ।
राष्ट्रपतिको चुनाव हुँदैछ । नेपाली कांग्रेसका उमेदवार जित्दैनन् । तैपनि कांग्रेसले निर्णायक हस्तक्षेप गर्न सक्थ्यो । राष्ट्रपति पदको गरिमा सुहाउँदो राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपति बनाउन सत्तापक्षसँग संवाद गर्नसक्थ्यो । के कांग्रेसले केदारभक्त माथेमा, डा. देवेन्द्रराज पाण्डे, नीलाम्बर आचार्यजस्ता व्यक्तिहरूलाई राष्ट्रपति बनाउनुपर्छ भनेर बेलैमा भन्नु हुँदैनथियो ? कम्युनिस्टहरूले मानी पो हाल्थे कि ? नमाने पनि एउटा सत्प्रयास गरेकोमा जनताले सराहना नै गर्थे होलान् ।
परन्तु, नेपाली कांग्रेसका अहिलेका नेतामा सिर्जनाशीलता र सरकारात्मकता नै छैन । यसैले कांग्रेस सुध्रने लक्षण पनि देखिँदैन । कम्युनिस्टहरूलाई हराउन भने भारतमा जस्तै कांग्रेसकै नेताले तर अर्को पार्टीबाट प्रयास गर्नुपर्ने हो कि? कांग्रेसको कुन पुस्तामा कहिले त्यस्ता नेता निस्कलान् ? अहिलेकाले त कहिल्यै नसुध्रिने कसमै खाएजस्तो छ !
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया