बागमतीका १० जिल्लामा २५३ बलात्कारका घटना, पीडित बालिकाको संख्या बढ्दो

नुवाकोट । प्रहरीले अधिकांश बलात्कारीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ भने उनीहरूलाई कानुनबमोजिम हदैसम्म कारबाही भइरहेको छ।

तर पनि महिला र बालिकामाथि बलात्कारका घटनामा कमी आएको छैन। पछिल्लो समय त वृद्धाहरूमाथि पनि बलात्कारका घटना भएका घटना रेकर्डमा आएका छन्।
मकवानपुरमा गत फागुनको २९ गते ८० वर्षीया वृद्धालाई नजिकका नाता पर्ने ५७ वर्षीय पुरुषले बलात्कार गरे। वृद्धालाई बलात्कार गर्ने पुरुष अहिले पुर्पक्षका लागि जेलमा छन् । गत आर्थिक वर्षमा २८ जना बालिकासहित ४१ जना बलात्कृत भएका छन् । ४ वर्षदेखि १६ वर्षसम्मका बालिकाहरू अधिकांश छिमेकी र आफन्तहरूबाट सिकार बनेका छन् ।

शहरका मात्र होइन, ग्रामीण क्षेत्रका बालिकाहरू पनि बलात्कृत भएका छन् । शहरमा देखिने रङ्गिन जीवन र मोबाइलका कारणले बालिकाहरू बलात्कृत हुने गरेका छन् । रातभर मोबाइलमा अश्लील तस्वीहरु हेर्ने र लुकाई छिपाई यौन व्यवसाय सञ्चालन गर्ने होटेलका कामदारहरूले यौन तृष्णा मेट्नका लागि बालिकाहरूलाई बलात्कार गर्ने गरेको ठम्याई प्रदेश प्रहरी कार्यालय हेटौँडाको छ।
मादक पदार्थ सेवनको उन्मादमा प्रतिवाद गर्न नसक्ने बालिका र कमजोर महिलालाई बलात्कार गर्ने गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक गौरव महतले बताए । बालिकाहरूलाई विशेष गरी विभिन्न किसिमका प्रलोभनमा पारेर छिमेकी र आफन्तहरूले नै बलात्कार गर्ने गरेको बालबालिका र महिला क्षेत्रमा काम गर्दै आएकी माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले भनिन्, ‘आफन्त र छिमेकहरूबाट नै विशेष गरी बालिकाहरू बलात्कृत हुने गरेका छन् ।’
गाउँमा अभिभावकहरूको हेरविचारमा कमी र चेतनाको अभाव तथा गरिबीको कारणले अन्जान बालिकाहरूमाथि बलात्कारका घटना भएका छन्। बालिका बलात्कारमा संलग्न रहेकामध्ये प्रहरीले अधिकांशलाई पक्राउ गर्न सफल भएको छ । अदालतले पनि पुर्पक्षका लागि थुनामा राखेको छ । कैयौँलाई कानुनबमोजिम दण्ड सजाय भएको छ।
मकवानपुरमा मात्र होइन, बागमती प्रदेशका उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा बलात्कारका घटनाहरू भइरहेका छन्। बलात्कृत हुनेमा बालिकाको संख्या बढदै गएको छ । बलात्कारका घटना गत आर्थिक वर्षमा चितवनमा ५१ वटा भएका थिए । तीमध्ये २१ जना बालिका बलात्कृत भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका अनुसार बागमती प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै बलात्कारको घटना भएको जिल्ला मकवानपुर र चितवन हो भने सबैभन्दा कम भएको जिल्ला रामेछाप हो ।
आर्थिक वर्ष ०८१/०८२ रामेछापमा ६ वटा बलात्कारका घटना भएका थिए । अघिल्लो आर्थिक वर्षमा रामेछापमा १३ वटा बलात्कारका घटना भएका थिए । बागमती प्रदेशका १० वटा जिल्लामा गत आर्थिक वर्षमा ७३ जना बालिकासहित २ सय ५३ वटा बलात्कारका घटना भएका छन् । अघिल्लो आर्थिक वर्षमा ७१ जना बालिकासहित २ सय ८७ वटा बलात्कारका घटना भएको प्रहरी प्रदेश कार्यालय हेटौँडाले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा बागमती प्रदेशमा बलात्कारका घटनामा थोरै भए पनि कमी आएको छ । तर बालिका बलात्कारको संख्या भने वृद्धि भएको छ ।
आर्थिक वर्ष ०८१/०८२मा बलात्कारको. घटना सिन्धुली, सिन्धुपाल्चोक, रसुवा जिल्लाका वृद्धि भएको छ । बाँकी ७ जिल्लामा बलात्कारका घटना अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।कान्तिपुर दैनिकले लेखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया