कुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विदुर खबर २०८३ कार्तिक १३ गते २१:३९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ कुमलटारस्थित सेती देवी आधारभूत विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

Advertisement

शिविरमा कुल २ सय ६० जनाभन्दा बढी स्थानीयहरूको रक्तचाप (प्रेसर) र मधुमेह (सुगर) परीक्षण गरिनुका साथै अन्य विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। दुर्गम क्षेत्रका नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरले सर्वसाधारणलाई ठूलो राहत पुर्याएको छ।

नागरिकहरूलाई गुणस्तरीय सेवा दिनका लागि शिविरमा स्वास्थ्य विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो। शिविरमा ६ जना चिकित्सक (डाक्टर), ६ जना नर्स र ४ जना फार्मेसिस्टसहितको प्राविधिक टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेका थिए।

Advertisement

स्वास्थ्य शिविरलाई व्यवस्थित र सफल बनाउन स्थानीय युवा तथा स्वयम्सेवकहरूले सक्रिय सहयोग गरेका थिए। गाउँमै यसरी विशेषज्ञ डाक्टरसहितको टोली आएर स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै आयोजकप्रति आभार प्रकट गरेका छन्।

लक्ष्मी सपोर्ट फाउन्डेसन, नेदरल्याण्ड्सको प्रायोजनमा सञ्चालित यस शिविरलाई सहिद मेमोरियल हस्पिटल, कलंकी, काठमाडौंले प्राविधिक तथा अन्य सहयोग पुर्याएको थियो।

Advertisement

तारकेश्वर गाउँपालिका वडा नं. ४ का वडा सदस्य स्वर्णिम थापा (रामकाजी थापा) को आयोजना तथा विदुर नगरपालिका वडा नं. ३ वडा कार्यालयको समन्वयमा शिविर सम्पन्न भएको हो।

प्रतिक्रिया