त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक

विदुर खबर २०८३ कार्तिक १७ गते २१:०७

नुवाकोट । भदौ १० गतेको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीले निम्त्याएको पीडा, बिछोड र उजाडिएका सपनाहरूलाई समेटेर नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ।

Advertisement

बाढीपछि पीडितहरूको दुःख नजिकबाट प्रत्यक्ष अवलोकन गरेका किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं बेलकोटगढी नगरपालिकाका स्थायी बासिन्दा केदार खतिवडाले बाढीको पीडालाई शब्दमा उतार्नुभएको हो।

गायक तथा संगीतकार थानेश्वर गौतमको सुमधुर स्वरमा सजिएको यस गीतमा बाढीले प्रियजन खोस्दा, घरबार उजाडिएका र जीवनभर सँगै रहने सपना एकैछिनमा बगाउँदाको असह्य पीडालाई प्रेम र बिछोडका विम्बमार्फत मर्मस्पर्शी ढङ्गले व्यक्त गरिएको छ। उद्धार तथा राहत कार्यमा खटिँदा आफूले देखेका र महसुस गरेका मानवीय पीडालाई गीतकार खतिवडाले कलात्मक रूपमा शब्दमा समेट्नुभएको छ।

Advertisement

गीतमा ‘आँखामा बसेको मान्छे आँसु बनेर झर्‍यो’ भन्ने मर्मस्पर्शी पङ्क्तिमार्फत आकस्मिक विपत्तिले मानिसको जीवन कसरी तहसनहस पार्छ भन्ने देखाइएको छ। प्रेम र बिछोडको भावमा तयार पारिएको भए पनि यसले बाढीमा आफ्ना मान्छे गुमाएका पीडितहरूको आँसु, सम्झना र जीवनभर नमेटिने घाउको कथा बोल्छ।

विपत्तिले भत्काएका घरहरू र उजाडिएका बस्तीहरू पुनर्निर्माण भए पनि प्रियजन गुमाउँदाको पीडा कहिल्यै नमेटिने यथार्थलाई यो गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

Advertisement

उक्त गीत गायक थानेश्वर गौतमको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया