सुन बहादुर काण्ड र नुवाकोटको राजनीति

विदुर खबर २०७६ साउन १ गते १९:१६

                                                                                        रजमान तामाङ

नुवाकोट तिर अहिले चर्चामा रहेको दुइ प्रकरणहरु छन् । पहिलो हो सुन बहादुर तामाङ प्रकरण र दोश्रो राजधानी जोड्ने राजमार्गको दुर्गतीका बीच चलेको राजनीति । अपराधशास्त्र र बिकास राजनितीसँग यो दुई विषय जोडिएको छ जोडिन्छ नै।यि दुइ प्रकरणमा नुवाकोटका राजनितिक नेताहरुको नाम जोडिनु र राजनितिकरण गर्ने प्रयत्न हुनु स्वभाबिक मानिएला।तर यसको अतिसयोक्तिकरणले भने हाम्रो समाज र राजनैतिक शिक्षाको स्तर मापन हुन्छ । यो लेखमा यिनै दुइप्रकरणबारे चर्चा गर्ने प्रयत्न हुनेछ।कुनै पनि घट्ना रप्रकरणका आफ्ना भूगोल इतिहास हुन्छ।त्यसका पात्र प्रवृत्ति हुन्छ।त्यसका आफ्नै कथा हुन्छ ,ब्यथा हुन्छ।आस्चर्यको रूपमा कुनै घट्ना घट्दैन ।

Advertisement

नुवाकोटको पुर्बी भागमा देशकै कलङ्कको रूपमा रहेको चेलीबेटी बेचबिखन रुपि अपराध उद्योग चलेको थियो इतिहासमा ।त्यही उद्योगको निरन्तरता नयाँ रूपमा पुँजिबादले बैधानिकता दियो र खाडिमा बेचबिखन गर्यो आम नौजवानहरुलाइ।त्यो आजसम्म जारी नै छ।केन्याको बेश्यालयमा पुगेको चेलिको चित्कार सुनेर दिग्दार बनेको मेरो पुस्ता इतिहास खोतल्न भन्दा बर्तमानको आरोप प्रत्यारोपमा रमाइरहेको छ । यो दुस्खद कुरा हो ।

सुन बहादुर काण्ड यस्तो कथा बनाइयो कि यसको शुरुवात कर्ता उनै हुन् ।यिनै सुन बहादुरको सत्ताले चेलीबेटी बेचबिखनलाई बैधानिकता दियो।सुन बहादुर भन्दा ठूलो अपराधी यो देशमा कोहि रहेन।त्यसो भनिरहँदा सुन बहादुरको पैरवी गर्न खोजिएको होइन।म सुन बहादुरले गरेको अपराध कर्मको बिरोधि हुँ।मेरो राजनीति र आदर्शले त्यो कर्म स्विकार गर्दैन । तर म यति भन्छु चेलीबेटी बेचबिखनको सुरुवात गर्ने पात्र सुन बहादुर तामाङ होइन।यसको इतिहास छ।त्यो इतिहास नभुलौँ।गोर्खा राज्य बिस्तार अभियानको दौरानमा काठमाडौ कब्जा गरेपछि बनेको नेपालको केन्दृकृत सामन्ती राज्यसत्ताको सबैभन्दा ठूलो उत्पिडन भोग्ने जाती तामाङ हो ।

Advertisement

तामाङहरु माथि बैधानिक ढंगले नै मुलुकी ऐन पछि अर्थराजनितिक उत्पिडन थोपर्यो जङ्ग बहादुर कुँवरले।त्यो भन्दा पहिला पनि रण बहादुर शाहको पालमा लच्याङ वरिपरिका झन्डै एक हजार तामाङको हत्या भएको इतिहास छ । बि स १८६५ मा।तर १९१० मा मुलुकी ऐन बनेपछि मनुस्मृतिमा आधारित जात ब्यबस्थाको शुरु भयो । जातको आधारमा राज्यसत्ताको ओहोदा निर्धारण गरियो।दन्डको ब्यबस्थापनि जातको आधारमा निर्धारण भयो।एउटै प्रकृतिको मुद्दामा अन्य जातले मृत्युदन्डको सजाय पाइन्थ्यो भने ब्राह्मणहरुलाइ चार पाटा मुढ्ने चार भञ्ज्याङ् कटाउने गरिन्थ्यो।त्यस पछि कैयन तामाङहरु काटिए कैयन देश निकाला भए ।

जनजातिहरु भित्र पनि राइ लिम्बु मगर गुरुङलाइ नमासिन्या मतुवाली र तामाङहरुलाइ मासिन्या मतुवालिको दर्ज दिइयो।मासिन्या मतुवालीको दर्ज पाउनेलाइ मास्न मिल्ने, काट्न मिल्ने ,बेच्न मिल्ने ,नोकर चाकर राख्न मिल्ने र रखैल बनाउन मिल्ने भयो।सरकारी जागिर खाना नपाइने ,बिर्ता जग्ग नपाइने र ब्यापार गर्न समेतबाट तामाङहरुलाइ बन्चित गरियो ।

Advertisement

राज्यसत्ताको यो उत्पिडनका बीच राणाहरुले आफ्नो दरबारभित्र हेलम्बु आसपासका तामाङ चेलिहरुलाइ राख्नेकाम गर्यो।राणाहरुको पनि क्लास वर्गीकरण पछि कैयन राणाहरु नेपाल छोडेर भारत हानिए।यिनै राणाहरुले भारतको बेश्यालयमा नेपालका तामाङ चेलिहरु पुर्याए।त्यसको प्रभावबाट नुवाकोट अछुत रहेन र पुर्बिक्षेत्रमा यो प्रचलन शुरु भयो। बृटिसहरुलाइ खुशी बनाएर आफ्नो शासन टिकाउन राणाहरुले गरेको अपराधको भागिदार हुन के पो बाँकी राखियो र ?

यो पङ्तिकार जनयुद्धकै समयमा चेलीबेटी बेचबिखन प्रभावित नुवाकोट र सिन्धुपाल्चोकका मुल बस्तिमा त्यहाँका जनतासँग लामो अन्तरक्रिया गरेको पात्र हो।सुन बहादुर भन्दा ठुला अपराध गर्ने त आजको राजनैतिक प्रणाली हो।यहाँ नुवाकोटका नेताहरुका नाम जोडेर राजनिती गर्न खोजिएको छ।यस्तो घटिया काम नगर्दा राम्रो।यो कामको शुरूवात उनिहरुले गरेको होइन।आफ्नो कार्यकर्ताको रक्षा सबैले गर्छ।निर्मला पन्तको हत्यारा जोगाउने काम कुन सरकारले गरेको छ?आँखा च्यातेर हेर ।

माओबादी आन्दोलनका कार्यकर्ताले सबैभन्दा पहिले प्रचण्ड बादलहरुमाथी प्रश्न गर्नु पर्यो ,जनबादी र साम्यबादी समाजको सपना देखाएर हजारौंको बलिदान आँसु ,रगत र पसिनाको हत्या गरेर आफ्नो निकृस्ट स्वार्थ पुरा गरेको आजको भोगाइ इतिहास होइन।काङ्ग्रेसले आफ्नो बर्गको रक्षा गर्यो यो कुन अपराध भो र? आफ्नै बर्गलाइ धोका दिएर सपनाको हत्या गर्ने हत्याराहरु प्रती पो प्रश्न गर्ने कि?

आजको संबैधानिक ब्यबस्थामा जे हुने हो त्यही भयो।यो कुन अनौठो कुरा भो र? शक्ति पैसा र प्रभाव जसको बलियो छ उसैको जित हुने राजनैतिक प्रणाली स्विकार गरेपछि हुने यहि हो । सामाजिक संजालमा रोइलो किन ? सुन बहादुर भन्दा ठुला अपराध गर्नेका सुचिमा महरा पासाङ बादल पुत्रहरु हुन् ।तिनिमाथी पनि प्रश्न गर । तिनका सत्ता र शक्तिका श्रोत निम्छरो बनाइएका माओबादी कार्यकर्ता र जनता हुन् ।तिनका चर्तीकला हेर्न निर्मला बलात्कार कान्डा र अबैध कारोबार हेरे पुग्छ।कहाँबाट आयो भ्रष्ट दिप बस्न्यातको छोरासँग ब्याबसायिक साझेदारी गर्ने पैसा ।के तिनका रोल्पाको पाखो बारीबेचेर ल्याएका हुन् ?कहाँबाट आउँछ अस्कलमा स्वबियु चुनाब लड्न हेलिकप्टरमा पैसा ?दिपक मल्होत्रासँग पासाङ पुत्रलाइ भेट गराउन तिम्रा पनि रगत र पसिना छ नुवाकोटे हो ।

त्यसैले यो प्रकरणमा सुन बहादुरको अपराध एकातिर छँदाछँदै त्यसभित्र गर्न खोजिएको अर्को खेल पैसा र उनको राजनितिक आस्था हो।उनको वडा अध्यक्ष पद हो।यदि सुन बहादुरले खेलोमेलो वालाहरुलाइ चन्दा वा कमिसन दिएको भए यो खेल बिल्कुल हुने थिएन । धेरै सुन बहादुर छन् त्यो खोलामा।अरुलाइ पनि गर्नेकी ?
अर्को प्रकरण छ,राजधानी छिर्ने सडक प्रकरण । बर्षा याम शुरुभएपछी हरेक बर्ष यो प्रकरणले सताउँछ नुवाकोट र रसुवाबासिलाइ।यो बर्षपनि हैरानी खेपेका जनताले सामाजिक संजालमा गालिका बर्षा शुरु गरेपछि राजनीति कर्मिलाइ चासो बढेको छ।राजधानी छिर्ने तिनै सडक स्तर उन्नतिको काम समयमै सम्पन्न नहुँदा सास्ती भोग्नेमा म पनि हु।म आफैं पनि एक जिम्मेवार राजनैतिक कार्यकर्ता हुनुको नाताले आत्माआलोचित हुनु नै छ।अरुलाइ काटेर अग्लो हुँदैन ।मेरो पनि जिम्मेवारी छ र थियो।समयमै सम्बन्धित पक्षलाई दबाब दिने दायित्वबाट हामी बिद्रोही राजनीति गरिरहेकाहरु पनि चुकेकै छौँ ।

सत्तारुढ दलका सामसदहरु आफ्नै हैसियत के हो बुझ्दैनन बिचरा।आफ्नै दलको शक्तिशाली सरकार ,बिभागिय मन्त्री र समसदिय समिति छ।बिभागिय मन्त्रीलाई दबाब र निर्देशन गर्नुको सट्टा निम्छरो कर्मचारी र ठेगेदारको दलबलसहित डेलिगेशन शैलिमा जाने गाइजात्रा देखियो।केहि अरिङ्गलाइ सामाजिक संजालको भिता रङ्गाउन आदेश दियो बस ड्युटी पुरा भयो।यो निम्छरो काम बुझेपछि काङ्ग्रेस सभापति जगदीश नरसिंह केसि दलबल सहित बिभागिय मन्त्री भेट्न सिंहदरबार पुगे अल्टिमेटम दिए ।

यो सडकका यात्रु सर्बसाधरण जनता मात्र होइन।देशकै राजनीतिमा प्रभाव राख्ने अर्जुन नरसिंह केसि डा महत द्वयपनि हुन् ।टोखा झोर खण्डको जागती बसपार्क सम्मको सडकमा बर्से्नि भोगिने सास्तिका पिडाले आजित छन् नुवाकोटे।करिब २किमि सडक निर्माण गर्न बर्सौ लाग्ने राज्य संरचना र उसको चरित्र हो।मुनाफा र ठूलो कमिसनको खेल नहुने ठाउँमा तत्काल केहि हुँदै हुँदैन ।यो जानेमानेको कुरा हो ।
त्यस्तै अर्को महत्त्वपूर्ण राजमार्ग हो गल्छी मैलुङ।यो सडक दुइलेन बनाउन जुन प्रक्रियामा टेन्डर भयो।त्यो राज्यलुटको पराकाष्ठामा भयो।यो लगायत छवटा ठेक्का प्रक्रियामा चरम राज्यलुट मच्चाइयो।धरान चतरा हेटौंडा ,बिराटनगर ,बुटवल बेल्दिया झापा सहितको ५५अर्ब बराबरको ठेक्का प्रक्रियामा भएको सस्थागत भ्रष्टाचारका कारण राज्यले ८देखी १४ अर्ब गुमाउनु परेको तथ्यहरु सार्बजनिक भएको छ।यहि ठेक्काको कमिसन बहालवाला प्रधानमन्त्री ,बिभागिय मन्त्री र सडक बिभागका महानिर्देशक सम्म पुग्यो।बिचरा मारिए शरद गौचन ।कालिका कन्ट्रक्सन , लामा, तुदि ,रसुवा,स्वछ्न्द र शर्मा एन्ड कम्पनी यो लुटपाटकाण्डाका नाइके कम्पनीहरु हुन् । तर कामको गति सुस्त छ र जनताले सास्ती भोग्नु परेको छ।तुँदि नाम गरेको कम्पनीले यसको काम सुस्त गतिमा गरिरहेको छ ।

अर्को पासङल्हामु राजमार्गको दुर्ग्तिको के कुरा?सस्तोमा ठेक्का हत्याउने र समयमै काम नसकाउने सिरोमनिको रूपमा बहुप्रचारित सैलुङ कन्ट्रक्सनका मालिक हुन् शारदा अधिकारी ।डबल नेकपाका सह अध्यक्ष प्रचण्डका घरबेटी हुन् उनि।माओबादी टोलिबाट सामसद भएकाहरु मन्त्रीका लागी सिफारिस गर्दिन यिनकोमा जुलुस हुन्छ भन्छन् जानकारहरु।बालाजु ककनी खण्डको ठेक्का यिनै महासयको हो।यिनले राजधानीकै थुप्रै ठेक्काहरु अलपत्र पारेको खबर बारबार आइरहेकै छन् । ककनी पिपल्टार खण्डको ठेक्का पारेका कोशी एन्ड नेउपानेको हबिगत त्यस्तै छ।सस्तोमा ठेक्का पारेका महासयहरुको पाट्नरहरुकै बीच कुरा नमिल्दा यो खन्डको काम हुने देखिदैन ।

यहि सेरोफेरोमा घुमिरहेको नुवाकोटे राजनितीले अबको दिनमा घ्याङ्फेदी र त्यो भुगोल वरिपरि अर्को सडक दुर्घटना वा भवितव्य ननिम्त्याओस।पन्चायतकाल देखी करोड पति लो काण्ड सम्म आइपुग्दा त्यो क्षेत्रमा डरलाग्दो हत्याकाण्डहरु भएका छन् ।फोहोरी राजनितिको खेलमा अर्को अपराध नहोस् ।बिकास राजनितीको संरचनामै सुधार नगरी जनताले सुखद अनुभुती गर्न पाउने छैन।आउनुस बरु आजको अर्थराजनितिकै बिकल्पबारे सोचौं ।

लेखक नेपाल कम्युनिस्ट पार्टी बिप्लब नेतृत्वको  क्षेत्रीय ब्यूरो सदस्य हुन् 

प्रतिक्रिया