रसुवाको ठूलो स्याफ्रुमा प्याराग्लाइडिङको सफल परीक्षण

विदुर खबर २०७६ असार १५ गते ४:०६

रसुवा असार १५, गोसाइँकुण्ड–५ ठूलो स्याफ्रुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले ठूलो स्याफ्रुमा परीक्षण उडान गरेको हो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म प्याराग्लाइडिङको परीक्षण उडान सञ्चालन भएको थियो ।

Advertisement

साहसिक खेलको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यसहित जिल्लामै पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान गरिएको भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिका सचिव दावा तामाङले बताए । दुर्सागाङदेखि ठूलो स्याफ्रुसम्म बिहीबार ३ र शुक्रबार ६ वटा गरी ९ वटा उडान भरिएको छ । ‘परीक्षण उडान सफल भएको छ,’ उनले भने, ‘अब व्यावसायिक उडानका लागि प्रक्रिया अधि बढाउँछौं ।’ उडान भर्ने स्थान दुर्सागाङको उचाइ २ हजार ७ सय मिटर रहेको छ । अवतरण गर्ने स्थान ठूलो स्याफ्रुको उचाइ २ हजार २ सय मिटर रहेको छ ।

शंखरापुर प्याराग्लाइडिङ कम्पनी काठमाडौंबाट आएका ४ जना पाइलटले उडान भरेका थिए । उत्तरी मोहडामा फर्केको जमिन र सन्तुलित हावा चल्ने क्षेत्र रहेकाले प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न सकिने सम्भावना रहेको प्याराग्लाइडिङका पाइलट विजयचौलागाईले बताए ।‘यस स्थानबाट व्यावसायिक उडान सञ्चालन भएमा नेपालकै पहिले अग्लो स्थानको प्याराग्लाइडिङ सञ्चालन हुने क्षेत्र हुनेछ,’ उनले भने । व्यावसायिक उडानका लागि अवतरण गर्ने स्थानको निर्माण र बिजुलीका पोलहरू हटाउनेलगायतका काम गर्ने तयारी भएको चौलागाईले बताए । परीक्षण उडान सफल भए अनुमति लिएर व्यावसायिक रूपमै प्याराग्लाइडिङ व्यवसाय अघि बढाउने योजना गाउँपालिकाको रहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जनाए ।‘व्यावसायिक उडानका लागि अब कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ,’ उनले भने । व्यावसायिक उडान सञ्चालन भएमा नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटन प्रवन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement

गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रु पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । व्यावसायिक उडानले यस क्षेत्रको थप पर्यटन प्रवर्द्धन हुने तामाङले बताए । यसस्थानबाट लाङटाङ र गोसाइँकुण्ड पदयात्रामा जान सकिन्छ ।

प्रतिक्रिया