शहिदको सम्झना स्वरुप गणतन्त्र दिवसमा रसुवामा बगैचा निर्माण

विदुर खबर २०७६ जेठ १६ गते १४:०४

                                                                                  फाईल फोटो

Advertisement

रसुवा जेठ १६, गणतन्त्र दिवसको उपलक्षमा गणतान्त्रिक बगैँचा निर्माण गरिएको छ । गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिको निर्णय बमोजिम जिल्ला सरकारी वकिलको कार्यालय परिसरमा आज बिरुवा रोपण गरिएको र सो बगैँचाको नामकरण गणतान्त्रिक बगैँचा घोषणा गरिएको जिल्ला सरकारी न्यायाधिवक्ता बाबुराम भट्टराईले जानकारी दिनुभयो । गणतान्त्रिक बगैँचामा रोपिएका बिरुवामा बैँस ७५, चाप १०, पैयौँ १०, टिमुर १०, निगालो ७०, धुपी र सल्ला प्रजातिका १० वटा बिरुवा रहेको बताइएको छ । बगैँचा साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको छ । मनसुन शुरू हुनासाथ थप फलफूलका बिरुवा रोपण गर्न बिरुवा सङ्कलन कार्यसमेत अगाडि बढिसकेको जिल्ला न्यायाधिवक्ता भट्टराईले बताउनुभयो । बिरुवा रोपण कार्यमा जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्ट, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, सोही गाउँपालिका–६ का वडाध्यक्ष दावा सिदार वाइवा, प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, नागरिक समाजका अगुवा बाबुलाल तामाङ, जिल्ला समन्वयका सदस्य तेम्वा जिएल, सुरक्षा अङ्गका प्रमुखसमेतको सहभागिता थियो । गणतन्त्र दिवसको उपलक्ष्यमा प्रभातफेरी, बजार परिक्रमा तथा जिल्लादेखि गाउँ तहसम्म दिवसको महत्वबारे विवेचना गरिएको थियो । यसैगरी गणतन्त्र दिवसको उपलक्ष्यमा जिल्ला अस्पतालको अन्तरङ्गकक्षमा रहेका पाँच बिरामी र जिल्ला कारागारभित्र कैदीबन्दीका रूपका रहेका ९३ लाई फलफूल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया