पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला आयोजना हुने

विदुर खबर २०७६ जेठ २ गते १:०१

नुवाकोट जेठ २, ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ आयोजना हुने भएको छ ।

Advertisement

आगामी जेठ ४ गते देखि ८ गतेसम्म नुवाकोटको पर्यटकीय स्थल ककनीमा उक्त कृषि प्रदर्शनी मेला आयोजना हुन लागेको हो । दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतिमा स्थापित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान र ककनी गाउँपालिकाको सह–आयोजनामा कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले मेलाबारे जानकारी गराएको छ । समग्र कृषि क्षत्रको विकास, विस्तार एवम् प्रवर्द्र्धन गर्दै कृषि उत्पादनमा युवाको आकर्षण बढाउने र युवाहरुलाई विदेशीनबाट रोक्ने मेलाको मुख्य लक्ष्य रहेको प्रतिष्ठानले बताएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले कृषिमा बैज्ञानिकता, आधुनिकता र व्यवहारिकता ल्याउनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले कृषिप्रधान मुलुक कृषिमै आत्मनिर्भर हुन नसक्नु दुःखद विषय भएको बताए ।

‘कृषि योग्य जमिन बाझों राखेर लाखौं युवाहरु रोजगारीकै खोजिमा विदेश पलायन भएका छन् । केही भए गरेका कृषि उत्पादन पनि परम्परागत कृषि पद्धतीका कारण न्यून उत्पादन छ’, उनले भने, ‘यस्तो परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्दै अब कृषिमा बैज्ञानिकता ल्याउनु पर्छ । अनिमात्र कृषिमा क्रान्ति आउँछ र देशको अर्थतन्त्र मजबुत हुन्छ । यस मेलाको लक्ष्य र उद्देश्य पनि यहि हो । यसले देशको कृषि उत्पादनमा टेवा पु¥याउने छ ।’नुवाकोट जिल्लाका दुई नगरपालिका सहित १० गाउँपालिका र छिमेकी तीन जिल्ला रसुवा, धादिङ र काठमाडौं समेत समेट्ने गरि मेलाको आयोजना गरिएको बोगटी स्मृति प्रतिष्ठानले जनाएको छ । कुल ४० स्टल रहने मेलामा प्राथमिकताका आधारमा नुवाकोटका १२ स्थानिय तहलाई एक–एक वटा स्टल निःशुल्क उपलब्ध गराइएको र बाँकी स्टलहरु व्यवसायीक मागका आधारमा उपलब्ध गराइने प्रतिष्ठानका उपाध्यक्ष तथा मेला आयोजक समितिका संयोजक हितबहादुर तामाङ्गले जानकारी दिए ।

Advertisement

मेलामा स्थानीय कृषि उत्पादन, कृषि सामाग्री र कृषि परामर्श केन्द्रका स्टलहरु रहने संयोजक तामाङ्गले बताएका छन् । यस्तै जिल्लाको विशेष कृषि उत्पादन ट्राउण्ट माछाको समेत अवलोकन गर्न सकिने उनले जानकारी दिए । ५ दिनसम्म चल्ने उक्त कृषि प्रदर्शनी मेलामा ४० देखि ५० हजार अवलोककर्ताहरुको सहभागिता रहने र २ करोड भन्दा माथिको आर्थिक कारोबार हुने आयोजक समितिले विश्वास व्यक्त गरेको छ ।  मेलाको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गर्ने छन् भने प्रदर्शनीमा पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेता चक्रपाणि खनाल लगायतका विशिष्ट नेता तथा कलाकारहरुको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ ।

 

Advertisement

प्रतिक्रिया