रसुवामा गाउँबाटै नागरिकताको प्रतिलिपि वितरण शुरु

विदुर खबर २०७५ मंसिर २२ गते १३:०८

जिल्ला प्रशासन कार्यालय रसुवाले गाउँबाटै प्रतिलिपि नागरिकता वितरण सुरु गरेको छ ।
२०५५ साल यता जारी भएका नागरिकताको प्रतिलिपि जिल्लाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङबाट वितरण सुरु गरेको हो । गाउँबाट सदरमुकाम सम्म पुग्नका लागि नागरिकलाई कठिन हुने भएकाले गाउँबाट पहिलो पटक प्रतिलिपि नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।जिल्लामा पछिल्लो समय प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएपछि व्यापारिक कारोबार गर्नका लागि नागरिकले प्रतिलिपि लिने गरेका प्रजिअ पौडेलले बताए । रसुवाका नौ हजारभन्दा बढी नागरिकले नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका छन् ।
नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा जिल्लाका ९ हजार ६ सय १४ जनाले लिएका रसुवागढी अध्यामगन कार्यालयले जनाएको छ । चाइना पास लिनका लागि नेपाली तथा अंग्रजी दुबै भाषामा लेखिएको नागरिकता हुनु पर्छ ।
पुरानो नागरिकता हस्तलिखित रहेको छ । नागरिकता हराएका, प्राकृतिक प्रकोपमा परेर क्षति भएका, दुबै भाषामा नागरिकता चाहिएमा र हस्त लिखितलाई कम्प्युटरराइज गर्नका लागि प्रतिलिपि नागरिकता बनाउने गरेको कार्यालयले जनाएको छ ।
 शिविरमा नयाँ नागरिकता जारी गर्ने, प्रतिलिपी नागकरिता बनाउने कपाल काट्ने, आँखा परीक्षण र कानुनी सेवा थप गरिएको छ। यसअघि दिँदै आएका सीम कार्ड वितरण, बिउविजन वितरण, परामर्श लगायतका सेवालाई निरन्तरता दिइएको छ ।
शिविरमा जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाल टेलिकम, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा), सिँचाई विकास सव डिभजन कार्यालय लगायतले सेवा दिई रहेका छन् ।
कार्यालयले चालु आर्थिक वर्ष्भित्र सञ्चालन गर्ने चारवटा शिविरमध्य पहिलो शिविर नौकुण्डबाट सञ्चालन गरेको हो । गाउँबाटै सबै सेवा पाएपछि नागरिक खुशी भएका छन् । पहिलेको भन्दा केही सेवा थप भएकोले सेवाग्राहीको चाप बढेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन् । शिविर शनिबार र आइतबार सञ्चालन हुने बताइएको छ ।

Advertisement

प्रतिक्रिया