क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना

विदुर खबर २०८३ असोज ८ गते १९:४२
लेखक : सिताराम पौडेल ।

२०७२ सलको भुकम्पको घाउ पुरा निको नहुँदै नेपालको विपद् इतिहासमा फेरि एउटा कहालीलाग्दो दिन थपियो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढी केही समयमै त्रिशूली नदी हुँदै तलतिर फैलियो र रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म ठूलो मानवीय तथा भौतिक क्षति पु¥यायो। प्रारम्भिक सरकारी आकलनअनुसार पाँच जिल्लाका १५ स्थानीय तहमा गरी करिब ३२ हजार ९६३ जना प्रभावित भएका छन् ।

Advertisement

यो बाढीले केवल नदीको धार परिवर्तन गरेन, यसले हजारौँ मानिसको जीवनको धार नै परिवर्तन गरिदियो , प्रारम्भिक विवरणअनुसार ७ हजार ५७० घरमा क्षति पुगेको छ । तीमध्ये नुवाकोटमा मात्रै ३ हजार ९७७, रसुवामा १ हजार ७७९ र धादिङमा १ हजार ४५१ घर प्रभावित भएका छन् । कुल ८ हजार ३१७ घरपरिवार प्रभावित भएको विवरण छ , ति घरहरु केवल माटो, इँटा, ढुंगा र सिमेन्टले बनेको संरचना होइन। त्यो मानिसको वर्षौँको मेहनत, परिवारका सम्झना र भविष्यका सपनाले बनेको संसार हो । त्यसैले एउटा घर बग्नु भनेको एउटा संरचना हराउनु मात्र होइन—एउटा परिवारको जीवनको ठूलो हिस्सा आशा भरोसा र भबिश्य हराउनु हो ।

बाढीले सरकारी तथा सार्वजनिक संरचनामा पनि ठूलो क्षति पु¥याएको छ । प्रारम्भिक विवरणमा ४८ सरकारी संरचना, १८ विद्यालय र सात स्वास्थ्य संस्थामा क्षति पुगेको उल्लेख छ। सडकतर्फ करिब ५५ किलोमिटर सडक, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ, कृषि क्षेत्रमा पनि क्षति कम छैन।

Advertisement

करिब १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन प्रभावित भएको र त्यसबाट करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

ऊर्जा क्षेत्रमा परेको क्षति झन् गम्भीर छ । प्रारम्भिक विवरणअनुसार १३ जलविद्युत् आयोजना, दुई बिशाल सोलार प्लान्ट र दुई प्रसारण लाइन प्रभावित भएका छन् र करिब ७८३ मेगावाट विद्युत् उत्पादनमा असर परेको छ । रसुवामा मात्रै आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

Advertisement

भोटेकोशी बाढीले घर, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा मात्र क्षति पु¥याएन, स्थानीय अर्थतन्त्रको मेरुदण्ड मानिएका हजारौँ व्यवसाय र निजी क्षेत्रलाई समेत गम्भीर रूपमा प्रभावित बनाएको छ। प्रारम्भिक सरकारी आकलनअनुसार बाढीबाट करिब ४०८ अर्ब रुपैयाँ बराबरको समग्र क्षति तथा आर्थिक नोक्सानी भएको छ, जसको दुई–तिहाइभन्दा बढी हिस्सा निजी क्षेत्रतर्फ परेको छ। बाढीबाट करिब ४,८०० व्यवसाय प्रभावित तथा क्षतिग्रस्त भएका छन्।

पर्यटन व्यवसायमा मात्रै करिब ५२ अर्ब १३ करोड रुपैयाँ बराबरको क्षति तथा नोक्सानी अनुमान गरिएको छ भने २०७ वटा होटल तथा रेस्टुरेन्ट प्रभावित भएका छन, होटल क्षेत्रमा मात्रै करिब १९ अर्ब ५६ करोड रुपैयाँ र रेस्टुरेन्ट क्षेत्रमा थप १ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति तथा नोक्सानी अनुमान गरिएको छ। त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रका १२ वटा संस्थाका १७ शाखा प्रभावित भएका छन् र बैंकिङ क्षेत्रमा सम्पत्ति तथा नगदसमेत गरी करिब ९१ करोड ९९ लाख रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको प्रारम्भिक विवरण छ।

कृषि तथा पशुपालन क्षेत्रमा पनि बाढीको असर गम्भीर देखिएको छ, जहाँ बालीमा करिब १ अर्ब ९ करोड रुपैयाँ र पशुधनमा करिब १ अर्ब ११ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ। सञ्चार क्षेत्रमा समेत ३ वटा नेपाल टेलिकम र १ वटा एनसेल टावर क्षतिग्रस्त हुँदा करिब ६२ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको अनुमान गरिएको छ। यसरी हेर्दा भोटेकोशी बाढीले तत्कालीन भौतिक संरचना र सम्पत्तिमा मात्र क्षति पु¥याएको नभई व्यवसाय, रोजगारी, उत्पादन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत गहिरो प्रभाव पारेको देखिन्छ।

यी सबै तथ्यांकभन्दा ठूलो छ—मानवीय क्षतिको पीडा,बाढीमा परी धेरै मानिसको मृत्यु भयो, धेरै अझै बेपत्ता छन् र हजारौँ घाइते तथा प्रभावित भएका छन्। असोज ७ गते सम्मको सरकारी अद्यावधिकमा १,४५१ जनाको मृत्यु/क्षतिको व्यवस्थापन भएको र ६,१५० जना अझै बेपत्ता रहेको उल्लेख छ। यी तथ्यांक उद्धार तथा पहिचानको कामसँगै परिवर्तन भइरहेका छन् ,बेपत्ता व्यक्तिका परिवारका लागि प्रत्येक बितेको दिन एउटा प्रश्न बनेको छ—æहाम्रो मान्छे कहाँ छ?Æ यही हो भोटेकोशी बाढीको सबैभन्दा गहिरो पीडा ।

बाढीले विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल, विद्युत् आयोजना र व्यापारिक संरचना बगाउँदा त्यसको असर केवल आजमा सीमित हुँदैन। बालबालिकाको पढाइ प्रभावित हुन्छ, बिरामीले उपचार पाउन कठिन हुन्छ, व्यवसायीको आम्दानी रोकिन्छ, किसानको उत्पादन नष्ट हुन्छ र प्रभावित परिवारको पुनःस्थापनामा लामो समय लाग्छ, बाढीपछि पनि पीडितको संघर्ष सकिएको छैन । अहिले उनीहरूको अगाडि अर्को ठूलो चुनौती छ—घर कहाँ बनाउने, परिवार कसरी पाल्ने, बालबालिकालाई कसरी पढाउने र गुमेको जीवन फेरि कसरी सुरु गर्ने?

सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवी संस्था र स्थानीय समुदाय उद्धार तथा राहतमा जुटिरहेका छन्। हजारौँ मानिसको उद्धार गरिएको छ र खोजी कार्य अझै जारी छ। तर यति ठूलो विपत्तिपछि सामान्य जीवनमा फर्किन समय लाग्ने निश्चित छ, भोटेकोशीको बाढीले हामीलाई एउटा कठोर सत्य सम्झाएको छ—प्राकृतिक विपत्ति आउँदा सबैभन्दा पहिले मानिसको जीवन नै जोखिममा पर्छ । त्यसपछि घर, सडक, पुल, विद्युत्, कृषि, व्यापार र सम्पूर्ण स्थानीय अर्थतन्त्र प्रभावित हुन्छ ।

त्यसैले भदौ १० लाई केवल एउटा बाढी आएको दिनका रूपमा सम्झेर पुग्दैन,यो दिनलाई हामीले विपद् पूर्वतयारी, सुरक्षित बस्ती, प्रभावकारी पूर्वसूचना प्रणाली, जोखिमयुक्त क्षेत्रमा संरचना निर्माण र आपत्कालीन उद्धार क्षमताबारे गम्भीर रूपमा सोच्ने दिनका रूपमा लिनुपर्छ ।

आज भोटेकोशी र त्रिशूली किनारमा देखिएका भग्नावशेष केवल ढुंगा–माटोका थुप्रा होइनन्। ती हजारौँ परिवारका अधुरा सपना हुन् तसर्थ भोटेकोशीले छोडेको घाउ निको हुन समय लाग्नेछ । तर पीडित परिवारको साथमा राज्य, समाज र हरेक नागरिक उभिन सकेमा भग्नावशेषबाट फेरि जीवन उठाउन सकिन्छ ।

भोटेकोशी बगेको त्यो दिन इतिहासमा रहनेछ—बाढीको रूपमा मात्र होइन, मानव जीवन, प्रकृति र विपद् तयारीबारे हामीलाई दिएको एउटा कठोर चेतावनीका रूपमा ।

-नोट–यी तथ्यांकहरू सेप्टेम्बर १५ देखि १७, २०२६ सम्म बिभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका प्रारम्भिक मूल्यांकनमा आधारित भएकाले अन्तिम क्षति विवरणपछि केही परिवर्तन हुन सक्नेछ ।)

लेखक सिताराम पौडेल हुन् । उनी आई.एम.ई. लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, नुवाकोटका रिजनल म्यानेजर हुन् ।


प्रतिक्रिया