चीनमा नेपाली मुडाको माग बढ्यो, तीन महिनामा २९ लाखको बाँसको मुडा निर्यात

विदुर खबर २०७५ कार्तिक १५ गते १४:५८

रसुवा, चीनको विभिन्न सहरमा नेपालमा उत्पादन गरिएको बाँसको मुडाको माग बढ्दै गएको छ ।

Advertisement

गत वर्षको तुलनामा यो वर्ष बाँसको मुडाको निर्यात बढेको छ । चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी हुँदै आर्थिक वर्षको पहिलो तीन महिनामा २९ लाख भन्दा बढीको बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर २९ लाख ४ हजार ८ सय २५ रुपयाँ मूल्यको बाँसको मुडा चीनतर्फ निर्यात गरिएको हो । गत साउनदेखि असोज मसान्तसम्ममा १० हजार ५ सय ३६ वटा मुडा चीनतर्फ निर्यात भएको छ ।

नेपालमा उत्पादन भएको मुडा चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्रीमा लैजाने गरिएको केरुङमा रहेका नेपाली व्यावसायी पुरुषोत्तम पौडेलले बताए । पौडेलका अनुसार सुनसरी, काठमाडौँ र धादिङको कारगारबाट उत्पादन भएको मुडा लैजाने गरिएको छ । ‘अन्य कारागारबाट पनि मुडा संकलन हुने गरेको छ, पौडेलले भने, तर यी तीन जिल्लाबाट बढी संकलन हुन्छ ।’ नेपालमा उत्पादन भएको मुडा चीनमा निर्यात गर्ने व्यापारीमा मुकुन्द पौडेल, बुद्धीप्रसाद पौडेल र राजु प्याकुरेल रहेका छन् ।

Advertisement

आर्थिक वर्ष २०७३÷७४ मा एक करोड २० लाख १५ हजार रुपयाँ बराबरको २१ हजार ४ सय ५५ वटा र गत वर्ष ३१ लाख २० हजार मूल्य बराबरको १२ हजार ८ सय ८० वटा मुडा निर्यात भएको कार्यालयको तथ्याङ्क छ । नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको हुँदै आएको छ । कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो तीन महिनामा ८ हजार १३ किलो काठको क्यारझुल, १ हजार २ सय ९३ किलो ह्याण्डी क्राफ्ट, ९ सय २५ किलो काठका विविध सामग्री, ५० किलो बाँसको नाङ्लो, १ सय ४४ किलो बुद्ध चित्त माला र ५० किलो रुद्राक्ष निर्यात भएको छ । यो नाका हुुँदै सामग्री निर्यात हुने क्रम बढेको प्लान्ट क्वारेन्टाइन अधिकृत राधेश्याम बराईले बताए । ‘यहाँबाट विशेषगरी कृषि तथा वनजन्य सामग्री निर्यात हुन्छ, उनले भने, यसका लागि गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्छ ।’

 

Advertisement

प्रतिक्रिया