गृहमन्त्री बादलः काण्ड धेरै, काम कम !

विदुर खबर २०७४ फागुन १४ गते १२:०९

१४ फागुन, काठमाडौं । माओवादी नेता रामबहादुर थापा (बादल) रक्षामन्त्री रहेकै बेला ०६६ सालमा ‘कटवाल प्रकरण’ भयो र यही कारणले प्रचण्ड नेतृत्वको सरकारै गल्र्यामगुर्लुम ढल्यो । त्यो घटनालाई माओवादी नेताहरुले ‘भारतीय डिजाइन’ मा गरिएको षडयन्त्रका रुपमा व्याख्या गर्दै आएका छन् । अरुले चाहिँ यसलाई प्रचण्ड र बादलको अपरिपक्व कामका रुपमा हेर्ने गरेका छन् । गृहमन्त्री बादलसँग उनले नेपाल र नेपालीका लागि यस्तो उदाहरणीय काम गरेका छन् भनेर देखाउनका लागि ‘जनयुद्ध’ बाहेक अर्को गतिलो उदाहरण छैन । बरु उनको नाम सम्झँदा धेरैले उहीँ ‘कटवाल काण्ड’ लाई सम्झन्छन् र उनीबारे पर्सेप्सन बनाउने गर्छन् ।

Advertisement

माओवादी कार्यकर्ताहरुले चाहिँ बादललाई सम्झँदा उनीमाथि लागेको यौनकाण्ड, ‘लिन प्याओवादी’ को आरोप अनि माओवादी पार्टी फुटाएको ‘गम्भीर भूल’लाई सम्झने गर्छन् ।

तिनै काण्ड र जनमानसमा रहेका आशंकाका वीचमा अहिले माओवादी नेता बादल देशको गृहमन्त्री बनेका छन् । अब उनलाई आफूमाथि लागेका आरोपहरु पखाल्ने र देशको हितमा केही स्मरणीय कामहरु गरेर देखाउने ऐतिहासिक अवसर पनि प्राप्त भएको छ ।

Advertisement

तथापि वादलको विगतको मन्त्रित्वकाल उदाहरणीय छैन । आफ्नै छोरालाई पीए बनाएको देखि अनेकन गुनासाहरु बजारमा छाडेका छन् उनले पहिलो मन्त्रित्वकालमा ।

‘इण्डियन आर्मी’ का छोरा

Advertisement

गृहमन्त्री रामबहादुर थापाको भारतसँगको सम्बन्ध वाल्यकालदेखिकै हो । अझ, अघिल्लो पुस्तादेखिकै हो भन्दा पनि हुन्छ । बादलले आफ्नो वाल्यकालीन शिक्षा पनि भारतमै लिएका हुन् । उनका पिता कर्णबहादुर थापाले भारतको सेवामा धेरै पसीना बगाएका छन् ।

बादलका पीता कर्णबहादुर थापा इण्डियन आर्मीको लेफ्टिनेन्ट कर्णेलबाट अवकाशप्राप्त व्यक्ति हुन् । भारत सरकारले दिने तलब र पेन्सनकै आधारमा कर्णबहादुरले बादललाई शिक्षादीक्षा दिलाए ।

बादलको जन्म २०१२ साल बैशाख १९ गते गुल्मीमा भएको हो । पीता कर्णबहादुर थापा र माता नन्दकुमारीका १४ सन्तानमध्ये बादल जेठा हुन् ।

चौध सन्तानमध्ये ७ जनामात्रै जीवित रहेकोमा बादलका माइला भाइ चोपबहादुर र साहिँला भाइ पनि इण्डियन आर्मी हुन् । माइला भारतीय सेनाको मेजरसम्म भए भने साहिँला चाहिँ वीचैमा जागिर छाडेर हङकङमा सेक्युरिटी गार्ड गर्न गए । कान्छा इन्द्रबहादुर थापा भारतीय सेनामा लागेनन् । उनले चितवनमै मास्टरी पेसा अँगाले ।

परिवारका जेठा छोरा रामबहादुर थापा चाहिँ पढाइमा निकै तेज थिए । यद्यपि उनको ०३१ सालको एसएलसी भने दोस्रो श्रेणीको हो ।

भारतीय सेनामा पिताको जागिरका कारण बादलले प्रारम्भिक शिक्षा भारतमा लिए । बादलले सिलङका कक्षा १ अध्ययन गरे भने ४ कक्षासम्म देहरादूनमा र त्यसपछि कक्षा ८ सम्म हैदरावादमा पढे ।

वीचैमा पिताजीले पेन्सन पकाएपछि उनीहरुको परिवार चितवनमा बसोबास गर्न थाल्यो । र, बादलले चितवनबाटै एसएलसी उत्तीर्ण गरे ।
बादलका पीताले भारत सरकारको राम्रो सेवा गरेका छन् । सन् १९६२ मा चीन र भारतवीच युद्ध हुँदा बादलका पिता कर्णबहादुर थापा करिब ६ महिना युद्धवन्दी बनेका थिए । त्यहाँबाट छुटेपछि उनी देहरादून सरुवा भए । र, पछि हैदरावादबाट रिटायर्ड भए । कर्णबहादुरले भारत र पाकिस्तानवीचको लडाइँमा पनि सहभागी भएर भारतको सेवा गरे । – स्रोत- जनयुद्धका नायकहरु

प्रचण्डसँग भेट, शोभियत संघ प्रस्थान

एसएलसी पास गरेपछि बादल छात्रवृत्तिको कोटामा चितवनको रामपुर कृषि क्याम्पसमा भर्ना भए । त्यही कलेजमा बादल र प्रचण्डवीच भेट भयो । प्रचण्ड पनि त्यही कलेजमा पढ्न गएका थिए । प्रचण्डको परिवार कास्कीको ढिकुरपोखरीबाट २०१९ सालमा चितवन बसाइँ सरेको थियो ।

०३१ सालमा कलेजमा भेटभएका प्रचण्ड र बादल केही अवरोहका वीच अहिलेसम्म साथी छन् । जनयुद्धमा पनि उनीहरु साथमै थिए । र, अहिले उनै प्रचण्डको सिफारिसमा बादल गृहमन्त्री बन्न सफल भएका छन् ।

रामपुर कलेजमा भेट भएपछि वादल पनि प्रचण्डसँगै राजनीतिमा लागे । सुरुमा मार्क्सवादी अध्ययन समूह बनाएका उनीहरुले अमिक शेरचनका हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिए । बादलले ०४२ सालमा प्रचण्डको प्रस्तावमा अमिक शेरचनबाट सदस्यता लिएका हुन् ।

तर, आईएस्सी पढिसकेपछि बादल र प्रचण्ड केही समय छुट्टएि । किनभने बादल सरकारको छात्रवृत्ति पाएर शोभियतसंघमा पढ्न गए ।

सबेला कम्युनिष्ट मुलुक रसियाबाट नेपालमा छात्रवृत्ति कोटा आउँथ्यो । यही क्रममा बादल लुमुम्बा विश्वविद्यालयमा बाली विज्ञान अध्ययनका लागि भर्ना भए । तर, उनी आफ्नो अध्ययन पूरा गर्न नसकी नेपाल फर्किए ।

बादलले रसियामा अध्ययन गरिरहेका बेला त्यहाँ माधव पौडेल, प्रकाश अधिकारी -मनमोहन अधिकारीका छोरा० र अर्जुनबहादुर थापा लगायतका नेपाली छात्रहरु थिए ।

बादलले रसियामा पढ्दै गर्दा नेपालमा ०३६ सालको विद्यार्थी आन्दोलन चलिरहेको थियो । उता रसियामा पनि नेपाली दूतावास घेराउ गर्ने लगायतका कार्यक्रम भएका थिए, जहाँ बादल सहभागी भए । उनले केही समय खर्च जुटाउनका लागि काजकिस्तानमा श्रमसमेत गरे ।

बाग्लुङकी नैनकला थापा शिक्षिका थिइन् । तिनै थापासँग ०४० सालमा बादलको विवाह भयो । बिवाह हुँदा बादल २९ वर्षका थिए भने नैनकला २१ वर्षकी थिइन् । शान्ति प्रक्रियामा आएपछि बादलपत्नी नैनकला केही समय महिला आयोगको अध्यक्ष बनिन् ।

चिववनमा रहेको पिताको अढाइ बिघा जमीन अंशवण्डापछि घडेरीमा परिणत भयो । र, त्यहीँको एक टुक्रामा नैनकलाको मास्टरी गरेको तलबबाट बादल परिवारले घर बनायो ।

राजनीतिक यात्रा

पढाइ पूरा नगरी नेपाल फर्केपछि प्रचण्डसँग सम्पर्क गरेर बादल कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय भए ।

०३७ सालमा पार्टी सदस्यका लागि निवेदन दिँदा बादलको नाम ‘लालसिंह’ राखिएको थियो । ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनाव बहिस्कारमा लागेका बादल पक्राउ परे । भरतपुर र वीरगञ्जको जेलमा ९र१० महिना बसेपछि उनी छुटे ।

निर्मल लामा र मोहनविक्रमहरुसँग पार्टी फुटिसकेपछि बनेको नेकपा (मशाल) नामको चोइटोमा बादल आवद्ध भए । र, उनी ०४२ सालमा मशालको केन्द्रीय सदस्य बने । सुरुमा बादललाई राप्ती अञ्चलको जिम्मेवारी दिइएको थियो । ०४४ सालमा उनी वाग्मतीको इञ्चार्ज बने । ०४३ सालको सेक्टर काण्डमा मुछिएका देव गुरुङलाई वाग्मतीबाट गण्डकी पठाइयो । १० वर्षपछि ०५२ सालमा जनयुद्धमा प्रचण्डसँगै वादल पनि होमिए ।

जनयुद्धकालमा बादल खुबै लोकपि्रय बने । रुकुम रोल्पामा ‘किलो शेरा टु’ लगायतका सरकारी अप्रेसनहरुमा प्रहरीको घेरा तोड्न सफलता पाएको भन्दै बादलको चर्चा गर्ने गरिएको थियो ।

तर, जनयुद्ध सुरु भएको करिब डेढवर्ष पछि नै रामबहादुर थापा वादल पार्टीभित्र ‘यौन कारवाही’ मा परे । पत्नी नैनकला थापाले पार्टी हेडक्वार्टरमा दिएको उजुरीका आधारमा बादलमाथि कारवाही गरिएको थियो । भारतमा निर्वासित अवस्थामा रहेका बादललाई कारवाही गराउन प्रचण्डपत्नी सीता दाहालले समेत सक्रियता देखाएकी थिइन् ।

बादललाई एकजना महिला कामरेडसँग अनुचित यौन सम्बन्ध राखेका आधारमा सांस्कृतिक विचलनमा कारवाही गरिएको थियो । तर, उनलाई पार्टीले थप आरोप पनि लगाउँदै ‘लिन प्याओवादी’ भएको आरोप लगाइयो । र, यो विषय माओवादीको दस्तावेजमै समावेश गरियो ।

तर, कारवाही भोगिसकेपछि वादल पार्टीमा निरन्तर अघि बढे । शान्ति प्रक्रियामा आएपछि उनी पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा रक्षामन्त्री बने ।

बादल रक्षामन्त्री भएका बेला नेपाली सेनासँग उनको सम्बन्ध राम्रो रहन सकेन । र, कटवाल प्रकरणपछि सरकार नै ढल्यो ।

यसवीचमा रामबहादुर थापा वादल पार्टी फुटाएर मोहन वैद्यतिर लागे । र, वैद्य समूहको महासचिव बने । वैद्य समूहमा रहेका बेला उनको ‘परफरमेन्स’ निकै नै कमजोर देखियो । अन्ततः पार्टी निकै कमजोर बनेपछि उनी केही सहयोगीहरु लिएर फेरि प्रचण्डको पार्टीमै फर्किए ।

र, प्रचण्डलाई क्रान्तिकारी बनाउने भन्दै फर्किएका बादल नेकपा एमालेस ँगको पार्टी एकताको अभियन्ता मात्रै बनेनन्, यसैको बलमा गृहमन्त्री बन्न सफल भए ।

जनयुद्धमा बहादुर नेताका रुपमा प्रचारमा आए पनि शान्तिपूर्ण राजनीतिमा भने खासै जम्न नसकेका, अझ असफल बनेका नेता हुन् वादल ।
मिडियासFग सधैं तर्कने र सम्पर्क नै गर्न नचाहने उनी जनसम्पर्कमा निकै कमजोर मानिन्छन् । तर, पार्टीभित्र संगठन विभाग सम्हालेका कारण उनी प्रचण्डको समानान्तर नेता बन्न पुगेका छन् । विशेष गरी उनी आफ्नो गुटको संरक्षण गर्ने नेता मानिन्छन् ।

मोहन वैद्य समूहलाई छाडेर प्रचण्डसँग पुनर्मिलन गर्दैगर्दा बादलले प्रचण्ड समूहलाई समेत क्रान्तिकारी बनाउने बताएका थिए । तर, अहिले उनी माओवादी केन्द्रलाई एमालेमा मिसाउने अभियन्ता बनेका छन् ।

बादलले केपी ओलीसँग पनि राम्रो सम्बन्ध बनाएका छन् । विशेष गरी माओवादीले ६०र४० को भागवण्डाको कुरा गरिरहेका बेला बादलले सहजै ७०र३० मा सहमति जनाइदिएपछि ओलीले बादललाई ‘सजिलो नेता’ भन्न थालेको स्रोत बताउँछ ।

प्रतिक्रिया