बिर्ता र सुकुमबासी समस्या समाधान गर्न गाउँपालिकाको ध्यानाकर्षण

विदुर खबर २०७५ असोज ११ गते ११:५६

Advertisement

रसुवा असोज ११, रसुवामा रहेका बिर्ता र सुकुमबासीहरुको समस्या समाधानको माग गर्दै गाउँपालिकाको ध्यानाकर्षण गरिएको छ । जिल्लाको कालिका गाउँपालिका क्षेत्रमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न बुधबार कालिका गाउँपालिकाको ध्यानाकर्षण गराइएको हो ।

कृषि औजार सहित प्रदर्शन गर्दै गाउँपालिका पुगेका बिर्ता तथा सुकुम्बासी लगायतको टोलिले गाउँपालिकाका अध्यक्ष सिता अधिकारीलाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको जिल्ला भूमि अधिकार मञ्च, रसुवाका अध्यक्ष टंकल बहादुर नगरकोटीले बताए । उनले भने जिल्ला भूमि अधिकार मञ्च र कालिका गाउँपालिकास्तरीय भूमि अधिकार मञ्चको संयुक्त पहलमा करिव २५० जनाको सहभागितामा कृषि औजारी प्रदर्शन गरी समस्याको समाधान गर्न माग गर्दै  ज्ञापनपत्र बुझाएका छौँ,

Advertisement

यस्तै उत्तरगया र नौकुण्ड गाउँपालिका क्षेत्रमा रहेका गाउँ भूमि अधिकार मञ्चका अगुवाहरूले समेत बिर्ता र सुकुमबासीहरुको समस्या समाधानका लागि सुरु गरिएको अभियानमा ऐक्यवद्धता जनाएको जिल्ला भुमि अधिकार मञ्च रसुवाले जनाएको छ ।  गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले चुनावमा भूमिसम्बन्धि सबै समस्या समाधान गर्ने गरि चुनावी घोषणापत्रमा उल्लेख गरेको भएपनि हालसम्म भूमिसम्बन्धि कुनै पनि समस्या समाधानको प्रक्रिया थालनी नगरेपछि उनीहरूको ध्यानकर्षण गराउँदै यथासक्य समस्या समाधानको माग गर्दै प्रदर्शन सहित गाउँपालिकालाई ज्ञापनपत्र बुझाइएको जिल्ला भुमिअधिकार मञ्च रसुवाका बिश्वास नेपालीले बताए । यस्तै पछिल्लो समय बिर्ता जग्गा आफ्नो बनाउन र केही व्यक्तिहरूले खरिद गरी नयाँ जग्गाधनीहरू बन्ने जस्ता क्रियाकलाप हुन थालेकाले यस्तो समस्या समाधान गर्नको लागि पालिका तहबाट समस्या समाधान खोज्न माग गरिएको छ । ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष सीता अधिकारी र उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले आफूहरूले चुनावमा गरेको बाचा अनुसार भूमि सम्बन्धि सम्पूर्ण समस्या समाधान गरिने बताए । गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरी उपयुक्त कानुन बनाई आफ्नो पालिका क्षेत्रभित्र रहेको भूमिसम्बन्धि मुख्य समस्याहरू बिर्ता र सुकुमबासी सवाल टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement

नेपालमा कानुनी हिसावले बिर्ता प्रथा उन्मूलन गरिएको ६० वर्ष लाग्यो । राजधानी  काठमाण्डौबाट नजिक रहेको रसुवाका किसानले भने अझै बिर्ता जग्गा सम्बन्धि समस्या झेलिरहनु परेको छ । साविकको धैबुङ, भोर्ले र लहरेपौवा गाविसका ७ सय १८ परिवारले जोतभोग गरेका करिव १ हजार ४ सय ६९ रोपनी जमिन बिर्ता अन्तर्गत छ । अधिकांश बिर्ता पीडित किसानहरू कालिका गाउँपालिका क्षेत्रभित्र रहेको जिल्ला भुमिअधिकार मञ्च रसुवाले जनाएको छ ।

प्रतिक्रिया