सान्जेनको काम अन्तिम चरणमा, फागुन अन्तिम साताबाट परीक्षण सुरु गर्ने

विदुर खबर २०८० मंसिर २८ गते ९:५७

नुवाकोट । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले २०७० सालदेखी निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

Advertisement

अहिले आयोजनाको अन्तिम चरणकाे छुटफुट काम भइरहेको आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताए । उनले आयोजनाको सबै काम पूरा गरेर फागुन अन्तिम सातादेखि परीक्षण सुरु गर्ने लक्ष्य रहेकाे जानकारी दिए । हेडरेस तथा पेनस्टक पाइपको परीक्षण भने सुरु गर्ने तयारी भइरहेको जानकारी दिँदै सिंहले पुस १५ गतेभित्र सुरुङमा पानी भर्ने बताए ।

‘आयोजनाको सिभिल संरचनाको शतप्रतिशत निर्माण सकिएको छ,’ उनले भने, ‘इलेक्ट्रो मेकानिकल उपकरण जडानकाे काम ८५.४४ प्रतिशत, सिभिल तथा हाइड्रो मेकानिकल तर्फ ९६.४७ प्रतिशत निर्माण पुरा भएको छ । आयोजनाको बाँकी काम ३ महिनाभित्र पूरा गरी अन्य संरचनाको पनि परीक्षण सुरु गर्ने योजनाअनुरुप काम भइरहेको सिंहले जानकारी दिए ।

Advertisement

आयोजनाको काम पूरा भएपछि उत्पादित विद्युत् २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब-सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम भने पुरा भइसकेको छ ।  आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर निर्माणमा ढिलाई, डलरको मूल्यवृद्धि र मुद्रास्फिती लगायतका कारणले यो आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।

आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । तर, यसअघि नै झेल्नुपरेको भुकम्प, बाढि पहिरो, नाकाबन्दी, विभिन्न सरकारी तथा गैर–सरकारी निकायबाट पाउनुपर्ने स्वीकृतमा ढिलाइ, ठेकेदारको कार्यसम्पादनमा ढिलाई तथा कोभिड–१९ लगायत विविध कारणले गर्दा आयोजना सम्पन्न हुने मिति लम्बिदै गएको पनि कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीले रसुवा मै १४.८ मेगावाटको माथिल्लो सान्जेन खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजनाले २०८० असोजदेखि विद्युत् उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया