रसुवाको गोसाईकुण्डको गज्जव कामः कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क
रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिकाले शिक्षा क्षेत्रमा अनुकरणीय काम गरेको पाइएको छ । गाउँपालिकाले केन्द्रीय विद्यालयको अवधारणा अनुसार कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क गरेको छ ।
गाउँपालिकाले गत वर्ष थोरै संख्यामा विद्यार्थीलाई पढाएर यो कार्यक्रमको अवधारणा कार्यान्वयन गरेको थियो । गत वर्षको कार्यक्रम कार्यान्वयनबाट धेरैको चासो बढेको र माग पनि बढेपछि यसपाली कार्यक्रम थप विस्तार गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।
‘गत वर्ष हामीले ५० जना विद्यार्थीलाई सामुदायिक विद्यालयमै बस्ने, खाने लगाउने र पढ्नेसहितको व्यवस्था मिलाएका थियौं, यो सबै निःशुल्क हो । यसपाली थप गरेर १०० जना विद्यार्थीको लागि यस्तो कार्यक्रम ल्याइएको छ । पोहोरको कार्यक्रमबाट राम्रो नतिजा निस्कियो र जनताले माग पनि धेरै गरे, त्यसैले यसपालि बढाएका हौं,’ अध्यक्ष तामाङले भने ।
नेपालको संविधानमा नै विद्यालयतहसम्मको शिक्षा निःशुल्क हुने भन्ने व्यवस्था छ । र, विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । संविधानमा भएको यो व्यवस्था र विकसित देशहरुले अवलम्बन गरेको विधिका आधारमा आफूले पनि आवाशीय सामुदायिक विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याएको अध्यक्ष तामाङको भनाइ छ ।
‘सन २०१९ मा म निजी भ्रमणको सिलसिलामा युरोप पुगेको थिएँ । त्यहाँ आवश्यकता कसरी थाहा पाउने, प्राथमिकता के कस्ता कामलाई दिने र त्यसको लागि आवश्यक स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने जस्ता विषयमा युरोपमा भएका मेरा साथीहरु र त्यहीँका नगरपालिकाका प्रतिनिधिहरुसँग छलफल भएको थियो । त्यो छलफलमा शिक्षा सम्बन्धी विषय पनि आएको थियो, जुन मलाई निकै मन परेको थियो । त्यसैले मैले शिक्षा सम्बन्धी मेरो अवधारणा चुनावी प्रतिवद्धतापत्रमा पनि लेख्न लगाएँ र निर्वाचित भएपछि कार्यान्वयन गरेको हुँ,’ अध्यक्ष तामाङले भने ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यार्थीबीच छात्रबास छनोट परीक्षा लिने गर्छ । यस्तो परीक्षामा बढी नम्बर ल्याउने र आरक्षित वर्गलाई समेटेर गाउँपालिकाले विद्यार्थी छनोट गर्छ । प्रत्येक वर्षको शैक्षिक सत्र सुरु हुनुअघि यस्तो परीक्षा संचालन गरिने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णबहादुर खत्री बताउँछन् ।
‘एउटा कार्यविधि नै बनाएका छौं । कार्यविधि अनुसार छनोट प्रक्रिया संचालन हुन्छ,’ शाखा प्रमुख खत्रीले वडापालिकासँग भने ।
केन्द्रीय विद्यालयको अवधारणा
गोसाईकुण्ड गाउँपालिकाले केन्द्रीय विद्यालयको अवधारण अनुसार यस्तो कार्यक्रम संचालन गरिरहेको छ । धेरैवटा विद्यालय संचालन गरेर प्रभावकारी व्यवस्थापन गर्न नसक्नुभन्दा थोरै विद्यालय संचालन गर्ने तर, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय शिक्षामा जोड दिने नीति लिइएको खत्रीले बताए ।
‘कक्षा ५ सम्म स्थानीय रुपमा पढ्ने, त्यसपछि बरु विद्यालय संख्या कम होस तर पढाइ गुणस्तरीय होस र व्यवस्थापन गर्न सकिने गरी संचालन गर्न सकियोस भन्ने अवधारणा हो, यो अवधारणा सही सावित भयो भने हाम्रो पालिकाभित्र सामुदायिक विद्यालयको संख्या घट्न सक्छ,’ शाखा प्रमुख खत्री अनुमान गर्छन् ।
अहिले गोसाईकुण्ड गाउँपालिका क्षेत्रभित्र १५ वटा सामुदायिक विद्यालय संचालनमा छन् । तर, गाउँपालिका भने ३ वटा विद्यालयमा आवाश सुविधा सहितको गुणस्तरीय शिक्षाको अवधारणा सहित अघि बढेको छ ।
२ सामुदायिक विद्यालय छनोट
आवाश व्यवस्था सहित अध्ययनको लागि गाउँपालिकाले २ वटा सामुदायिक विद्यालय छनोट गरेको छ । गाउँपालिकाका दुर्गम ठाउँबाट अध्ययनको लागि आउन विद्यार्थीलाई समस्या हुने भएपछि यस्तो कार्यक्रम संचालन गरिएको हो ।
गाउँपालिकाले धुन्छेको रसुवा मावि र स्याफ्रुबेसीको कोमिङ श्यामे वाङ्छेल मावि छनोट गरेको छ । यसमध्ये धुन्छे रसुवा जिल्लाको जिल्ला सदरमुकाम हो भने स्याफ्रुबेसी गाउँपालिकाको कायाृलय रहेको ठाउँ हो । ग्रामीण क्षेत्रका अभिभावक आवत जावत गरिरहने केन्द्र भएकोले यी दुई स्थानका सामुदायिक विद्यालय छनोट गरिएको शाखा प्रमुख खत्रीले बताए ।
‘कक्षा ६ देखि १२ सम्म पढ्ने विद्यार्थीहरु छात्रबासमा हुन्छन् । आफ्ना अभिभावकलाई भेट्न उनीहरुलाई सहज हुनुपर्छ । अभिभावकलाई पनि आफ्ना बालबच्चा के कस्तो अवस्थामा छन् भन्ने चासो हुन्छ । त्यसैले पालिकाभित्रका सर्वसाधारणलाई पायक पर्ने देखेर गाउँपालिका र जिल्लाका २ केन्द्रका विद्यालय छनोट गरिएको हो,’ उनले भने ।
गाउँपालिकाले यस्तो कार्यक्रम संचालनको लागि ३ वटा विद्यालय संचालन गर्ने सोच बनाएको भएपनि पूर्वाधार बनिनसकेका कारण २ वटा विद्यालयमा मात्रै संचालन गरिएको हो ।
गाउँपालिकाले बनाउँछ पूर्वाधार
यो कार्यक्रम संचालन भएका सामुदायिक विद्यालयमा आवाशगृह लगायतको पूर्वाधार गाउँपालिकाले बनाउने गरेको छ । तर, त्यसको व्यवस्थापन र संचालनको जिम्मेवारी भने सोही विद्यालयको हुन्छ । यसको लागि विद्यालयलाई चाहिने बजेटदेखि जनशक्तिसम्म गाउँपालिकाले उपलब्ध गराउने गरेको छ ।
‘धुन्छे र स्याफ्रुबेसीको विद्यालयमा आवाशगृह बनाइसक्यौं । अर्काे एक विद्यालयमा बनाउँदै छौं । आवाशगृह गाउँपाकिाले बनाएपछि त्यसको संचालनको लागि प्रतिविद्यार्थी मासिक ४ हजार रुपैयाँको दरले व्यवस्थापन खर्च दिने गरिएको छ,’ खत्रीले भने ।
गएर पढ्दिए हुन्छ विद्यार्थीले
गाउँपालिकाले बनाएको मापदण्ड अनुसार आवाशगृहमा बस्न छनोट भएका विद्यार्थीले कुनै पनि प्रकारको रकम खर्च गर्नु पर्दैन । खाने, बस्ने, लगाउने लगायतका आवश्यकताको लागि उनीहरुले पैसा खर्च गर्नु पर्दैन । निःशुल्क प्राप्त हुन्छ । यस्तै, कापी, कलम लगायत स्टेसनरी सामान पनि गाउँपालिकाले पनि उपलब्ध गराउने गरेको छ ।
त्यति मात्रै होइन, छात्रबासमा बस्ने विद्यार्थीको लागि विहान बेलुका कोचिङको व्यवस्था पनि छ । यसको लागि २ जना शिक्षकको व्यवस्था गरिएको छ । त्यसको खर्च पनि गाउँपालिकाले व्यहोर्छ । विद्यार्थीलाई खाना बनाएर खुवाउनको लागि आया दिदीको पनि व्यवस्था गरिएको छ ।
पढ्दै कमाउने अवसर
गाउँपालिकाले व्यवहारिक शिक्षाको लागि दोहोरो फाइदा हुने कार्यक्रम संचालन गरेको छ । विद्यार्थीले अध्ययनकै समयमा कृषि काम गर्ने र त्यसबाट भएको आय आर्जन उनीहरुकै हुने व्यवस्था पनि मिलाइएको छ ।
‘विद्यार्थीले विदाको दिन या फुर्सदको समयमा खेतीको काम गर्छन् । यसको लागि हामीले नै विउ उपलब्ध गराउँछौं । मल दिन्छौं । टनेल बनाइदिएका छौं । त्यहाँ विद्यार्थीले तरकारी खेती गर्छन् । त्यसको विक्रीबाट आएको रकम उनीहरुकै हुन्छ,’ शिक्षा शाखा प्रमुख खत्रीले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया