रसुवाको गोसाईकुण्डको गज्जव कामः कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क

विदुर खबर २०८० साउन ३२ गते २२:०३

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिकाले शिक्षा क्षेत्रमा अनुकरणीय काम गरेको पाइएको छ । गाउँपालिकाले केन्द्रीय विद्यालयको अवधारणा अनुसार कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क गरेको छ ।

Advertisement

गाउँपालिकाले गत वर्ष थोरै संख्यामा विद्यार्थीलाई पढाएर यो कार्यक्रमको अवधारणा कार्यान्वयन गरेको थियो । गत वर्षको कार्यक्रम कार्यान्वयनबाट धेरैको चासो बढेको र माग पनि बढेपछि यसपाली कार्यक्रम थप विस्तार गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।

‘गत वर्ष हामीले ५० जना विद्यार्थीलाई सामुदायिक विद्यालयमै बस्ने, खाने लगाउने र पढ्नेसहितको व्यवस्था मिलाएका थियौं, यो सबै निःशुल्क हो । यसपाली थप गरेर १०० जना विद्यार्थीको लागि यस्तो कार्यक्रम ल्याइएको छ । पोहोरको कार्यक्रमबाट राम्रो नतिजा निस्कियो र जनताले माग पनि धेरै गरे, त्यसैले यसपालि बढाएका हौं,’ अध्यक्ष तामाङले भने ।

Advertisement

नेपालको संविधानमा नै विद्यालयतहसम्मको शिक्षा निःशुल्क हुने भन्ने व्यवस्था छ । र, विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । संविधानमा भएको यो व्यवस्था र विकसित देशहरुले अवलम्बन गरेको विधिका आधारमा आफूले पनि आवाशीय सामुदायिक विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याएको अध्यक्ष तामाङको भनाइ छ ।

‘सन २०१९ मा म निजी भ्रमणको सिलसिलामा युरोप पुगेको थिएँ । त्यहाँ आवश्यकता कसरी थाहा पाउने, प्राथमिकता के कस्ता कामलाई दिने र त्यसको लागि आवश्यक स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने जस्ता विषयमा युरोपमा भएका मेरा साथीहरु र त्यहीँका नगरपालिकाका प्रतिनिधिहरुसँग छलफल भएको थियो । त्यो छलफलमा शिक्षा सम्बन्धी विषय पनि आएको थियो, जुन मलाई निकै मन परेको थियो । त्यसैले मैले शिक्षा सम्बन्धी मेरो अवधारणा चुनावी प्रतिवद्धतापत्रमा पनि लेख्न लगाएँ र निर्वाचित भएपछि कार्यान्वयन गरेको हुँ,’ अध्यक्ष तामाङले भने ।

Advertisement

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यार्थीबीच छात्रबास छनोट परीक्षा लिने गर्छ । यस्तो परीक्षामा बढी नम्बर ल्याउने र आरक्षित वर्गलाई समेटेर गाउँपालिकाले विद्यार्थी छनोट गर्छ । प्रत्येक वर्षको शैक्षिक सत्र सुरु हुनुअघि यस्तो परीक्षा संचालन गरिने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णबहादुर खत्री बताउँछन् ।

‘एउटा कार्यविधि नै बनाएका छौं । कार्यविधि अनुसार छनोट प्रक्रिया संचालन हुन्छ,’ शाखा प्रमुख खत्रीले वडापालिकासँग भने ।

केन्द्रीय विद्यालयको अवधारणा

गोसाईकुण्ड गाउँपालिकाले केन्द्रीय विद्यालयको अवधारण अनुसार यस्तो कार्यक्रम संचालन गरिरहेको छ । धेरैवटा विद्यालय संचालन गरेर प्रभावकारी व्यवस्थापन गर्न नसक्नुभन्दा थोरै विद्यालय संचालन गर्ने तर, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय शिक्षामा जोड दिने नीति लिइएको खत्रीले बताए ।

‘कक्षा ५ सम्म स्थानीय रुपमा पढ्ने, त्यसपछि बरु विद्यालय संख्या कम होस तर पढाइ गुणस्तरीय होस र व्यवस्थापन गर्न सकिने गरी संचालन गर्न सकियोस भन्ने अवधारणा हो, यो अवधारणा सही सावित भयो भने हाम्रो पालिकाभित्र सामुदायिक विद्यालयको संख्या घट्न सक्छ,’ शाखा प्रमुख खत्री अनुमान गर्छन् ।

अहिले गोसाईकुण्ड गाउँपालिका क्षेत्रभित्र १५ वटा सामुदायिक विद्यालय संचालनमा छन् । तर, गाउँपालिका भने ३ वटा विद्यालयमा आवाश सुविधा सहितको गुणस्तरीय शिक्षाको अवधारणा सहित अघि बढेको छ ।

२ सामुदायिक विद्यालय छनोट

आवाश व्यवस्था सहित अध्ययनको लागि गाउँपालिकाले २ वटा सामुदायिक विद्यालय छनोट गरेको छ । गाउँपालिकाका दुर्गम ठाउँबाट अध्ययनको लागि आउन विद्यार्थीलाई समस्या हुने भएपछि यस्तो कार्यक्रम संचालन गरिएको हो ।

गाउँपालिकाले धुन्छेको रसुवा मावि र स्याफ्रुबेसीको कोमिङ श्यामे वाङ्छेल मावि छनोट गरेको छ । यसमध्ये धुन्छे रसुवा जिल्लाको जिल्ला सदरमुकाम हो भने स्याफ्रुबेसी गाउँपालिकाको कायाृलय रहेको ठाउँ हो । ग्रामीण क्षेत्रका अभिभावक आवत जावत गरिरहने केन्द्र भएकोले यी दुई स्थानका सामुदायिक विद्यालय छनोट गरिएको शाखा प्रमुख खत्रीले बताए ।

‘कक्षा ६ देखि १२ सम्म पढ्ने विद्यार्थीहरु छात्रबासमा हुन्छन् । आफ्ना अभिभावकलाई भेट्न उनीहरुलाई सहज हुनुपर्छ । अभिभावकलाई पनि आफ्ना बालबच्चा के कस्तो अवस्थामा छन् भन्ने चासो हुन्छ । त्यसैले पालिकाभित्रका सर्वसाधारणलाई पायक पर्ने देखेर गाउँपालिका र जिल्लाका २ केन्द्रका विद्यालय छनोट गरिएको हो,’ उनले भने ।

गाउँपालिकाले यस्तो कार्यक्रम संचालनको लागि ३ वटा विद्यालय संचालन गर्ने सोच बनाएको भएपनि पूर्वाधार बनिनसकेका कारण २ वटा विद्यालयमा मात्रै संचालन गरिएको हो ।

गाउँपालिकाले बनाउँछ पूर्वाधार

यो कार्यक्रम संचालन भएका सामुदायिक विद्यालयमा आवाशगृह लगायतको पूर्वाधार गाउँपालिकाले बनाउने गरेको छ । तर, त्यसको व्यवस्थापन र संचालनको जिम्मेवारी भने सोही विद्यालयको हुन्छ । यसको लागि विद्यालयलाई चाहिने बजेटदेखि जनशक्तिसम्म गाउँपालिकाले उपलब्ध गराउने गरेको छ ।

‘धुन्छे र स्याफ्रुबेसीको विद्यालयमा आवाशगृह बनाइसक्यौं । अर्काे एक विद्यालयमा बनाउँदै छौं । आवाशगृह गाउँपाकिाले बनाएपछि त्यसको संचालनको लागि प्रतिविद्यार्थी मासिक ४ हजार रुपैयाँको दरले व्यवस्थापन खर्च दिने गरिएको छ,’ खत्रीले भने ।

गएर पढ्दिए हुन्छ विद्यार्थीले

गाउँपालिकाले बनाएको मापदण्ड अनुसार आवाशगृहमा बस्न छनोट भएका विद्यार्थीले कुनै पनि प्रकारको रकम खर्च गर्नु पर्दैन । खाने, बस्ने, लगाउने लगायतका आवश्यकताको लागि उनीहरुले पैसा खर्च गर्नु पर्दैन । निःशुल्क प्राप्त हुन्छ । यस्तै, कापी, कलम लगायत स्टेसनरी सामान पनि गाउँपालिकाले पनि उपलब्ध गराउने गरेको छ ।

त्यति मात्रै होइन, छात्रबासमा बस्ने विद्यार्थीको लागि विहान बेलुका कोचिङको व्यवस्था पनि छ । यसको लागि २ जना शिक्षकको व्यवस्था गरिएको छ । त्यसको खर्च पनि गाउँपालिकाले व्यहोर्छ । विद्यार्थीलाई खाना बनाएर खुवाउनको लागि आया दिदीको पनि व्यवस्था गरिएको छ ।

पढ्दै कमाउने अवसर

गाउँपालिकाले व्यवहारिक शिक्षाको लागि दोहोरो फाइदा हुने कार्यक्रम संचालन गरेको छ । विद्यार्थीले अध्ययनकै समयमा कृषि काम गर्ने र त्यसबाट भएको आय आर्जन उनीहरुकै हुने व्यवस्था पनि मिलाइएको छ ।

‘विद्यार्थीले विदाको दिन या फुर्सदको समयमा खेतीको काम गर्छन् । यसको लागि हामीले नै विउ उपलब्ध गराउँछौं । मल दिन्छौं । टनेल बनाइदिएका छौं । त्यहाँ विद्यार्थीले तरकारी खेती गर्छन् । त्यसको विक्रीबाट आएको रकम उनीहरुकै हुन्छ,’ शिक्षा शाखा प्रमुख खत्रीले भने ।

प्रतिक्रिया