रसुवागढी नाकाबाट तीन महीनामा ४६ देशका नागरिक नेपाल भित्रिए

विदुर खबर २०८० साउन ११ गते १४:४१

रसुवा । चीनसँग जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढेको छ।

Advertisement

कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो।

सो नाका हुँदै चिनियाँ पर्यटकहरू नेपाल घुम्न आउन थालेका छन्। अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका थिए।

Advertisement

तीन महीनाको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको पनि तथ्याङ्क छ। सो अवधिमा पाँच हजार २३६ महिलासहित कुल १० हजार ६७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले बताए।

पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा अहिले उत्साह थपिएको छ। रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेंसी घुम्न आउने गरेका छन्।

Advertisement

रसुवा–केरूङ ओहरदोहर गर्न अध्यागमन कार्यालय टिमुरेले १५० रसुवाका नागरिकलाई परिचयपत्र प्रदान गरेको छ। बसाइँ सरी आएको कागजातका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ नयाँ परिचयपत्र जारी गरिएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ जनाको परिचयपत्र नवीकरण गरिएको अध्यागमन कार्यालयले जनाएको छ।

विसं २०७२ पछि तीन हजार ३३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएका छन्। भूकम्पकले रसुवागढीस्थित अध्यागन कार्यालय भत्केपछि त्यहाँ रहेका अभिलेख नष्ट भएका थिए।

प्रतिक्रिया