त्रिशूली थ्री बीको जलविद्युत आयोजनाको काम ४ महिनादेखि ठप्प
नुवाकोट । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको काम करिव ४ महिनादेखि ठप्प भएको छ ।
काठमाडौं उपत्यकाको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि महत्वपूर्ण मानिएको आयोजनाको निर्माण करिब ४ महिनादेखि ठप्प छ ।
करिब ६६ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनामा सबैतर्फबाट काम हुनु पर्नेमा ठप्प भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनाको स्थलगत अनुगमनमा उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेसँगै गत साता आयोजनास्थल पुगेका हुन् ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी ) मोडेलमा आयोजना निर्माणका चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपले आफ्नो व्यवस्थापन परिवर्तन भएको कारण देखाउँदै काम ठप्प परेका थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा सञ्चालन गर्नुपर्ने छ ।
आयोजनास्थल पुग्नासाथ कार्यकारी निर्देशक घिसिङले आयोजना प्रमुख आनन्द ढुङ्गेललाई ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाउन निर्देशन दिए । आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले बैठक राखेर आयोजनाको समस्याबारे प्रश्न राखे ।
ठेकदार कम्पनीका प्रतिनिधिले निर्माणमा आलटाल गरिरहने संकेत गरेपछि घिसिङ आक्रोशित भए । ठेकेदारलाई काम सुरु गर्न अझ केही महिना लाग्ने बताएपछि घिसिङले नसके काम छोडेर जानसक्ने बताए ।
आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको थियो । कोभिड–१९का कारण लगातार १५ महिना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम सुरु हुन नसकेकाले आयोजनाको निर्माण असोज २०८० भित्रमा सक्ने लक्ष्य राखिएको छ ।
ईपीसी मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २९ माघ २०७४मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । ३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । ३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ ।
आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।
आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।
आयोजनाको विद्युत गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सबस्टेसनमा पुर्याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ ।
तर, योजना अनुसार काम नै नभएपछि घिसिङले आयोजनास्थलको अनुगमन भ्रमण गरी निर्माणका क्रममा आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदारहरुसाग छलफल गरेका छन् ।
घिसिङले विगतदेखि नै प्राधिकरणका आयोजनाहरुको अनुगमन गर्दै समस्या समाधान गर्न सहजीकरण गर्ने गरेका छन् । निर्माणमा संलग्नलाई दवाव, प्रोत्साहन तथा हौसला प्रदान गर्न कार्यकारी निर्देशक घिसिङ आफैं फिल्डमा जाने गरेका कारण प्राधिकरण कर्मचारी र ठेकदारहरु दबाबमा पर्ने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया