एमाले रसुवाको प्रतिबद्धतापत्र : ५० युनिटसम्म बिजुली निःशुल्क

विदुर खबर २०७९ कार्तिक २५ गते १२:४२

रसुवा । नेकपा (एमाले) रसुवाले प्रत्येक घरधुरीलाई ५० युनिटसम्म विद्युत् निःशुल्क उपभोग गर्न पाउने व्यवस्थासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

Advertisement

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमाले रसुवाले १८ वटा शीर्षकसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, जलविद्युत्, पशुपालन, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

६० वर्षभन्दा माथि उमेर समूहका जनताको निःशुल्क नियमित स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । पासाङल्हामु मार्गको बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेंसीसम्म सडक स्तरोन्नती गर्ने कुरा पनि समेटिएको छ । त्यस्तै राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलङ–स्याफ्रुबेंसी–रसुवागढी नाका जोड्ने सडक निर्माण छिटो सम्पन्न गर्न संघीय सरकारसँग समन्वय र पहल गरिने, ‘हाम्रो लगानीमा हाम्रै दक्ष जनशक्ति’ भन्ने नाराका साथ जिल्लामा डाक्टर, इञ्जिनियर, नर्स, कृषिविज्ञान, पशु विज्ञान, वनविज्ञान, गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक तयार गरिने छ ।

Advertisement

वन्यजन्तुहरु बाँदर, बँदेल, भालु, दुम्सीलगायतबाट हुने अन्नबाली क्षतिको उचित संरक्षण र किसानलाई क्षतिपूर्तिको ग्यारेन्टी गरिने विषय पनि प्रतिबद्धतापत्रमा रहेको एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार छोवाङ तेन्जिन तामाङले बताए

लाङटाङ र गोसाइँकुण्ड पदमार्गलाइ थप व्यवस्थित गर्ने, धुन्चेदेखि गोसाइँकुण्ड केवलकार निर्माण र सञ्चालनका लागि आवश्यक पहल गरिने, कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा रहेको बिर्ता समस्या र आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकामा रहेको गुठी समस्या समाधानका लागि पहल गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

Advertisement

प्रत्येक गाउँपालिकामा कभर्डहल र फिडनेस सेन्टर स्थापना, जिल्लामा एक नगरपालिका घोषणा र कार्यान्वयनका लागि आवश्यक पहल गरिने, भ्रष्टाचारमुक्त जिल्ला निर्माणका लागि अभियान गरिने प्रतिबद्धता रहेको एमाले रसुवाका अध्यक्ष कर्न्याल तामाङले बताए ।

प्रतिक्रिया