रसुवामा एकै महिनामा ४ हजार ८ सय पर्यटक भित्रिए

विदुर खबर २०७९ कार्तिक ५ गते ७:३०

रसुवा । वर्षा सकिएर मौसम सफा भएसँगै लाङटाङ क्षेत्र घुम्न आउने वदेशी तथा स्वदेशी पर्यटकको संख्या बढ्न थालेको छ ।

Advertisement

अंग्रेजी क्यालेण्डर अनुसार सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटक घुम्ने मुख्य सिजन मानिन्छ । कोरोना संक्रमण मत्थर हुँदै गएपछि तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइकुण्ड लगायत पर्यटकीय क्षेत्रमा विदेशी तथा स्वदेशीहरूको बाक्लो उपस्थिति रहेको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलका अनुसार पछिल्लो समय पर्यटकको आउने क्रम बढेको छ । ‘पर्यटक आउने मुख्य सिजन पनि सुरु भइसकेको छ । अहिले यी क्षेत्रका पदमार्ग तथा होटल जता ततै पर्यटकहरूको चहपहल देखिन्छ,’ गजुरेलले चजे ।

Advertisement

कारोना भाइरस (कोभिड–१९)को असरका कारण नेपालकै तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ क्षेत्रमा करिब २ वर्ष पर्यटकीय गतिविधि ठप्प भएको थियो । कोरोनाको संक्रमण मत्थर हुँदै गएपछि अहिले लाङटाङ क्षेत्र घुम्नका लागि आउने पर्यटकको संख्या बढ्दै गएको हो ।

पर्यटक आउने क्रम बढ्न थालेपछि स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू पनि उत्साहित भएको गजुरेल बताउँछन् । लाङटाङ राष्ट्रिय निकुञ्जकको ब्राबल चेक प्वाइन्टबाट हिजोआज दैनिक स्वदेशी र विदेशी गरि सरदर एक सय ६० को हाराहारीमा पर्यटकहरू प्रवेश गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।

Advertisement

भट्टराईका अनुसार पछिल्लो समय दैनिक रुपमा ५० जना विदेशी र ११० जना स्वदेशी पर्यटकहरू प्रवेश गर्दै आएका छन् । चालु आर्थिक वर्षको असोस मसान्तसम्म स्वदेशी र विदेशी गरि १३ हजार ५ सय ७६ पर्यटक लाङटाङ क्षेत्र घुम्नका लागि आएका छन् ।

साउन महिनामा ७ हजार ९ सय ५५ पर्यटक रसुवा घुम्न आएका थिए । जसमध्ये ७ हजार ८ सय ९२ स्वदेशी र ६३ जना विदेशी थिए । भदौमा ८ सय ५ जना पर्यटक घुम्न आएको लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर नितेन्द्र कुमार सिंहले बताए । जसमध्ये स्वदेशी ६ सय ९७ र विदेशी १ सय ८ जना थिए ।

यस्तै, असोज महिनामा ४ हजार ८ सय १६ पर्यटक आएको तथ्याङक निकुञ्जले सार्वजनिक गरेको छ । त्यसमध्ये स्वदेशी ३ हजार २ सय ३७ र विदेशी १ हजार ५ सय ७९ रहेका छन् । पर्यटकहरू पदयात्राको लागि लाङटाङ, गोसाइकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जले २०७५ असोज २९ गतेदेखि लाङटाङ र गोसाइकुण्ड जाने स्वदेशी पर्यटकहरूको तथ्याङ्क राख्न थालेको छ । लाङटाङ र गोसाइकुण्ड जाने स्वदेशी पर्यटकसँग प्रवेश शुल्क लिन थालेपछि तथ्याङ्क राख्न थालिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।

निकुञ्जले असोज २९ गतेदेखि स्वदेशी पर्यटकसँग प्रवेश शुल्क वापत एक सय रुपैयाँ लिँदै आएको छ । रसुवा जिल्लामा घुम्न तीनवटा पदमार्ग छन् । धुन्चे गोसाइकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइकुण्ड पदमार्ग, स्याफ्रुबेंसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेंसीसम्म तामाङ सम्पदा मार्ग छन् ।

यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाईकुण्ड, तामाङ सम्पदार्माग भित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने पाउने लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा, हिमचितुवा र कस्तुरीमृग लगायतका जीवजन्तु पनि हेर्न पाइन्छ । पछिल्ला वर्ष रसुवा जिल्लाको लाङटाङ, गोसाईकुण्ड र तामाङ सम्पदामार्ग घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गरेको छ ।

प्रतिक्रिया