विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने

विदुर खबर २०८३ असोज १ गते १५:१५

नुवाकोट । विदुर नगरपालिकाको पालिका स्तरीय विपद व्यवस्थापन समितिको बैठकले विपदपछिको अवस्थालाई सम्बोधन गर्न १८ वटा महत्वपूर्ण निर्णय तथा प्रस्तावहरू पारित गरेको छ।

Advertisement

बैठकले पालिकाभरिको क्षति, उद्धार, राहत तथा पुनर्निर्माण सम्बन्धी एकीकृत प्रस्ताव तयार गरी आजै बस्ने जिल्ला विपद व्यवस्थापन समिति (DDMC) को बैठकमा पेश गर्ने निर्णय गरेको हो।

बैठकले मुख्यगरी स्थानीय वडाहरूबाट संकलन भई आएको विपद सम्बन्धी तथ्याङ्कलाई औपचारिक रूपमा अनुमोदन गरेको छ। साथै, हालसम्म भएका खोज तथा उद्धारका काम र क्षतिको अन्तिम अवस्थाबारे समीक्षा गर्दै राहत तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।

Advertisement

बैठकका मुख्य प्रस्तावहरूमध्ये विस्थापित परिवारका लागि अस्थायी आवासका उपयुक्त स्थानहरू पहिचान गर्ने र दीर्घकालीन व्यवस्थापनका लागि ‘एक वडा एक स्मार्ट सिटी’ को अवधारणा अघि सारिएको छ। यसका साथै, क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत र अवरुद्ध विद्यालयहरूमा पठनपाठन सुचारु गर्ने योजना समेत बनाइएको छ।

यातातयात पहुँचलाई सहज बनाउन पक्की पुलको मर्मत, तत्कालका लागि बेलिब्रिज जडान र वैकल्पिक सडक निर्माणका अवधारणा प्रस्तावमा समेटिएका छन्। त्यसैगरी, नदीको बहाव क्षेत्र व्यवस्थापन तथा तत्काल कटान नियन्त्रण गर्नुपर्ने जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी तटबन्ध निर्माण गर्ने निर्णय गरिएको छ।

Advertisement

विपद प्रतिकार्य क्षमता अभिवृद्धिका लागि पालिका स्तरमा ‘विपद व्यवस्थापन तालिम केन्द्र’ स्थापना गर्ने र औद्योगिक क्षेत्र लगायत अन्य पूर्वाधारको सुरक्षाका लागि आवश्यक रणनीति बनाउने निर्णय बैठकले गरेको छ।

कुल १८ वटा निर्णय तथा प्रस्तावहरू समावेश गरी जिल्ला विपद व्यवस्थापन समितिमा पेश गर्न लागिएको नगरपालिकाले जनाएको छ।

जिल्लाबाट प्राप्त हुने सहयोग र समन्वयका आधारमा यी योजनाहरूलाई तत्काल कार्यान्वयनमा लगिने बताइएको छ।

प्रतिक्रिया