नेपाली कांग्रेसभित्र चुलिँदै देउवाको एकाधिकार

विदुर खबर २०७९ असोज १० गते ११:०४

नुवाकोट । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो ।

Advertisement

शनिबार मात्रै संस्थापन इतका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ ।

आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजन उपस्थिति खोजेको छ । पार्टीभित्र न्याय र समानताका लागि भन्दै संघर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबनधनका नाममा ‘प्रचण्ड’ माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीभित्र एकाधिकारवाद झाँगिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले लाखौं नेता कार्यकर्ताको संघर्षबाट लोकतन्त्र ल्याएका हौं । तर देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीका सभापतिबाट गैरलोकतान्त्रिक चरित्र देखिएको छ, यसलाइ सच्याइनुपर्छ ।’

Advertisement

देउवाले समानुपातिक सूचीमा आफन्त नातेदारदेखि व्यापारीहरू समेतलाई राखेको भन्दै उहाँमाथि कार्यकर्ताहरू खनिएका छन् । देशलाई विधि र पद्धतिमा चलाउनुपर्छ भनेर आन्दोलको जगबाट लोकतन्त्र स्थापित गर्ने पार्टीभित्रै तानाशाह प्रवृत्ति देखिन थालेको भन्दै आम कार्यकर्ताले खबरदारी गर्नुपर्ने गौतमले बताउनुभयो ।लामो समय पार्टीमा लागेर संघर्ष गरेका नेताहरूलाई पाखा लगाइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । कोइराला समूहले ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको तथ्य सार्वजनिक भएको छ ।

निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।बन्दसूचीमा सभापति देउवानिकट नेता मात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । बन्दसूचीको ७ नम्बरमा व्यापारी अनिल रुँगटाको नाम छ भने नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ । त्यस्तै, ठगी मुद्दामा मुछिएका अर्का मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा राखेको छ । अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन् । उनीविरुद्ध ३ वर्षअघि ठगी मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनले १७ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

Advertisement

श्रीमतीलाई समानुपातिकमा राखेर आफू प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेका गृहमन्त्री बालकृष्ण खाँण टिकट नपाए पनि त्याग गर्नुपर्छ र पाउनेलाई चुनाव जिताउन लाग्नुपर्छ भन्दै भाषण गर्दै हिँडेको भन्दै खाँणमाथि समेत कार्यकर्ताहरू खनिएका छन् ।
त्यस्तै, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन् । त्यसै गरी पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ । उहाँ गत महाधिवेशनमा मधेसी कोटामा केन्द्रीय हुनुहुन्छ ।

उहाँ शेखरसमूहनिकट मानिए पनि देउवा निकटका प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा रहेका छन् ।त्यस्तै, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ । त्यस्तै, नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा. केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतारको नाम पनि बन्दसूचीमा रहेको छ । त्यस्तै लेखा समितिका पूर्वसभापतिसमेत रहेका भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ ।

शेरबहादुर देउवाले पेस गरेको बन्द सूचीमा संस्थापन इतरका डा चन्द्र मोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदार नरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, मुख्ता यादव र नागिना यादव रहेका छन् । ११० सिटका लागि बुझाइएको बन्द सूचीमा ९७ जना देउवा पक्षका रहेका छन् । यसरी हेर्दा संस्थापन समूहले इतर समूहलाई १० प्रतिशतमा खुम्च्याएको भन्दै कोइराला समूहका नेताहरूले निर्णय सच्याउन दबाब दिइरहेका छन् ।

शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । आफूहरूले न्यायोचित सिट नपाए शेखर समूहले अनसन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको चेतावनीसमेत दिएको छ ।

शेखर र महामन्त्री गगन थापाले गठबन्धनमा प्रत्यक्षतर्फ कांग्रेसले सय सिट लिनुपर्ने अडान शुरूदेखि राख्दै आएका छन् । शेखर यो अडानबाट अझै पछि नहटे पनि महामन्त्री थापाले कांग्रेसले ९० भन्दा तल झेरेर सम्झौता नगर्न नेतृत्वलाई दबाब दिनुभएको छ  । थापा पनि सभापति देउवादेखि दिक्क हुनुभएको उहाँका निकटस्थहरूले बताए । गठबन्धनमा आबद्ध माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कांग्रेसलाई ५० प्रतिशतभन्दा बढी सिट दिन तयार नभएपछि देउवाले त्यसैमा सहमति जनाउन सक्ने संकेत दिएकाले थापा बैठकमा अनुपस्थित हुन थाल्नुभएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता गराएको बन्दसूची सार्वजनिक भएसँगै पार्टीभित्रको विवाद बजारमा छताछुल्ल बनेको छ । देउवा समूहले गरेको निर्णय सच्याएर जाने विषयमा लचकता देखाउने र सबैलाई समेटेर लैजाने देउवा निकट नेता पुष्पा भुसालले बताउनुभयो ।

कांग्रेसका प्रभावशाली नेताहरूले नै सांसद बन्नका लागि समानुपातिक बाटो रोजेको सूची आएपछि कार्यकर्तामा उत्साह हटेको कांग्रेस नेता डिल्लीराम सुवेदीले बताउनुभयो । कांग्रेससहितका प्रमुख दलहरूले असोज ३ गते आयोगमा समानुपातिक बन्दसूची बुझाएका थिए । आयोगले बन्द सूची बुझाउनका लागि असोज २ र ३ गतेको समय तोकेको थियो । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन हुँदै छ । त्यस भन्दाअघि प्रत्यक्षतर्फको टिकट भागबण्डामा गठबन्धनभित्र सकस देखिएको छ ।

असन्तुष्टि सम्बोधन गर्ने देउवाको आश्वासन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधन गर्ने आश्वासन दिनुभएको छ । उपसभापति धनराज गुरुङले बालुवाटार पुगेर पार्टीभित्र देखिएको असन्तुष्टिका विषयमा ध्यानाकर्षण गरेपछि देउवाले असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने बताउनुभएको हो ।

पार्टीभित्र देखिएको असन्तुष्टिबारे सभापतिसँग आफूले कुराकानी गरेको गुरुङले बताउनुभयो । उहाँले भन्नभयो– ‘सभापतिज्यूले असोज १२ गतेसम्म छलफल गरेर कहाँ के गर्न सकिन्छ ? त्यो कुरा गरौंला भन्नुभएको छ । हामीले समस्याको समाधान खोज्ने हो । समस्या देखाएर समस्याबाट भाग्ने होइन ।’

कोइराला समूहले समानुपातिक उम्मेदवारको बन्दसूचीमा एकलौटी गरिएको भन्दै सच्याउन निरन्तर खबरदारी गरिरहेको छ । कोइराला पक्षका केही केन्द्रीय सदस्य, वर्तमान र पूर्व जिल्ला सभापति, भ्रातृ संस्थाका पूर्व पदाधिकारीलगायतले पार्टीभित्र न्यायोचित व्यवहार नभएको भन्दै विद्रोहको चेतावनी दिएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र कांग्रेसले पाउने सिटमा आफूहरूले ४० प्रतिशत हिस्सा पाउनुपर्ने कोइराला पक्षको अडान छ ।

सभापति देउवाले समानुपातिक बन्दसूची नसच्याए र प्रत्यक्षमा न्यायोचित ढंगले टिकट वितरण नगरेर चुनाव बहिष्कार गर्ने कोइराला पक्षका नेताहरूको भनाइ छ । शनिबार मात्र कोइराला समूहका दोस्रो तहका नेताहरूले काठमाडौंमा खबरदारी भेला समेत गरेका थिए ।

उपसभापति गुरुङले भने इतर पक्षको नेतृत्वकै समन्वयमा खबरदारी भेला भएको बताउनुभयो । निर्णय गर्ने ठाउँमा भएका नेताहरू सडकमा आएर बोल्नु उचित नहुने भएकाले पदाधिकारी भन्दा बाहिर रहेका नेताहरूले खबरदारी गरेको उहाँको भनाइ छ ।

समानुपातिक बन्द सूचीमा पार्टीभित्र उठेको विरोधको स्वरबारे सभापति देउवा गम्भीर देखिएको गुरुङको भनाइ छ । ‘पार्टीभित्र न्यायोचित व्यवहारका लागि हामी जिम्मेवार हुनुपर्छ । त्यो जिम्मेवारी बोध गरेर मैले पार्टीभित्र प्रकट भएको विरोधको स्वरलाई बालुवाटारमा पु¥याएको छु,’ आशा छ निर्णय सच्चिन्छ र सबैको न्यायोचित सम्बोधन हुन्छ’ –उहाँले भन्नुभयो ।
यता सभापति देउवाले चुनावको मुखमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुनेमा जोड दिनुभएको थियो ।

उहाँले भन्नुभयो– ‘पार्टीका सबै साथीहरूको उचित ढंगले मूल्यांकन हुन्छ । गठबन्धनको बाध्यता तपाईंहरूले बुझ्नु नै भएको छ । केही साथीहरूले त्याग पनि गर्नुपर्ने अवस्था छ ।’ देउवाले गठबन्धनभित्र कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बहुमत सिट दिने गरी सिट बाँडफाँट टुंगिएको पनि बताउनुभएको थियो ।

प्रतिक्रिया