रसुवामा पहिरोले २५ घर जोखिममा
रसुवा । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्तरगया गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा २५ घर जोखिममा परेका छन् ।
पहिरोका कारण उत्तरगया गाउँपालिका–५ नौबिसेमा रहेका १७ घर र बनुवा घुम्तीमा रहेका ८ घर जोखिममा परेका हुन् । बस्तीको दायाँ बायाँबाट पहिरो गएको छ । बुधबार बिहान २ बजेतिर पहिरो गएको नौबिसेका मानबहादुर थापामगरले बताए ।
‘झण्डै पहिरोमा पुरिएन बल्ल बल्ल बाँचियो,’ उनले भने । पहिरोले नौबिसेमा रहेका केही घरमा क्षति पुगेको छ । नौबिसेका पहिरो प्रभावितहरु उत्तरगया गाउँपालिका–४ माथिल्लो पैरेबेसीबाट विस्थापित भएर आएका हुन् ।
२०७२ सालको भूकम्पले थातथलोमा पहिरो गएपछि विस्थापित भएर १७ घरपरिवार उत्तरगया गाउँपालिका–५, नौबिसेमा बस्दै आएका हुन् । पहिले पनि पहिरोका कारण गाउँमा बस्न नसकेर बेसी झरेको उनीहरू बताउँछन् ।
पहिरोले करिब एक सय रोपनी खेत बगाएको स्थानीयहरूको भनाइ छ । पहिरोले पासाङ ल्हामु मार्गको बेत्रावती–कालिकास्थान सडक खण्ड अवरुद्ध छ । पहिरोले धेरै ठाउँमा क्षति गरेकाले सडक पुन: निर्माण हुन एक महिना लाग्न सक्ने बताइएको छ ।
पासाङ ल्हामु मार्ग उत्तरी नाका रसुवागढी पुग्ने सडक पनि हो । पहिरोका कारण रसुवागढी नाकाबाट समान लोड भएर आएका कन्टेनर तथा ठूला सवारी साधन बाटोमै रोकिएका छन् ।
साना चार चक्के सवारी साधन र मोटर साइकललाई वैकल्पिक सडकबाट चल्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए । तीर्थयात्रुले आवतजावत गर्ने मुख्य दिन नै सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा प्रभावित भएको छ । प्रजिअ जैशीका अनुसार बुधबार बिहानदेखि नै उत्तरगया गाउँपालिका–५ पालेकोवन जिरो किलो हुँदै तारुके, बेल्चौर धारापानी जोड्ने सडकलाई वैकल्पिक रुटको रुपमा प्रयोग गरिएको छ ।
बस चढेर गोसाईंकुण्ड मेलामा जाने-आउने तीर्थयात्रीहरूलाई एक बसबाट अर्को बसमा पल्टी गर्ने व्यवस्था गरिएको पनि प्रजिअ जैशीले बताए । पहिरोले मानवीय क्षति नभए पनि २५ घरपरिवार जोखिममा रहेका छन् ।
जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरिएको छ । जोखिममा रहेका घरलाई संरक्षण गर्न तत्कालै तार जाली लगाउने व्यावस्था गर्न सडक डिभिजन कार्यालय नुवाकोटलाई भनिसकेको प्रजिअ जैसीले बताए ।
वर्षा रोकिएपछि बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा ल्याइने पनि जैशीले बताए । उक्त सडक सञ्चालनमा आएपछि रसुवागढी नाकाबाट आएका सवारी साधनलाई सहज हुनेछ । अहिले उक्त सडक खण्ड पनि पहिरोको जोखिममा छ । सडकलाई जतिसक्दो छिटो खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया