दानवलाई तर्साउने नुवाकोटको लाखे नाँच (फोटो फिचर)

विदुर खबर २०७९ साउन २० गते १९:१५

नुवाकोट । लाखे नेपाल अधिराज्यभर नचाइने एक मात्र सर्वप्रिय परम्परागत नाच हो ।

Advertisement

लाखेनाच नुवाकोटको विभिन्न स्थानहरुमा नचाइने गरिन्छ । विशेषगरी नुवाकोट, बट्टार, त्रिशुली आदी स्थानहरुमा लाखे नाचलाई अझैपनि निरन्तरता दिएको पाईन्छ ।

ढोलक झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको अवाज निकाल्दै सहरबजारमा लाखेनाच देखा पर्दा जतिले आवाज सुनेका हुन्छन, सबै त्यस ठाउमा झुमिन पुग्छन । को बालक, को वृद्धा, को युवा सबैको मन तान्न सक्ने नाच हो, लाखेनाच ।

Advertisement

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वका अवसरमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । जामा, चोलो र कम्मरमा लगाइने घँगला र हातमा लामो रुमालसँगै टाउकोमा मुखुन्डो लाखेको पहिरन हो । विविध पेशा–व्यवसाय अँगालेर दैनिकी चलाइरहे पनि लाखे नाचमा नृत्य गर्दै आएका युवाहरू जीउ फालेर खाली खुट्टा नाच्नुपर्ने भएकाले लाखे नाच देख्दा जस्तो सजिलो नरहेको बताउँछन ।

किम्बदन्ती अनुसार भैरवको दायाँ–बायाँ बसेर दानवलाई तर्साउने, कुटपिटबाट जोगाउने लगायतका काममा सहयोग गर्न लाखेको प्रयोग गरिएको हो । किंवदन्ती अनुसार जयस्थिति मल्लका छोरा जयधर्म मल्लको विवाहका अवसरमा नाटक देखाउने क्रममा पहिलो पटक लाखे नाच देखाइएको थियो ।

Advertisement

लाखे नाचका क्रममा विदुर नगरपालिका वडा नंं ४ बट्टार पुरानो बजारका स्थानीयले लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, विहे जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यड्डय प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।

बट्टारमा लाखेनाँच गठेमंगलको दिनबाट सुरु भएर श्री कृष्ण अष्टमीको दिन राती लाखेलाई मारी यस बर्षको लाखेनाच समापन गरिने कुरा नेवा देय् दवु का अध्यक्ष विराटमान सिंह डंगोलले जानकारी दिए ।

प्रतिक्रिया