भारतसँग नेपालको लजास्पद हार

विदुर खबर २०७९ साउन १५ गते २१:४९

नुवाकोट । २० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग लजास्पद हार व्यहोरेको छ ।

Advertisement

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले दुई दुई गोल गरे ।

यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले एक एक गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ७ गोल गरेको थियो ।

Advertisement

खेलको ३२ औं मिनेटमा टाइसनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा पार्थिवले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५२ औं मिनेटमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० मा पुराएका थिए । त्यस्तै खेलको ६६ औं मिनेटमा टाइसनले व्यक्तिगत गोल गर्दा भारत ४–० ले अघि रह्यो । ७१ औं मिनेटमा हिमान्सु जान्ग्राले पेनाल्टीमा गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाए ।

Advertisement

खेलको ७८ औं मिनेटमा टन्कधरले गोल गर्दा भारत आधा दर्जन गोलले अघि रह्यो ।
९० औं मिनेटमा गुर्किरातले गोल गर्दै भारतको अग्रता ७–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा सुभोले गोल गर्दै भारतलाई ८–० को जित दिलाए ।

भारतले ३ खेलमा ६ अंक जोडेको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेश ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया