एनयुएफसी अन्तर विद्यालय फुटवलको उपाधि अर्किड एकेडेमीलाई

नुवाकोट । एनयुएफसी अन्तर विद्यालय फुटवल प्रतियोगिताको उपाधि अर्किड एकेडेमीले हात पारेको छ ।
शनिवार साँझ सम्पन्न खेलमा छात्र र छात्रा दुबैतर्फको उपाधि अर्किड एकेडेमीले हात पारेको हो । नुवाकोट युनाइटेड फुटवल क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधि हात पारेको अर्किडले छात्रतर्फ च्वाडी पब्लिक स्कुललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा अर्किड लागि सन्देश केसी र सन्जोक कोइरालाले गोल गरेका थिए । यस्तै च्वाडी पब्लिक स्कुलले खेलमा उत्कृष्ट प्रर्दशन गरेपनि गोल गर्न नसकेपछि खेल अर्किडको पक्षमा गएको हो ।
यसअघि शनिवार साँझ नै भएको छात्रातर्फको खेलमा सुभेनियर बोर्डिङ स्कुललाई झिनो गोल अन्तरले पराजित गर्दै अर्किड एकेडेमीले उपाधि उचालेको छ ।
खेलमा अर्किडका विपना तामाङले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । उनले खेलको शुरुवातमै उत्कृष्ट गोल गरेकी थिइन् । सुभेनियरले गोल गर्ने प्रयास गरेपनि सफल नभएपछि अर्किडले उपाधि हात पारेको हो ।
शुक्रवारदेखि संचालन भएको प्रतियोगितामा ३४ छात्र र ६ छात्रा गरि ४० टिमको सहभागिता रहेको नुवाकोट युनाइटेड फुटवल क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष वुद्धि प्रधान, नुवाकोट फुटवल संघका अध्यक्ष देव नारायण चित्रकार, उपाध्यक्ष अच्युत महन्त राज गिरी, सचिव सुरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया