ललितपुरमा चिरीवाबुको अपराजित यात्रा जारी

विदुर खबर २०७९ जेठ ११ गते २१:००

एकातिर उम्मेदवार बन्ने आकांक्षीको लर्को, अर्कोतिर जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने दबाब । ०७४ को स्थानीय तह निर्वाचनताका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारको खोजीमा थिए । त्यही बेला देउवालाई ललितपुर कांग्रेसले नाम दियो– चिरीबाबु महर्जन । 

Advertisement

पटक–पटक वडाध्यक्ष भएर काम गरेका, तर पार्टीमा ठूलो जिम्मेवारी र भूमिकामा नरहेका चिरीबाबुमाथि देउवाले प्रश्न उठाए, र जित्नैपर्ने दबाब रहेको सुनाए । त्यसपछि चिरीबाबुले बाजी ठोके– आफूले हारे पार्टी सभापतिलाई एक लाख रुपैयाँ दिने अनि जिते देउवाले एक सय रुपैयाँ दिनुपर्ने । बाजीसँगै टिकट पक्का भयो । चिरीबाबुले चुनाव जिते, बाजी पनि जिते । बाजी जितेपछि सभापति देउवाले चिरीबाबुलाई एक सय होइन, एक हजार रुपैयाँको नोट दिएका थिए ।

संघीय राजधानी काठमाडौंसँगै जोडिएको ललितपुर सहरको मेयर भएर पाँच वर्षसम्म काम गरेका चिरीबाबुले यसपटक भने टिकट पाउन बाजी राख्नुपरेन । ‘यसपालि सभापतिज्यू आफैँले ललितपुरमा चुनाव जित्ने चिरीबाबुमात्रै हो भन्नुभो, मैले नै टिकट पाएँ,’ ललितपुरको मेयरमा दोस्रो पटक निर्वाचित भएपछि बुधबार चिरीबाबुले भने, ‘पहिले चुनावसँगै सभापतिज्यूलाई बाजी जितेको थिएँ । यसपालि बाजी त थिएन, तर पहिलेभन्दा जनताको मन जितेछु भन्ने अनुभूति भएको छ, निकै खुसी छु ।’

Advertisement

पहिले चिरीबाबुले नेकपा एमालेका तत्कालिन जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलाई ३०८ मतले पराजित गरेका थिए । उनले पाँच वर्षसम्म मेयर भएर काम गरे । ब्यञ्जनकार एमालेको केन्द्रीय सदस्य नै भए । ललितपुरमा यसपटक पनि उनीहरूबीचमै प्रतिस्पर्धा भयो । पहिले कांग्रेस एक्लैले जितेको ललितपुरमा यसपटक पाँच दलबीच गठबन्धन थियो । तर, गठबन्धनबाट उपमेयर उम्मेदवार माओवादी केन्द्रका बाबुराजा बज्राचार्य ६ हजार ३३३ मतले पराजित हुँदा मेयरमा चिरीबाबुले १८ हजार १६२ मतान्तरले जिते ।

छिमेकी काठमाडौं महानगरमा युवा जनमत र दलप्रतिको निराशालाई बटुलेर स्वतन्त्र उम्मेदवार बालेन साहले मेयर जित्दैछन् । तर, सीमाना जोडिएको ललितपुरमा भने ६५ वर्षे चिरीबाबु थप लोकप्रियतासहित मेयरमा दोहोरिएका छन् । चिरीबाबुले यसपटक ४२ हजार ७२२ मत पाए भने उनका प्रत्यासी एमालेका ब्यञ्जनकारले २४ हजार ५६० मत ।

Advertisement

‘दलले गठबन्धन गरेरमात्रै नहुँदो रहेछ, मुख्य कुरा मतदाताले रुचाउनुपर्ने रहेछ,’ चिरीबाबुले भने, ‘हाम्रो गठबन्धन थियो, गठबन्धनको मर्मलाई स्वीकारेकै थियौँ । हामीलेसँगै हिडेर भोट मागेको हो, कुनै कुरामा कमजोरी थिएन, तर मतदाताले नरुचाएपछि हाम्रो केही चलेन ।’ उपमेयरमा माओवादी केन्द्रका बज्राचार्य ६ हजार ३३३ मतले हारे, तर उपमेयर उम्मेदवार नै नभएको रुख चुनाव चिन्हमा करिब आठ हजार भोट परेको छ ।

दोस्रो पटक मेयरमा निर्वाचित भएपछि चिरीबाबुले बुधबारदेखि कार्यभार सम्हाले । उनले पहिलो कार्यकालमा जस्तो धेरै ठूला योजना र सपना केही बाँडेका छैनन्, यसपालि । अब तपाईंको प्राथमिकता के कुरामा हुन्छ ? जवाफमा चिरीबाबुले भने, ‘पहिले सुरु गरेका कामहरु छन्, ती काम सम्पन्न गर्नु छ । ललितपुरमा मुर्त अमूर्त सम्पदा छन्, त्यसको संरक्षण र पर्यटन प्रवर्द्धन गरेर अघि बढ्छु । नगरबासीको दैनिकीमा सुधार गर्न गर्नुपर्ने थुप्रै काम बाँकी छन्, ती काम पूरा गर्छु । खासमा स्थानीय सरकारले जनताले जे माग्छन्, जे चाहन्छन्, त्यही काम गर्नुपर्नेरहेछ, म त्यही गर्छु ।’

संघर्षपूर्ण यात्रा, सरल जीवनशैली

चिरीबाबु ललितपुर सहरको दोस्रो पटक मेयर बनेँ, तर उनको यहाँसम्मको यात्रा भने कम चुनौतीपूर्ण छैन । ललितपुरको मेयरसम्मको यात्रामा उनले आफ्नो जीवनमा संघर्षबाहेक केही गरेका छैनन् । श्रम, सरलता र सादा जीवन उनका पर्यायजस्तै हुन् । उनी २०१४ सालमा जन्मिए, तर उनी सानै हुँदा बाबुले छोडे । सामान्य आर्थिक अवस्थाको परिवारका उनले विद्यार्थी उमेरमा निकै दुःख व्यहोर्नुपर्‍यो । चिरीबाबु अर्थात् नेपाल भाषामा सानो बाबु । त्यो बेला वुवा न्हुच्छे महर्जन र आमा हरिमायाले उनको ज्यान सुहाउँदो नाम राखिदिएका थिए । तेजिलो दिमाग भएका उनले सानैदेखि श्रम गर्न सिके । श्रमको सम्मान र कर्ममा विश्वास गर्न सिके । त्यहीकारण उनी आफूले कहिल्यै असफलता बेहोर्नु नपरेको सुनाउँछन् ।

उनले ललितपुरकै त्रिपद्य स्कुलमा पढे । मेधावी छात्र उनी जहिल्यै टपर हुन्थे । उनी चुनाव र पढाईलाई जोडेर भन्छन्, ‘मलाई अहिलेसम्म पढाइ र चुनावमा ब्याक लागेको छैन ।’ मेयर हुनुअघि उनी दुई पटक वडाध्यक्ष भइसकेका थिए । उनले ललितपुरमा ज्यापु समाजको संस्थापन गरे, संस्थापक अध्यक्ष भएर नेवार समुदायमाझ काम गरे ।

उनी दोस्रो पटक मेयरमा दोहोरिएकोबारे ललितपुरबासी भन्छन्, ‘तडकभडक छैन, राम्रो काम गरेका छन्, त्यसैले उनी नै दोहोरिए ।’ हुन पनि चिरीबाबुको जीवन सरलताको पर्याय जस्तै छ । उत्सुक स्वभावका उनी मेयर भएपनि तडक भडक रुचाउँदैनन् ।

चिरीबाबुलाई स्कुले जीवनमा गरेको संघर्षले धेरै कुरा सिकाएको छ । ‘पढ्नका लगि पैसा नभएपछि ज्यामी काम गर्न आएको थाहा पाएपछि इन्दिरा म्यामले १० कक्षासम्म मेरो पढाई खर्च ब्यहोर्ने हुनुभयो,’ चिरीबाबुले सम्झिदै भने, ‘तर मैले ज्यामी काम भने सधैंका लागि छोड्नुपर्ने उहाँको सर्त थियो, उहाँले नै मेरो जीवनमा परिवर्तन ल्याइदिनुभयो ।’

उनको स्कुलको मासिक शुल्क २ रुपैयाँ ३९ पैसा हुन्थ्यो । बुवा बितेपछि आमाले घर चलाएर स्कुलको शुल्क तिर्न सक्ने अवस्था थिएन । त्यहीकारण उनी भिनाजु दीपक महर्जनसँग निर्माणको काममा ज्यामी गर्न जान्थे । एकपटक उनी हालको ज्ञानोदय बालबाटिकाका संस्थापक इन्दिरा यक्थुम्बाको घर निर्माणमा खटिएका थिए । सानो बच्चाले ज्यामी गरिरहेको देखेपछि घरधनी इन्दिरा यक्थुम्बाले उनको कक्षा १० सम्मको खर्च उठाएकी थिइन् । स्कुल सकेपछि उनी जागिर खाँदै पढ्न थाले । उनले विभिन्न ठाउँमा जागिर खाए ।

सुधारिएको पञ्चायत आएपछि उनी २०३८ सालमा वडाध्यक्ष उठे, र जिते । ‘टोलटोलमा फ्री क्लिनिक र पुस्तकालय स्थापना गर्नमा नेतृत्व गरेको थिएँ, त्यहीकारण चुनाव जितेको थिएँ,’ चिरीबाबुले सम्झिए ।

त्यो बेलादेखि उनी जनप्रतिनिधिकै रुपमा काम गरिरहेका छन् । ०४६ सालमा उनी वडाध्यक्षबाट राजीनामा दिएर बहुदलमा लागे । नेपाली कांग्रेसको सदस्य भए । ०४९ को निर्वाचनमा कांग्रेसबाट ललितपुर–३ मा फेरि वडाध्यक्ष भए । उनकै नेतृत्वमा ०५१ मा ज्यापु समाज स्थापना भयो । उनले ०६२ सम्म ज्यापु समाजको अध्यक्ष भएर काम गरे ।

ज्यापु समाजमा हुँदा गैरसरकारी निकायसँगको साझेदारीमा उनले गरेको कामले यहाँको नेवारी समुदायमा उनीप्रति लगाव बढायो । त्यसको जगले उनलाई मेयरमा चुनाव जित्न सहज भयो । चिरीबाबु भने आफ्नो इमान्दारिताले आफूलाई यहाँसम्म पुर्‍याएको दाबी गर्छन् । ‘मेरो इमान्दारितामा अहिलेसम्म कसैले पनि औंला उठाउन सकेको छैन, किनकि म जनताको पैसा खाँदिन, सबैलाई सकेसम्म समान व्यवहार गर्छु । यहीकारण होला भन्छु, जनताले मन पराएको जस्तो लाग्छ,’ उनले भने ।

प्रतिक्रिया