आज राति खग्रास चन्द्रग्रहण लाग्ने

नुवाकोट । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ ।
समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले बताए ।
पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छायाँ चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।
यो खग्रास चन्द्रग्रहण नेपालको सबै भागबाट देखिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया