नेपालसँग पपुवा न्युगिनी २ विकेटले पराजित
नुवाकोट । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको छ । पपुवा न्युगिनीले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पार गर्न नेपाललाई हम्मेहम्मे भएको थियो ।

नेपालले ८ विकेट गुमाउँदै ४ बल बाँकी राखी लक्ष्य पूरा गरेको थियो । नेपालका जितमा रोहित कुमार पौडेलले ८२ बलमा ४ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । आरिफ शेख ८४ बलमा २ चौकासहित ५३ रनमा एलबीडब्लू आउट भए । आरिफको ओडिआईमा पहिलो र रोहितको चौथो अर्धशतक हो ।
नेपाललाई अन्तिम ६ बलमा जितको लागि ५ रन चाहिएको थियो । पहिलो बलमा लेग बाइको रूपमा चौका प्राप्त गर्यो । दोस्रो बलमा करण केसीले छक्का प्रहार गर्दै नेपालको जित पक्का गराए । करण २५ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।
पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय २ रनको कीर्तिमानी साझेदारी गरेका थिए । आरिफ र रोहित ओडीआईमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन् । यसअघि, ओडिआईमा सर्वाधिक ठूलो साझेदारी आसिफ शेख र ज्ञानेन्द्र मल्लले गत असोजमा ओमानविरुद्ध दोस्रो विकेटका लागि ९५ रनको गरेका थिए ।
नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । तेस्रो ओभरको चौथो बलमा नर्मन भानुआले ज्ञानेन्द्र मल्ललाई ४ रनमा एलबीडब्लू आउट गरे । नेपालका मध्यक्रमका प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरीलाई राइली हेकुरेले ८ रनमा क्याच गराएपछि २४–३ को अवस्थामा पुगेको थियो ।
एक समय ४२–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ र रोहितको शतकीय साझेदारीले उकासेको थियो । पपुवा न्युगिनीका नर्मन भानुवा, राइली हेकुरे र एली नाओले २–२ विकेट लिए ।
त्यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिए । चाद सोपरले ७४ बल खेल्दै २ चौकासहित ३५ रनमा सोमपाल कामीको बलमा बोल्ड भए ।
एक समय २४.४ ओभरमा ९१–४ को कमजोर अवस्थामा पुगेको पपुवा न्युगिनीलाई पाँचौं विकेटका लागि अमिनी र चाद सोपरले ७५ रनको महत्वपूर्ण साझेदरी गरेका थिए । तल्लोक्रमका नर्मन भानुवा १२ बलमा चौका र १ छक्कासहित २३ रनमा रन आउट भए । पपुवा न्युगिनीलाई ओपनर टोनी उरा र लेगा सिकायाले पहिलो विकेटका लागि ९.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो शुरुवात दिलाए ।
नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । ज्ञानेन्द्र मल्लले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल घरेलु टोली ओमानसँग शुक्रबार खेल्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया