नेपालसँग पपुवा न्युगिनी २ विकेटले पराजित

विदुर खबर २०७८ चैत ३ गते ९:११

नुवाकोट । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको छ । पपुवा न्युगिनीले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पार गर्न नेपाललाई हम्मेहम्मे भएको थियो ।

Advertisement

नेपालले ८ विकेट गुमाउँदै ४ बल बाँकी राखी लक्ष्य पूरा गरेको थियो । नेपालका जितमा रोहित कुमार पौडेलले ८२ बलमा ४ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । आरिफ शेख ८४ बलमा २ चौकासहित ५३ रनमा एलबीडब्लू आउट भए । आरिफको ओडिआईमा पहिलो र रोहितको चौथो अर्धशतक हो ।

नेपाललाई अन्तिम ६ बलमा जितको लागि ५ रन चाहिएको थियो । पहिलो बलमा लेग बाइको रूपमा चौका प्राप्त गर्यो । दोस्रो बलमा करण केसीले छक्का प्रहार गर्दै नेपालको जित पक्का गराए । करण २५ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।

Advertisement

पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय २ रनको कीर्तिमानी साझेदारी गरेका थिए । आरिफ र रोहित ओडीआईमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन् । यसअघि, ओडिआईमा सर्वाधिक ठूलो साझेदारी आसिफ शेख र ज्ञानेन्द्र मल्लले गत असोजमा ओमानविरुद्ध दोस्रो विकेटका लागि ९५ रनको गरेका थिए ।

नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । तेस्रो ओभरको चौथो बलमा नर्मन भानुआले ज्ञानेन्द्र मल्ललाई ४ रनमा एलबीडब्लू आउट गरे । नेपालका मध्यक्रमका प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरीलाई राइली हेकुरेले ८ रनमा क्याच गराएपछि २४–३ को अवस्थामा पुगेको थियो ।

Advertisement

एक समय ४२–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ र रोहितको शतकीय साझेदारीले उकासेको थियो । पपुवा न्युगिनीका नर्मन भानुवा, राइली हेकुरे र एली नाओले २–२ विकेट लिए ।

त्यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिए । चाद सोपरले ७४ बल खेल्दै २ चौकासहित ३५ रनमा सोमपाल कामीको बलमा बोल्ड भए ।

एक समय २४.४ ओभरमा ९१–४ को कमजोर अवस्थामा पुगेको पपुवा न्युगिनीलाई पाँचौं विकेटका लागि अमिनी र चाद सोपरले ७५ रनको महत्वपूर्ण साझेदरी गरेका थिए । तल्लोक्रमका नर्मन भानुवा १२ बलमा चौका र १ छक्कासहित २३ रनमा रन आउट भए । पपुवा न्युगिनीलाई ओपनर टोनी उरा र लेगा सिकायाले पहिलो विकेटका लागि ९.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो शुरुवात दिलाए ।

नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । ज्ञानेन्द्र मल्लले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल घरेलु टोली ओमानसँग शुक्रबार खेल्नेछ ।

प्रतिक्रिया