राष्ट्रियसभा उपनिर्वाचनमा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा हुने

विदुर खबर २०७८ पुष १७ गते ८:०९

नुवाकोट । पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्यमध्ये आठ जना नेकपा एमालेकै रहेका छन् । चार वर्ष कार्यकाल पूरा गरेका एक मनोनितसहित २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गते पदावधि सकिनेछ ।

Advertisement

पदावधि सकिनेमा सबैभन्दा बढी सदस्य प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै रहेका छन् । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सोहीअनुसार निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभाको उपनिर्वाचन तय गरेको छ ।

सो उपनिर्वाचनमा सत्ताका सहयात्री दलहरूबीच गठबन्धन बनाएर जाने निर्णय गरेपछि नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ । त्यसले गर्दा उपनिर्वाचनमा भने एमालेले पराजय व्यहोर्नुपर्ने बलियो सम्भावना छ । राष्ट्रिय सभाका उपनिर्वाचनमा प्रदेश सभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २०२५ जना मतदाता रहेका छन् ।

Advertisement

७ सय ५३ स्थानीय तहमध्ये २ महानगर, ७ उपमहानगरसहित १ सय २३ नगरमा प्रमुख र १ महानगर, ७ उपमहानगरसहित १ सय ३७ नगर उपप्रमुख पदमा एमालेका जनप्रतिनिधि विजयी भएका थिए । यसै गरी १ सय ७१ गाउँपालिका प्रमुख र १ सय ९४ गाउँपालिका उपप्रमुख पनि एमालेले जितेको थियो । यस आधारमा एमालेका जनप्रतिनिधिबाट राष्ट्रियसभा निर्वाचनमा ६ सय २५ जनाले मतदान गर्नेछन् ।

आयोगले स्थानीय तहका प्रत्येक जनप्रतिनिधिको मतभार १८ कायम गरेको छ । एमालेका ती मतदाता संख्याको मतभार ११ हजार २ सय ५० हुने देखिन्छ । त्यसै गरी एमालेको सातवटै प्रदेशमा गरेर प्रदेशसभा सदस्य संख्या १ सय ८० छ । राष्ट्रियसभा निर्वाचनमा प्रत्येक प्रदेश सभाका सदस्यको मतभार ४८ निर्धारण गरिएको छ । यसरी हेर्दा एमालेका प्रदेशसभा सदस्यहरूको मतभार ८ हजार ६ सय ४० हुन्छ । स्थानीय तह र प्रदेशसभा समेत गरी एमालेको कुल मतभार १९ हजार ८ सय ९० हुन्छ । गत भदौंमा एमालेबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

Advertisement

त्यसै गरी कांग्रेसबाट नगर र गाउँपालिका प्रमुख–उपप्रमुखको आगामी राष्ट्रियसभा निर्वाचनमा मतभार ९ हजार १ सय ९८ हुन जान्छ । माओवादीका स्थानीय तहका जनप्रतिनिधिको मतभार ३ हजार ९ सय ६ हुन्छ । दुवै पार्टीको मतभार जोड्दा कुल मतभार १३ हजार १ सय ४ हुन्छ । त्यसै गरी ७ प्रदेशमा गरेर कांग्रेससहितको पाँच दलीय गठबन्धनमा ३ सय २३ प्रदेश सभा सदस्य छन् । पाँच दलीय गठबन्धनको प्रदेशसभा सदस्यहरूको मतभार १५ हजार ५ सय ४ छ । गठबन्धनमा रहेका दलका स्थानीय तह र प्रदेश सभाको गरी जम्मा मतभार २८ हजार ६ सय ८ रहेको छ । जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) लगायत अन्य दलहरू एकता प्रक्रिया र टुटफुट रहेकाले तिनलाई प्रतिनिधित्व गर्ने स्थानीय तहका जनप्रतिनिधि र प्रदेशको सभा सदस्यको संख्या यकिन हुन सकेको छैन ।

२०७५ असार ४ गते भएको गोला प्रथामा ती सदस्यहरूले चारवर्षे पदावधि रहेको कुपन पाएका थिए । यस्तै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका पाँच, नेकपा (एकीकृत समाजवादी) का चार र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका तीन सांसदहरूको पदावधि सकिनेछ ।पदावधि सकिन लागेका सांसदमा अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराममेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहनुभएको संसद् सचिवालयले जनाएको छ ।

त्यसै गरी, माओवादी केन्द्रका खिमबहादुर विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहाल र रामनारायण बिडारीको पनि पदावधि समाप्त हुँदै छ । बिडारीलाई तत्कालीन नेकपा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मनोनित गर्नुभएको थियो । पदावधि सकिने लागेका सदस्यहरूमा नेकपा (एकीकृत समाजवादी) का उदया शर्मा पौडेल, ठगेन्द्रप्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर रहनुभएको छ ।

यस्तै, कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको पनि पदावधि सकिन लागेको छ । माओवादीमा रहेका सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाहीमा गरेको थियो । उहाँको स्थानमा २०७८ जेठ १७ गते भएको उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी हुनुभएको थियो । निर्वाचन आयोगका अनुसार पाण्डेय खड्काकै स्थानमा निर्वाचित भएका कारण उहाँको कार्यकाल पनि फागुन २० मा सकिन लागेको हो ।

उपनिर्वाचनका लागि आयोग निर्वाचन कार्यतालिकासमेत प्रकाशित गरिसकेको छ । आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरी माथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया