पुबुदुको आगमन तर, क्रिकेटमा झमेला

विदुर खबर २०७८ मंसिर २९ गते १०:५३

नुवाकोट । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले फेरि एकपटक राम्रो प्रशिक्षक पाएको छ ।

Advertisement

पुबुदु दसानायकेलाई नेपाल क्रिकेट संघ (क्यान) ले केही दिनअघि मात्रै प्रशिक्षकमा नियुक्त गरेको हो । दासनायकेको आगमनसँगै नेपाली क्रिकेटले उचाइ पाउने सम्भावना पनि बलियो बनेको छ । पुबुदु नेपाली क्रिकेट टिममा दोस्रोपटक प्रशिक्षक बनेका हुन् ।

पुबुदुले यसअघि २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट सम्हालेका थिए । उनको जिम्मेवारीमा नेपाली क्रिकेटको उचाइ पनि निकै माथि उठेको थियो । उनले नेपाली क्रिकेटलाई डिभिजन चार र डिभिजन थ्रीको उपाधि पनि दिलाएका थिए । यस्तै, सन् २०१४ मा नेपालले टी–२० विश्वकप पनि खेलेको थियो । यो पुबुदुको छत्रछायाँमा नेपाली क्रिकेटले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि थियो ।

Advertisement

पुबुदु दोस्रोपटक टिम सम्हाल्न आउन लागेको अवस्थामा नेपाली क्रिकेटको वातावरण भने राम्रो देखिएको छैन ।नेपाली क्रिकेटमा संस्थार खेलाडीबीच लडाइँ शुरू भएको छ । अहिले खेलाडीको वर्गीकरणको विषयमा क्यान र खेलाडीबीच झमेला भइरहेको छ । यसले आगामी २०२२ मा अस्टे«लियामा हुने टी–२० विश्वकप खेल्ने योजनामा सीधै असर पर्नेछ ।

नेपालले अहिले टी–२० ग्लोबल छनोट खेल्न बाँकी छ । सो प्रतियोगितामा शीर्ष दुई हुने टिमले टी २० विश्वकप खेल्न पाउनेछन् । ग्लोबल छनोट आगामी फेबु्रअरीमा ओमानमा हुँदैछ । नेपाल समूह ए मा परेको छ । तर, नेपाली टिमको भने तयारी केही भइरहेको छैन । क्यानले प्रतियोगिता गर्न सकेको छैन । क्यानले बन्द प्रशिक्षण, वैदेशिक भ्रमण तथा अन्य मैत्री खेलको योजना पनि गर्न सकेको छ्रैन । यो कुनै पनि योजनाबिना ग्लोबल छनोट खेल्न गयो भने नेपाल लक्ष्यमा पुग्न सक्ने छैन । यो कुरा क्यानले बुझेको छैन या बुझ पचाइरहेको छैन ।

Advertisement

कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले केही दिनअघि मिडियामा बोलेपछि नै क्यान र खेलाडीबीच मनमुटाव भएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सीधै भने कि, यो सबै क्यानलाई बदनाम गर्ने काम हो ।उनी खेलाडीले मिडियामा संस्थाविरुद्ध बोल्न नहुने भन्दै खेलाडीप्रति रुष्ट भएका छन् ।

उता कप्तान मल्लसहित अन्य खेलाडीले ११ बुँदे माँग राख्दै क्यानलाई पत्र बुझाएका छन् । यी खेलाडीसँग क्यानले स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण पनि क्यानलाई चित्त बुझेको थिएन । खेलाडीको मागलाई पनि क्यानले धम्कीको रूपमा लिएको छ । यसले मिल्नुभन्दा पनि विवाद झनै चर्कने देखिएको छ ।

क्यानले २०२० को खेलाडीको ग्रेडलाई आधार मानेर यसपालि ६ महिनाको तलब बाँडेको थियो । तर, क्यानले २०२१ को खेलाडीको गे्रड भने सार्वजनिक गर्न सकेको छैन । यही कुरा खेलाडीलाई चित्त बुझ्दो भएको छैन । उनीहरू विरोधमा लागिरहे क्यानले प्रतिबन्ध लगाउन सक्ने चर्चा पनि चलिरहेको छ ।

कप्तान मल्लका अनुसार खेलाडीको वर्गीकरण कसरी गर्ने हो त्यो बुझाउनुपर्नेछ । त्यसमा बीमादेखि भत्तासम्मको कुरा थिए । कोही खेलाडी कुनै मारमा पर्नु हुँदैन । जायज माग भएपनि क्यान भने कस्तो कारबाही गर्ने भनेर योजना बुनिरहेको स्रोतले जनाएको छ । यदि कारबाही गरियो भने नेपाली क्रिकेटको भविष्य पुबुदुको छत्रछाँया रहेपनि माथि उठ्न सक्ने छैन । केही विश्लेषकले बताए अनुसार क्यानविरुद्ध बोल्ने खेलाडीलाई कारबाही गर्नु आफ्नो खुट्टामा बञ्चरो हानेसरह हुनेछ ।

प्रतिक्रिया