एसियन गेम्स : पाकिस्तानसंग पराजित हुँदै नेपाल बाहिरियो

विदुर खबर २०७५ भदौ ३ गते १२:००

Advertisement

इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालको यू–२३  टोली समूह चरणबाट बाहिरिएको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग २ – १ ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।

प्याट्रिओट चन्दबागा रंगशालामा नेपालले लिएको सुरुवाती अग्रता उल्टाएर पाकिस्तानले जित निकालेको हो । पाकिस्तानलाई जित दिलाउन मोहमद बिलाल र सद्दाम हुसेनले एक एक गोल गरे । नेपालले एक गोल आत्मघाती उपहार पाएको थियो । पाकिस्तानका युनस सहबाजले आत्मघाती गोल गरेका थिए ।

Advertisement

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो  । खेलको १२ औं मिनेटमा सहबाजले आत्मघाती गोल गरेपछि नेपालले अग्रता बनाएको थियो ।

पाकिस्तानविरुद्धको यो गोल नेपालले ३६ बर्षपछि एसियन गेम्समा गरेको पहिलो गोल हो । यसअघि सन् १९८२ को एसियन गेम्समा नेपालले पहिलोपटक गोल गरेको थियो । उक्त संस्करणमा नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।

Advertisement

पाकिस्तानविरुद्ध सुरुवाती अग्रता बनाएपनि नेपालले अग्रता जोगाउन सकेन । खेलको ५४ औं मिनेटमा मोहमदले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काए । त्यसपछि खेलको ७२ औं मिनेटमा सद्दामले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २ – १ को जित दिलाए । नेपालका रोहित चन्दले ह्याण्डबल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।

यो हारसंगै नेपालले समूह चरणको तीनै खेल गुमाएको छ । र, नेपाल अंकबिहिन रहदै घर फर्किएको छ । पाकिस्तानले अन्तिम खेलमा ३ अंक जोडेको छ । पाकिस्तानको उत्कृष्ट तेस्रो टिम बन्दै दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा जापानसंग १ – ० र दोस्रो खेलमा भियतनामसंग २ – ० ले पराजित भएको थियो । यो समूहबाट भियतनाम ३ खेलबाट ९ अंकसहित समूह बिजेता बन्दै दोस्रो चरणमा पुगेको छ । यस्तै जापान समूह उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया