टर्की अमेरिकाको त्रास र चुनौतिसँग तर्सिने छैन : एर्दोगान

विदुर खबर २०७५ भदौ ३ गते १:१६

अङ्कारा– अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन्।

अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको विषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप तिक्ततापूर्ण बनाएको छ।

आफूलाई रणनीतिक सहयात्रीको रूपमा प्रस्तुत गर्ने तर सोही समूहको एक सहयोगी राष्ट्रलाई रणनीतिक रूपमा लक्षित गरी आक्रमण गर्ने अमेरिकी नीतिबाट टर्की पछि नहट्ने राष्ट्रपति एर्दोगानले स्पष्ट पारेका छन्।

अमेरिकी धर्मगुरुलाई बन्दी बनाएको विवाद बढ्दै जाँदा टर्की र अमेरिकाबीच व्यापार युद्धको अवस्था आएको र यसबाट टर्कीको मुद्रामा निकै गिरावट आएको छ। तर अमेरिका र टर्कीको नेतृत्व आफ्नो निर्णयप्रति अडिग रहँदै आएका छन्।

टर्कीको सत्तारूढ दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने,‘हामीलाई रणनैतिक साझेदारका रूपमा प्रस्तुत गर्ने र हामीलाई नै लक्षित गरी हुने कुनै पनि मुलुकका गतिविधिबाट टर्की तर्सिने छैन।’

‘केही व्यक्तिले हामीलाई अर्थतन्त्र सङ्कट, प्रतिबन्ध, विदेशी मुद्रा, व्याजदर र मुद्रास्फीतिलाई देखाएर त्रास देखाएका छन्, चुनौति दिएका छन् तर यसबाट टर्की विचलित हुने छैन। हामीले उनीहरूको छलकपट बुझेका छौं।’, उनले थपे।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट अमेरिका आयात गर्ने आल्मुनियम र स्टिलमा करको दायरा दोब्बर बनाउने घोषणा गरेका थिए। जसबाट अङ्कराले पनि कैयौँ अमेरिकी उत्पादनमा करको दायरा बढाएको थियो। यसको प्रभाव टर्कीको मुद्रामा एकै दिनमा २० प्रतिशतसम्मको प्रत्यक्ष प्रभाव पर्न थालेको बताइएको छ। रासस/एएफपी

Advertisement

प्रतिक्रिया