रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक स्तरोन्नतिको काम सुरु

विदुर खबर २०७८ कार्तिक १७ गते १८:२०

रसुवा । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ । बर्खाका कारण तीन महिनासम्म बन्द भएको सडक सञ्चालनमा ल्याइएसँगै स्तरोन्नतिको काम अघि बढेको हो ।  

Advertisement

बाटो फराकिलो बनाउने, पर्खाल लगाउने काम अघि बढाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभयो । ‘हामीले केही दिन अघिदेखि काम सुरु गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तिहारका कारण केही दिन काम रोकिन्छ ।’ तिहारपछि भने कामले गति पाउने उहाँले बताउनुभयो । 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दुरीको यो सडक खण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो ।  

Advertisement

‘सडक स्तरोन्नतिको काम निर्धारित समय अगाडि नै सकाउने गरी काम अघि बढाइरहेका छौँ’, सडक योजनाका प्रमुख अधिकारीले भन्नुभयो, ‘यसका लागि हामीले ठेकेदारलाई निर्देशन दिने, ताकेता गर्ने र कामको अनुगमन गरिरहेका छौँ ।’

मैलुङदेखि स्याफ्रुबेसीको दुरी १९ किलोमिटर रहेको छ । २०७५ जेठ ६ गते मैलुङ–स्याफ्रुबेसी सडकको ट्र्याक खोल्ने काम सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि यो सडकको निर्माण गरिएको हो । 

Advertisement

यो सडक बेत्रावती–कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटरको दुरी रहेको छ । बेत्रावती मैलुङ–स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ ।  

प्रतिक्रिया