कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत

विदुर खबर २०७८ कार्तिक ५ गते ७:२५

नुवाकोट । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ ।

Advertisement

मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरू हुन सकेको छैन ।तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

१३ मध्ये गोरखामा दुई निर्वाचन क्षेत्र भएकाले १४ वटा निर्वाचन क्षेत्रमा अधिवेशन भएको छ भने बाँकी जिल्लामा पालिकासम्म मात्र अधिवेशन भएको घिमिरे बताउनुहुन्छ । क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर २ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन नै सकिएको छैन । यी १३ जिल्लामध्ये अहिले बारा, रसुवा र रौटहट जिल्लाको विवाद समाधान हुन सकेको छैन ।

Advertisement

बाँकी जिल्लाको विवाद टुंगिए पनि एकैपटक अधिवेशन प्रक्रिया अघि बढाउने भनेर निर्वाचन समितिले तल्लो तहको अधिवेशन शुरू गरेको छैन ।

निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार डोल्पामा भने एक÷दुई दिनभित्रै जिल्ला निर्वाचन अधिकृत पठाएर वडा अधिवेशन शुरू गरिने भएको छ । यसअघिको सहमतिअनुसार २१ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन दशैंअगावै गरिसक्ने भनिए पनि ८ वटा हिमाली जिल्लाको पालिकाभन्दा माथिको अधिवेशन हुन सकेन । हिमाली जिल्लाको सवालमा केही दिनभित्रै अधिवेशन शुरू गरिने निर्वाचन समितिले जनाएको छ ।

Advertisement

‘विवाद समाधान गरी तत्काल क्रियाशील सदस्यको विवरण दिए निर्धारित मितिमा महाधिवेशन हुन्छ, नत्र सम्भावना देखिँदैन’, निर्वाचन समितिका सदस्य घिमिरे भन्नुहुन्छ– ‘हिमाली जिल्लाबाहेक बाँकी जिल्लामा अब एकैपटक अधिवेशन प्रक्रिया अघि बढाउने भनेर पालिका अधिवेशन भइसकेको जिल्लामा पनि माथिल्लो अधिवेशन निर्वाचन समितिले नै रोकेको हो ।’

पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १८ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो भने कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने थियो । नेतृत्व हत्याउने रणनीतिमा लागेका शीर्ष नेताहरुले महाधिवेशन मंसिर १० मै शुरु हुने दाबी गरे पनि सोअनुसार काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया