विदुरका सामुदायिक विद्यालयहरू अब आइतबार पनि खुल्ने

विदुर खबर २०८३ मंसिर ११ गते २१:५८

नुवाकोट । विदुर नगरपालिकाले चालु शैक्षिक सत्रको अन्त्यसम्म आइतबारको दिनमा समेत नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विद्यालयको नियमित पठनपाठनमा परेको प्रभाव र सिकाइ उपलब्धिमा पुगेको क्षतिलाई आपूरण गर्न नगरपालिकाले यस्तो निर्णय गरेको हो।

नगर कार्यपालिकाको कार्यालयद्वारा मिति २०८३ मंसिर १० गते जारी सूचनाअनुसार आइतबारको दिन हुँदै आएको सार्वजनिक बिदाको दिनमा समेत नियमित कक्षा सञ्चालन गर्न प्रधानाध्यापकहरूको बैठकबाट अनुरोध भई आएको थियो।

सोही अनुरोध र मंसिर १० गतेको नगर प्रमुखस्तरीय निर्णयबमोजिम नगरपालिकाभित्रका सबै विद्यालयहरूलाई चालु शैक्षिक सत्रको अन्त्यसम्म आइतबारसमेत नियमित कक्षा सञ्चालनको व्यवस्था मिलाउन शिक्षा अधिकृत नवराज सापकोटाले हस्ताक्षर गरेको पत्रमार्फत आग्रह गरिएको छ।

यसअघि विदुर नगरपालिका भित्रका संस्थागत विद्यालयहरु भने आईतवार नियमित संचालन हुँदै आइरहेका छन् ।

प्रतिक्रिया