राखेपका सदस्य सचिव सिलवाल बर्खास्त

विदुर खबर २०७८ कार्तिक १ गते २०:२९

नुवाकोट । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ ।

Advertisement

मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले राखेप सदस्य सचिव सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो ।

सरकारले सदस्य सचिव सिलवाललाई यसअघि दुई पटक स्पष्टिकरण सोधेको थियो । सिलवालको जवाफ चित्त बुझ्दो नदेखिएको भन्दै सरकारले बर्खास्तको निर्णय गरेको हो । तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए ।

Advertisement

सरकार परिवर्तन भएसंगै देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको पालामा नियुक्त भएका पदाधिकारीलाई बर्खास्त गर्दै आएको छ । ओली नेतृत्वको सरकारले २०७७ साउन २३ गते सिलवाललाई दोस्रो पटक चार वर्षका लागि नियुक्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार उनी दोस्रो पटक नियुक्त भएका थिए ।

खुल्ला प्रतिस्पर्धाबाट निवेदन हालेर अन्तिम तीन जनाको छनोटमा परेर सिलवाल सदस्य सचिव बनेका थिए । उनीसँगै लिलबहादुर थापा र अन्जु श्रेष्ठलाई सदस्य सचिवको रुपमा सिफारिस गरिएको थियो ।

Advertisement

सिलवालको दोस्रो कार्यकाल भने सफल रहन सकेन । खेलकुद ऐन कार्यान्वयनको सन्दर्भमा पुरै असफल रहेका सिलवालले घरेलु खेलकुदमा कुनै ठोस काम गर्न सकेनन् ।

पहिलो कार्यकालमा १३ औं सागको ऐतिहासिक आयोजना र सफलताबाट सिलवालको चर्चा चुलिएको थियो । सोही अनुसार दोस्रो कार्यकाल खेलकुदका लागि उपयोगी हुने धेरैले अनुमान गरेका थिए । तर समुहमा बसेर काम गर्न नसक्ने स्वभावका कारण उनले दोस्रो कार्यकालमा राखेप चलाउनै सकेनन् ।

दोस्रो कार्यकालमा १३ औं साग खेलकुदमा देखिएको आर्थिक अपारदर्शीता र अनियमितता र केही विवादास्पद ठेक्का प्रकृयामा सिलवाल मुछिन पुगे ।

प्रतिक्रिया