१३ जिल्लाको महाधिवेशन प्रतिनिधिमा देउवाको बहुमत

विदुर खबर २०७८ असोज २५ गते ८:१३

नुवाकोट । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा संस्थापनइतर पक्षले नेतृत्वका लागि एकल उम्मेदवार बनाउन नसकेका बेला पुनः सभापति बन्ने दाउमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने सूक्ष्म ढंगले तल्लो तहको अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष बढाउँदै लग्नुभएको छ ।

Advertisement

वडा अधिवेशनअगावै संस्थापनइतर पक्षबाट एक मात्र साझा उम्मेदवार दिने भनिए पनि यो समूहभित्र नेतृत्वको विषयलाई लिएर विवाद अझै यथावत् छ । यो अधिवेशनमा संस्थापनइतर समूहबाट नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको दाबी गरिरहेका छन् ।

सभापति देउवाले विशेष गरी केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि छनोटमा विशेष ध्यान दिन थालेका छन् । जिल्ला निर्वाचन सम्पन्न भएको १३ जिल्लाको १४ निर्वाचन क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधि कुन पक्षका हुन् भन्नेबारे संस्थापन र इतर पक्ष दुवै पक्षले जोड–घटाउको हिसाब राख्न थालेका छन् । १३औं महाधिवेशनमा तेस्रो पंक्तिमा उभिनुभएका कृष्णप्रसाद सिटौलादेखि सभापतिका आकांक्षी विमलेन्द्र निधि, प्रकाशमान सिंहसमेतले महाधिवेशन प्रतिनिधिको जोड–घटाउमा विशेष चासो राख्न थालेका छन् ।

Advertisement

यसअघि संस्थापन पक्षमा रहेका विमलेन्द्र निधिले सभापतिको दाबी गरेपछि देउवा कमजोर हुने आँकलन गरे पनि अधिवेशन सम्पन्न क्षेत्रबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिको संख्या हेर्दा उहाँ झन् बलियो हुँदै गएको देखिन्छ । तथापि निधिको मूल क्षेत्र मानिएको तराई मधेसमा तल्लो तहको अधिवेशन सम्पन्न भएको छैन ।

एकमात्र निर्वाचन क्षेत्र भएको ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, कालिकोट, हुम्ला, मुगु, बाजुरा र बझाङमा तथा दुई निर्वाचन क्षेत्र भएको गोरखाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिको जोड–घटाउबाट पनि देउवा पक्ष बलियो बन्दै गएको देखिएको छ । मनाङमा पूर्वमन्त्रीसमेत रहेका टेकबहादुर गुरुङले देउवा पक्षबाट नेतृत्व गर्दै शंकर गुरुङलाई जिल्ला सभापतिमा सर्वसम्मत गराएर पूरै २५ जना महाधिवेशन प्रतिनिधि देउवा पक्षबाटै छनोट गर्नुभएको पाइएको छ । त्यस्तै, रुकुमपूर्वमा जिल्ला सभापति केशरमान रोकाले सबै २६ जना महाधिवेशन प्रतिनिधि देउवा पक्षलाई नै सहयोग गर्ने गरी छनोट गर्नुभएको पाइएको छ ।

Advertisement

एता, मुस्ताङमा पूर्वमन्त्रीसमेत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्य रोमी गौचन थकाली जिल्लामा सभापति बनेपछि उहाँले संस्थापनइतर पक्षमा २५ जना नै महाधिवेशन प्रतिनिधि ल्याउनुभएको छ ।

सर्वसम्मत रुपले नेतृत्व चयन गरिएको कालिकोटमा सिटौलाको पक्षको समेत राम्रो उपस्थिति पाइएको छ । पौडेल समूहका प्रभावशाली मानिने भूपेन्द्रबहादुर शाहीले आफूले पौडेल पक्ष छाडेर देउवा पक्षमै खुलेर लाग्ने बताउनुभएको जिल्ला अधिवेशनमा सहभागी कार्यकर्ता बताउँछन् । २६ जना प्रतिनिधि चुनिएको यस जिल्लामा संस्थापन पक्षको १७, सिटौला पक्षको ३ र पौडेल–कोइराला पक्षमा मत दिने ६ जना प्रतिनिधि छन् ।

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा ५२ जना महाधिवेशन प्रतिनिधिमध्ये २९ देउवा पक्ष, १६ पौडेल–कोइराला पक्ष रहेको पाइयो । जनजाति नेता हरि घलेले आफ्नो पकडमा रहेका ७ जना प्रतिनिधि एकलौटी रुपमा जिताएको रोचक तथ्य पनि यो जिल्लामा देखिएको छ । तर, घलेको सम्बन्ध पौडेलसँग भन्दा पनि देउवासँग निकट रहेको पौडेल पक्षका नेताहरूले नै बताउने गरेका छन् ।

देउवा पक्ष गजेन्द्र तुम्याहाङ विजयी भएको सुदूरपूर्वी जिल्ला ताप्लेजुङबाट आउने २६ महाधिवेशन प्रतिनिधिमध्ये पौडेल–कोइराला पक्षमा ५ भन्दा बढी नरहेको त्यहाँका स्थानीय नेता बताउँछन् । बाजागाजासहित संखुवासभाको नेतृत्व लिन अग्रपंक्तिमा उभिएका पूर्वराज्यमन्त्रीसमेत रहेका पौडेल–कोइराला पक्षका नेता दीपक खड्काले जिल्लाको सर्वेसर्वा हुनका लागि आफ्नो प्यानलमा देउवा पक्षका अधिकांश महाधिवेशन प्रतिनिधि घुसाएपछि सोचेबमोजिमको नतिजा नआएको संखुवासभा स्रोतले बताएको छ । त्यहाँको कुल २६ प्रतिनिधिमध्ये पौडेल पक्षका १३ जना, सिटौला पक्षको १ र देउवा पक्षको १२ प्रतिनिधि छन् ।

जिल्ला अधिवेशन निकै रोचक देखिएको दोलखामा पूर्वमन्त्री जिपछिरिङ लामाले साथ दिएपछि मात्र जिल्ला सभापति हत्याएका वर्मा लामा जिपछिरिङसँगको साँठगाँठका कारण देउवा पक्षमै लाग्ने आशंका गरिएको छ । त्यहाँका २७ प्रतिनिधिमध्ये कम्तीमा १४ जनाले देउवालाई साथ दिने, ९ जनाले पौडेल पक्ष र ४ जनाले सिटौला पक्षलाई साथ दिने स्रोतको दाबी छ ।

रामेछापमा देउवा पक्षका पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्ला सभापतिमा बाजी मारे पनि टिम नबनाएका कारण देउवा पक्ष अल्पमतमा परेको छ । पौडेल पक्षमा १३, सिटौला पक्ष ७ जना प्रतिनिधि निर्वाचित भएको रामेछापमा देउवा पक्षका ६ जना प्रतिनिधि मात्रै निर्वाचित भएका छन् । मुगुमा देउवा पक्षका सभापतिमा ऐनबहादुर शाहीसहित १६ जना र पौडेल पक्षको १० जना प्रतिनिधि निर्वाचित भएको छ । हुम्लामा देउवा पक्षका जीवनबहादुर शाहीले आफ्नो बलियो उपस्थिति देखाई मोहनविक्रम सिंहलाई सभापति बनाउँदै २६ जनै प्रतिनिधि देउवा पक्षको ल्याएका स्वयं शाहीकै दाबी छ ।

कर्णाली क्षेत्रमा सिटौला पक्षको निकै राम्रो उपस्थिति भएको जिल्लाका रूपमा बाजुरालाई लिने गरिन्छ । पौडेल पक्षका रामसिंह रावल दोस्रो चरणमा सभापति बनेको यस जिल्लामा देउवालाई मत दिने १०, पौडेल पक्षका ८ र सिटौला पक्षका ७ प्रतिनिधि चयन भएका छन् । उता बझाङमा मतदान अधिकृत निर्वाचन नगराई भागेपछि तय गरिएको मितिभन्दा निकै पछि सम्पन्न निर्वाचनमा देउवा पक्षका दुई नेता सभापतिमा भिडेपछि खडकबहादुर बोहोराले सभापति हत्याउनुभएको थियो । अघिल्लोपटक सबै प्रतिनिधिले देउवालाई मत दिएको विश्वास गरिएको बझाङबाट निर्वाचित २६ महाधिवेशन प्रतिनिधिमध्ये बढीमा २० प्रतिनिधिले मात्र देउवालाई मत दिने र बाँकीले पौडेल पक्षलाई मत दिने बताइन्छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शीर्ष नेताहरूको सहमतिअनुसार २१ हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने बताए पनि अन्य जिल्ला अघिवेशन हुन सकेको छैन । अघिवेशन प्रक्रियामा गइसकेको जुम्लामा भने सर्वसम्मतिले नेतृत्व चयन गर्ने भन्दै निर्वाचन रोकिएको छ ।

१४ निर्वाचन क्षेत्रबाट आउने ३ सय ५५ महाधिवेशन प्रतिनिधि
देउवा पक्ष २२१
पौडेल पक्ष ११३
सिटौला पक्ष २१

प्रतिक्रिया