कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत 

विदुर खबर २०८३ जेठ २८ गते १३:२७

नुवाकोट । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकता हुन नसके नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय शक्तिका रूपमा कांग्रेसको पुनरुत्थान कठिन हुने बताएका छन्।

Advertisement

बिहीबार बिहान बाँसबारीस्थित महत निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता महतले निर्वाचनपछि पार्टी संसद्‌मा सीमित सङ्ख्यामा खुम्चिएको र पार्टीको परम्परागत जनाधार समेत खस्किएकाले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताए।

विशेषगरी नियमित १५औँ महाधिवेशनका पक्षधरहरू र विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका नेताहरूबीच देशैभरि एउटा गम्भीर मनोवैज्ञानिक खाडल विद्यमान रहेको औँल्याउँदै उनले यसले पार्टीलाई झन् कमजोर बनाउने अवस्था सिर्जना गरेको उल्लेख गरे।

Advertisement

‘अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। यो बृहत्तर एकता भएन भने कांग्रेसलाई पुनःस्थापित गर्ने हाम्रो अभियान कमजोर हुन्छ,’ डा. महतले भने, ‘यसका लागि विशेष महाधिवेशनबाट प्राविधिक रूपमा आधिकारिकता प्राप्त गर्नुभएका गगनजीहरूबाट गम्भीर पहल हुन जरुरी छ।’

वर्तमान नेतृत्वबाट ठोस र जिम्मेवार कदम चालिनसकेका कारण पार्टीमा नयाँ ऊर्जा थपिन नसकेको र देशैभरिका कार्यकर्ताहरूमा विचलन देखिएको उनको दाबी थियो। नेतृत्व तहबाटै भरोसा र विश्वास जगाउन नसक्दा कतिपय साथीहरूले पार्टी छाड्न थालेको र कतिपय निष्क्रिय बस्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे।

Advertisement

नेता महतले अब कांग्रेससँग अलमलिने समय धेरै नभएको चेतावनी समेत दिए। ‘फाट्टफुट्ट र अनौपचारिक भेटघाटबाट मात्र सबैलाई समेटेर लैजाने यो एकता अभियानले पूर्णता पाउन सक्दैन,’ उनले थपे, ‘यसका लागि तत्कालै एउटा गम्भीर र सघन छलफल हुनुपर्दछ र चाँडोभन्दा चाँडो निष्कर्ष निकालेर पार्टीलाई गति दिनुपर्छ।’

प्रतिक्रिया