रसुवागढी-केरुङ सुरुङमार्ग बन्ने सहमतिमै सीमित

विदुर खबर २०७८ असोज १५ गते २१:२०

नुवाकोट ।चिनियाँ राष्ट्रपति सी चिनफिनको नेपाल भ्रमणमा रसुवागढी–केरुङ नाका जोड्ने सुरूङमार्ग बनाउने विषयमा सहमति भए पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

Advertisement

२०७६ असोज २६ मा चिनियाँ राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमणमा आएका बेला चिनियाँ पक्ष र नेपाल सरकारबीच टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरुङमार्ग बनाउनका लागि सहमति भएको थियो । तर सहमति भएको २ वर्ष बितिसक्दा पनि यसबारे छलफल समेत हुन सकेको छैन ।

नेपाल–चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा यो सुरुङ निर्माण पनि परेको थियो । गल्छी–रसुवागढी सडकको स्तरोन्नतीको नेतृत्व लिइरहेको योजनाले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनका आधारमा नेपाल–चीनबीच सुरुङ निर्माण हुने सम्झौता भएको हो । एक किलोमिटर बराबर दुई अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

छिमेकी चीनसँग नेपालको पूर्वको ताप्लेजुङदेखि सुदूर पश्चिमको दार्चुलासम्मको झण्डै १ हजार १ सय ५० किलोमिटर लम्बाईमा सीमा फैलिएको छ ।

२६ भञ्ज्याङ र १ दर्जन वैकल्पिक नाका रहँदारहँदै पनि चीनसँगको आवतजावत भने सहज छैन । गएको जेठमा मात्रै तातोपानी नाका सञ्चालनमा आएको हो । भूकम्पका कारण बन्द रहेको यो नाका झण्डै ४ वर्षपछि सञ्चालनमा ल्याइएको हो ।

Advertisement

तातोपानी नाकाभन्दा संखुवासभाको किमाथांका र रसुवागढी केरुङ नाका चीनसँग आवतजावतका लागि बढी सहज रहेको सडक विभागका प्रवत्ता शिवप्रसाद नेपाल बताए । त्यसैले पछिल्लो समय चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला पनि चिनियाँ पक्षले रसुवागढी केरुङ नाका सञ्चालनका लागि बढी प्राथमिकता दिएको नेपालको भनाइ छ ।

चीन सरकारले काठमाडौबाट सहजरुपमा रसुवागढ केरुङ नाका पुग्नका लागि सुरुङमार्ग नै बनाइदिने सहमति गरेको हो । जसमध्ये काठमाडौं केरुङ सडकको टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरूङ मार्ग बनाउने सहमति भएको हो । सहमतिसँगै सम्भाव्यता अध्ययनको तयारी गरिएको सडक विभागले पछिल्लो समय बताउँदै आएको थियो । तर, हालसम्म काम भने अघि ी नबढेको नेपालले जानकारी दिए ।

टोखा छहरे ४ किलोमिटर सुरुङ मार्गले काठमाण्डौको टोखा र नुवाकोटको छहरेलाई जोड्ने काम गर्छ । अहिले छहरे पुग्न गल्छी पुगेर नुवाकोट प्रवेश गर्दै घुमाउरो बाटो जानु पर्छ । सुरुङमार्ग बनेपछि भने झण्डै २ गुणाले सडक छोटो बन्ने सडक विभागको अध्ययनले देखाएको हो ।

यस्तै काठमाडौ रसुवागढी केरुङ मार्गको दोस्रो खण्डमा बन्ने सुरुङमार्गले बेत्रावती र स्याफ्रुबेसी जोड्ने छ । दोस्रो खण्डको बेत्रावती स्याफ्रुबेसी सुरूङमार्ग झण्डै १७ देखि २४ किलोमिटरसम्म लामो हुन सक्ने अध्ययनले देखाएको छ । बेत्रावती–रसुवागढी, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

प्रारम्भिक अध्ययन भए पनि सम्भाव्यता अध्ययनलगायतका कामहरु भने २ वर्षसम्म पनि हुन नसकेको नेपालले बताए । दुबै सुरुङ निर्माण भएसँगै काठमाण्डौ चीनबीचको दूरी छोटिने छ ।

‘अहिलेको तातोपानी नाकाभन्दा सहजरुपमा नै आवतजावत गर्न सकिने र छोटो पनि हुने भएकाले यो सडक चीनको प्राथमिकतामा परेको चिनियाँ पक्षले बताउँदै आएको छ,’ नेपालले भने, ‘तर, सुरुङ मार्गको काम भने न चिनियाँ पक्षबाट नै अघि बढेको छ, न नेपाल पक्षबाट नै अघि बढ्न सकेको छ ।’

चीनले पनि केरुङ नाका जोड्न आफ्नोतर्फ फराकिलो सडक बनाइरहेको छ ।

नेपाल सरकार र चिनियाँ पक्षबीच भएको सहमतिअनुसार सम्भाव्यता अध्ययन गरेर निर्माणको काम छिट्टै हुनुपर्ने थियो । यसका लागि विभागले आवश्यक पर्ने छलफल अघि हालसम्म पनि बढाएको छैन् ।

सडक राम्रो नहुँदा यो नाका हुँदै हुने आयात निर्यात पनि निकै कम रहेको छ । तर यो सुरुङ मार्ग बन्न सकेमा पहिरोका कारण अवरुद्ध भइरहने समस्या समाधान हुने र आयात निर्यात पनि बढ्ने छ ।

सुरुङमार्ग निर्माण सकिएपछि बाह्रै महिना यो सडक सञ्चालनमा आउने भएकाले जतिसक्दो छिटो यो सुरुङमार्ग निर्माण गर्ने गरि काम अघि बढाइने विभागले बताउँदै आएको थियो ।

प्रतिक्रिया