नेपालद्धारा ओमान ७ विकेटले पराजित

विदुर खबर २०७८ असोज ३ गते २२:३५

नुवाकोट । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

Advertisement

अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो। यससँगै नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको छ ।

ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

Advertisement

लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए ।

मल्लले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको कीर्तिमानी साझेदारी गरे । नेपालको एकदिवसीय अन्तराष्ट्रियमा कुनै पनि विकेटका लागि भएको यो उच्च साझेदारी हो ।

Advertisement

ओपनर आसिफले ४० रन बनाए ।  शरद भेषवाकर १ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६/६ रनमा आउट भए । ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।   ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।

सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए । ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । यस जितपछि नेपालले ओमानविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । नेपालले आठ वर्षपछि ओमानलाई हराएको हो ।

नेपालले पछिल्लो पटक सन् २०१३ को विश्व क्रिकेट लिग डिभिजन-३ मा ओमानलाई हराएको थियो । ओमानलाई हराएपछि नेपाल लिग-२ को चौंथो स्थानमा समेत उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ ।

ओमान १३  खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  

प्रतिक्रिया