आईसीसी वर्ल्डकप लिग–२ : नेपाल ६ विकेटले पराजित

विदुर खबर २०७८ असोज २ गते ६:४०

नुवाकोट । आईसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। 

Advertisement

नेपालले दिएको  १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमै ४ विकेट गुमाएर पुरा गरेको हो। अमेरिका ओपनर टेलर ६३ बलमा ९२ रन बनाएर आउट भए। उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। उनी करण केसीको बलमा ‘टप एज’ लाग्दै सोमपाल कामीबाट समातिएका थिए।

टेलरले व्यक्तिगत ४२ रनमा जीवनदान पाएका थिए। स्पिनर सुशान भारीको आठौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्नेक्रममा लङअङमा कुशल भुर्तेलले क्याच ‘ड्रप’ गरेका थिए।

Advertisement

यता, मोनाक पटेल ३८ रनमा अविजित रहे। उनले ७० बलमा १ चौका प्रहार गरेका थिए। यस्तै, जसकरण मल्होत्रा ३६ रनमा अविजित रहे।सुशान्त मोदानी २ रनमा आउट हुँदा करिमा गोरे र सञ्जय कृष्णामुर्थीले खाता नखोली पेभेलियन फर्का।

नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए। सन्दीपले पाँचौं ओभरमा नेपाललाई दुई विकेट दिलाएका थिए। पाँचौं ओभरको पहिलो बलमा ओपनर सुशान्तलाई गुगली बलमा सन्दीपले दुई रनमा एलबिडब्लू आउट गरे। चार बलपछि सन्दीपले गोरलाई शून्यमा बोल्ड आउट गरे। 

Advertisement

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो। 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौकासहित सर्वाधिक ५५ रनको योगदान दिए। 

मल्लको ओडीआई करिअरमा यो दोस्रो अर्धशतक हो। मल्ल नेपालबाट ओडीआईमा तेस्रो अर्धशतक प्रहार गर्ने रोहितकुमार पौडेलपछि दोस्रो खेलाडी हुन्। 

मल्ल नेपालबाट ओडीआईमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका छन्। उनले १५ खेलबाट ३ सय ६६ रन बनाएका छन्। 

यता, पूर्वकप्तान पारस खड्काले १० खेलबाट ३ सय १५ रन बनाएका छन्। आजको खेलमा कुशल भुर्तेलले ३६, गुल्सन झाले २८, करन केसीले १२, सन्दीप लामिछानेले ११ र विनोद भण्डारीले १० रन बनाए। 

अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पनि जोड्न सकेनन्। अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए। 

काइल फिलिपले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ३ विकेट लिए। करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए।

नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो। ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया