ओमानसँग नेपालको फराकिलो हार

विदुर खबर २०७८ भदौ ३० गते ९:०६

नुवाकोट । बलिङमा बिर्सनलायक र ब्याटिङमा औसत प्रदर्शन गरेपछि नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमानसँग हार बेहोरेको छ ।

Advertisement

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले विस्फोटक ब्याटिङ गर्दै ३१ ओभर १ बलमा ५ विकेटको क्षतिमा २ सय रन जोडेपछि नेपालले ५ विकेटको हार बेहोरेको हो । नेपालको बलिङ बिर्सनलायक हुँदा ओमानले १० ओभर ३ बलमा १ विकेटको क्षतिमा ११५ रन जोड्दै जिततर्फ अग्रसर बनेको थियो । त्यसपछि नेपाली बलरले संयमित बलिङ गर्दै ओमानलाई रोक्ने प्रयास गरेको थियो । ओमानको जितमा ओपनर जतिन्दर सिंहले विस्फोटक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र ६ छक्काको सहयोगमा १०७ रनको शतकीय इनिङ्स खेलेका थिए ।

पाँचौं ओभरमा सोमपाल कामीलाई जतिन्दर सिंहले ३ चौका र ३ छक्कासहित एकै ओभरमा ३० रन प्रहार गरेका थिए । चौथो ओभरको चौथो बलमा तीव्र गतिका बलर करण केसीले सोहिब खानलाई विनोद भण्डारीबाट ७ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे । उनले विक्रम सोबलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए ।

Advertisement

ओमानसामु नेपाली बलर निरिह साबित बने । ११औं ओभरको चौथो बलमा अयान खान १८ रनमा क्याच आउट भए । जिशान मकसुद ४ रनमा आउट भए । नेपाली मुलका विकेटकिपर सुरज कुमारले २० रन जोडे । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित ३८ रन खर्चिदा विकेट लिन सकेनन् । विक्रम सोबले २.१ ओभरमा २९ रन खर्चे । कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए ।

करणले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । सुशान भारीको नाममा एक विकेट रह्यो । त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७ ओभर ४ बलमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफ शेखले १ सय १२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ९० रनको योगदान दिदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

Advertisement

३६औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर बिलाल खानले योर्कर बलमा बोल्ड गरेपछि आसिफ करियरको पहिलो शतक बनाउनबाट १० रनले चुके । त्यसअघि आसिफले ६४ बलमा आफ्नो ओडीआई करियरको पहिलो अर्धशतक पूरा गरेका थिए । नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई शून्यमा गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले ५८ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे पनि त्यसपछिका ब्याट्सम्यानले राम्रो साझेदारी र प्रदर्शन गर्न सकेनन् ।

अघिल्लो खेलमा अर्धशतक पूरा गरेका रोहितकुमार पौडेल ओमानविरुद्ध २० रन जोडे । विकेटकिपर विनोद भण्डारी ६ रनमा क्याच आउट भए । सोमपाल कामी ७ रनमा तथा कुशल मल्ल ४ रनमा बोल्ड भएपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो । विक्रम सोब दुई रनमा बोल्ड भए । सन्दीप लामिछाने १० बलमा १ चौका र १ छक्कासहित १६ रनमा रन आउट भए । करण केसीले २१ रन बनाए ।

अन्तिम विकेटका लागि करण र सुशान भारीले २३ रनको साझेदारी गरेका थिए । ओमानका बिलाल खानले १० ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले समान १–१ विकेट लिए । त्यसअघि सोमबार भएको खेलमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा अमेरिकामाथि ५ विकेटको सहज जित हात पारेको थियो । २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

पाँचांै विकेटका लागि रोहित र विनोदले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए । रोहितकुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्कासहित ६२ रनमा अविजित रहे । विकेटकिपर विनोद भण्डारी ४८ बलमा २ चौका र १ छक्कासहित ३७ रनमा क्याच आउट भए । ओडीआईमा पाँचौं विकेटका लागि नेपालको यो उच्च साझेदारी हो । ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए ।

नेपालबाट एकै खेलमा व्यक्तिगत यो तेस्रो ठूलो रन हो । यसअघि २०१९ मा पारस खड्काले यूएईविरुद्ध १ सय १५ र रोहितकुमार पौडेलले पीएनजीसँग ८६ रन छ । पहिलो विकेटका लागि ओपनर आसिफ शेख र कुशलले १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । आसिफ शेख २३ रनमा क्याच आउट भए । २१औं ओभरको पहिलो बलमा स्पिनर निसर्ग पटेलले कप्तान ज्ञानेन्द्र मल्ललाई १७ रनमा एलबीडब्लू आउट गरे ।

निसर्ग पटेल र नास्टुस केजोंगीले समान २ विकेट तथा अमेरिकाका कप्तान सौरभ नेत्रवालकरले १ विकेट लिए । त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका मोनांक पटेलले सर्वाधिक १ सय रनको शतकीय इनिङ्स खेले । सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

आसिफ ओडीआईमा सर्वाधिक रन जोड्ने ओपनर
विश्वकप लिग–२ मा ओमानविरुद्धको खेलमा शतक बनाउन चुके पनि आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने ओपनिङ ब्याट्सम्यानको बनेका छन् ।

ओमानको मस्कटस्थित अल अमरेतमा भएको खेलमा ६४ बलमा आफ्नो ओडीआई करियरको पहिलो अर्धशतक पूरा गरेका आसिफले १ सय १२ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ९० रन जोडेका थिए ।

त्यसैगरी, एक दिवसीय खेलमा नेपालको दोस्रो उच्च रन हो । यसअघि सन् २०१९ पारस खड्काले संयुक्त अरब इमिरेट्सविरुद्ध १ सय १५ रन बनाएका थिए ।

खड्का एक दिवसीय खेलमा शतक बनाउने एक मात्रै नेपाली खेलाडी हुन् । २० वर्षीय दायाँहाते ब्याट्सम्यान आसिफ घरेलु टी–ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । गतवर्ष टी– ट्वान्टीको डेब्यु खेलमै कुशल भुर्तेलसँग मिलेर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया