श्रीलंकाका तीव्र गतिका बलर मालिंगाले टी–२० बाट पनि सन्न्यास लिए

विदुर खबर २०७८ भदौ ३० गते ८:३२

नुवाकोट । श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

Advertisement

योसँगै उनको क्रिकेट करियर आधिकारिकरूपमा समाप्त भयो । उनले आफ्नो नयाँ युट्युब च्यानलमा यसको घोषणा गरेका हुन् । मालिंगाले श्रीलंकाका लागि क्रिकेटको तीनै फरम्याटमा कुल ५ सय ४६ विकेट हात पारेका छन् ।

मालिंगाले सन् २०११ मा टेस्ट र सन् २०१९ मा वानडे क्रिकेटबाट सन्न्यास लिएका थिए । यसपछि उनी श्रीलंकाका लागि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका थिए । उनले टी–२० क्रिकेट अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता गरी कुल ३ सय ९० विकेट लिएका छन् ।

Advertisement

मालिंगा टी–२० क्रिकेटको फरम्याटमा चौथो सफल बलरसमेत हुन् । उनी विश्वका सबैभन्दा ठूलो टी–२० लिग आईपीएलमा सबैभन्दा बढी विकेट लिने बलर पनि हुन् । उनले आईपीएलमा १ सय ७० विकेट लिएका छन् । आईपीएलमा मालिंगा मुम्बई इन्डियन्सबाट खेलेका हुन् ।
मालिंगाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८४ खेल खेलेर २०.७९ औसतमा १ सय ७ विकेट लिएका छन् ।

उनको यो कीर्तिमान धेरै समयसम्म दिगो रहन सक्ने स्थितिमा छैन । बंगलादेशका अलराउन्डर शकिल अल हसनले ८८ खेलमा १ सय ६ विकेट लिइसकेका छन् । मालिंगाले टेस्ट क्रिकेटमा ३० खेलमा १ सय १ विकेट र वानडे क्रिकेटमा २ सय २६ खेलमा ३ सय ३८ विकेट लिएका छन् ।

Advertisement

मालिंगा विश्वका एकल बलर हुन् जसले वानडे र टी–२० अन्तर्राष्ट्रिय खेलमा लगातार ४ बलमा ४ विकेट लिए । यो उपलब्धि कसैले अहिलेसम्म हासिल गर्न सकेका छैनन् । उनले सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । यसपछि सन् २०१७ मा न्युजिल्यान्डविरुद्ध टी–२० क्रिकेटमा उनले ४ बलमा ४ विकेट लिएका थिए ।

मालिंगाले आफ्नो भिडियोमा बताए—‘जसले मलाई समर्थन गरे उनीहरूप्रति मेरो धन्यवाद छ । म मुम्बई इन्डियन्स, मेलबर्न स्टार्ससहित सबै फ्रेन्चाइजी टिमलाई समर्थन गर्ने मेरा साथी खेलाडी, समर्थक र पदाधिकारी साथै मलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया